अज्ञात समूहले घरमै गएर गाडी र बाइकमा आगजनी गरे पछि…

२०७३ कात्तिक २८ आइतवार
NewsDesk ShikharNews

दोलखा- अज्ञात समूहले घरमा राखेको दुईवटा बाइक र एउटा कारमा आगजनी गरेका छन्। दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा१०च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने जिविसको सरकारी मोटरसाइकल बा१०प २४० र स्थानीय गुणराज पोखरेलको बा४७प ४९७८ को मोटरसाइकल जलेर नष्ट भएको प्रहरी जनाएको छ।

श्रेष्ठको किया कार उनका दाजु पृथ्वी श्रेष्ठको घरमा पार्किङ गरेर राखिएको थियो। ती समूहले करिब राति २ बजेतिर आगो लगाएर फरार भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घरमा पार्किङ गरिरहेको कार्कीको बाइक बाहिर तानेर आगो लगाएको र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिएपछि ठूलो घटना हुनबाट जोगिएको छ।

आगो नियन्त्रणमा नआएको भए घरमा समेत आगलागी हुनसक्ने जिल्ला प्रहरीक कार्यालयका इन्स्पेक्टर विनोद सुनुवारले जानकारी दिए। संलग्न रहेकाहरुको खोजीकार्य भइरहेको उनले बताए। आगलागीमा बन्दकर्ता विप्लव माओवादीको संलग्नता हुन सक्ने स्थानीयवासीको भनाइ छ।

घटनाको उद्योग वाणिज्य संघ दोलखाले निन्दा गरेको छ। संघको आकश्मिक बैठक बसेर घटनाको निन्दा गरेको छ।

त्यस्तै राससका अनुसार सिन्धुलीमा आज बिहान विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले एउटा बलेरो जिपमा आगजनी गरेका छन्। बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस-२ चियाबारीमा सिरहा जाँदै गरेको बलेरोमा आगजनी गरेका हुन्। काठमाडौँबाट सिरहा जाँदै गरेको स१च ११४४ नंको बलेरोमा बन्दकर्ताले आगजनी गर्दा बलेरो पुर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार पाँच सातजना बन्दकर्ताले गाडी रोकी बन्दको अवज्ञा गरेको भन्दै आगो लगाइदिएका थिए।

जिप्रका सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले बलेरोमा आगजनी गर्नेलाई पक्राउ गरी कारबाही गर्ने बताए। आगजनी भएको बलेरोमा कुनै पनि यात्रु नरहेको बलेरो चालक रामचन्द्र महतोले बताउनुभयो । बन्दकर्ताले आफूलाई गाडीबाट निकालेर आगो लगाएको उनको भनाइ छ।

यता सिन्धुलीमा आज विगतमा हुने गरेको विप्लव माओवादीको बन्द प्रभावकारी नहुने गरेको भन्दै विद्यालय सञ्चालन गर्ने भनिए तापनि चियाबारीमा एक बलेरोमा आगजनी भएपछि एकाएक बन्द गरिएको छ । यस्तै सिन्धुलीमाढीमा खुलेका पसल पनि गाडीमा आगजनी भएको खबर थाहा पाएपछि बन्द गरिएको छ।

 

 

श्रोत: नागरिकन्युज