८ बर्षपछि बोलेका निखिल र रेखाकाे बक्स अफिस टक्कर

२०७३ माघ ६ बिहीवार
NewsDesk ShikharNews

नायक निखिल उप्रेती र नायिका रेखा थापालाई स्टारडमको खुबै घमण्ड भयो । जसले गर्दा, यी दुइले एक अर्कासँग काम नै नगर्ने भन्दै बोलचाल बन्द गरे । करिब एक दशक अगाडिको कुरा थियो यो ।

रेखा चलचित्र क्षेत्रमा जम्दै गइन् भने निखिल पनि आफ्नै स्टारडमका कारण चलिरहेका थिए । तर, नायिका संचिता लुइटेलसँग प्रेम गरेपछि निखिल मुम्बई हानिए ।
निखिललाई मुम्बइबाट नेपाल र्फकन ५ बर्ष लाग्यो । उनी र्फकदा माहोल परिवर्तन भैसकेको थियो ।

रेखा र निखिलको सम्बन्ध पानी बाराबारको अवस्थामा थियो । निखिल चलचित्र ‘भैरव’ निर्देशन गर्ने दौडमा थिए । सोहि, समयमा निखिल ८ बर्ष लामो दुश्मनी मेटाउँदै रेखाको अपार्टमेन्टमा पुगे ।

उनले, रेखालाई आफ्नो चलचित्रमा अभिनयका लागि प्रस्ताव गरेको समाचार सार्वजनिक भएका थिए । तर, निखिल र रेखाले एकसाथ काम गर्ने अवस्था अझै बनेको छैन ।

एकसाथ चलचित्रमा काम नगरेपनि रेखा र निखिल बक्स अफिसमा भिड्न भने तयार भए । चैत्र ११ गते निखिलको मुख्य भूमिका रहेको चलचित्र ‘निर्भय’, रेखाको मुख्य भूमिका रहेको चलचित्र ‘डायरी’सँग भिड्न तयार भयो । रेखा र निखिलको बक्स अफिस भिडन्तलाई लिएर मिडियामा गसिप सुरु भएको थियो ।

तर, चलचित्र ‘डायरी’का निर्देशक अनिल योञ्जन बिरामी भएका कारण अब यो चलचित्र तोकिएको मितिमा रिलिज नहुने पक्का जस्तै छ । रेखा र निखिलको भिडन्त टर्‍यो ।

सिंगल थिएटरमा राम्रो दर्शक कमाएका निखिल र रेखाको भिडन्त अब आउँदो बर्षको दशैमा हुने भएको छ । रेखाले केहि दिन अगाडि आफ्नै ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘रुद्रप्रिया’को घोषणा गरिन् । यो चलचित्र आउँदो बर्षको दशैमा रिलिज हुनेछ । सबैलाई थाहा छ, रेखाका लागि दशै फाप्दै आएको छ ।

अब, यो चलचित्रसँग निर्देशक हिमाल केसीले निर्देशन गर्न लागेको चलचित्र ‘पीजडा ब्याक एगेन’ जुध्ने भएको छ । यो चलचित्रमा निखिल मुख्य भूमिकामा छन् । चलचित्र ‘पीजडा’मा ७ तलाबाट हाम फालेपछि निखिल चर्चामा आएका थिए । सोहि, चलचित्रको नाम सापटी लिदै हिमाल केसी निखिललाई पर्दामा उतार्दैछन् ।

एक्सन निर्देशकको चलचित्रमा एक्सन स्टार भएपछि यसमा एक्सन भरपुर हुने कुरामा दुइमत छैन । रेखा भने, सुदर्शन थापा र अर्पण थापालाई लिएर चलचित्र ‘रुद्रप्रिया’को निर्माणमा व्यस्त छिन् ।

एक पटक टरेको रेखा र निखिलको भिडन्त फेरि हुने संभावना छ ? निखिल र रेखाको भिडन्त भयो भने यसले स्टारडमको मापन भने गर्नेछ ।