मधेसि मोर्चाले यस्तै हर्कत देखाए मधेस फोर्स निर्माण गर्छौ : पुर्बमन्त्री बस्नेत.

२०७३ चैत ७ सोमवार
Shikhar News
 
 

मधेसी मोर्चालाई तह लगाउन मधेसमा ‘मधेसी फोर्स’ निर्माण गर्छौः महेश बस्नेत

 चैत । नकेपा (एमाले)मा प्रवेशको लहर अहिले पनि जारी छ । आइतबार ओखलढुंगा–काठमाडौँ सम्पर्क मञ्चले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा पनि माओवादी केन्द्रको जिल्ला तहमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका ५० बढी एमालेमा प्रवेश गरे ।

सो कार्यक्रमलाई सम्वोधन गर्दै युवा संघका पूर्व अध्यक्ष एवं पूर्वमन्त्री महेश बस्नेतले मधेस फोर्स निर्माण गर्ने चेतावनी दिए । ‘हिजो युथ फ़ोर्स बनाएर उग्रवामपन्थीलाई ठेगान लगायौँ,’ बस्नेतले भने, ‘अहिले दक्षिणपन्थीहरु धेरै चलमलाएका छन् उनीहरुलाई ठेगान लगाउन त्यस्तै अर्को फोर्स गठन गर्नुपर्ने भएको छ ।’

उनले मधेसी मोर्चाले तराईमा एमालेलाई प्रवेश नै गर्न नदिने भनेर धम्की लगाएको भन्दै उनीहरुको त्यो धम्कीलाई फिका बनाएर मेची–महाकाली राष्ट्रिय अभियान धुमधामसँग पूरा गरेको जानकारी दिए । उनले प्रदेश नम्बर दुईमा पनि एमालेले वृहत कार्यक्रम लिएर छिट्टै जाने बताए । ‘मधेसी मोर्चाका नाममा अहिले तराई–मधेसमा वितण्डा मच्याउने प्रयास भैरहेको छ,’ उनले भने, ‘उनीहरुलाई ठेगानमा ल्याउन मधेसमा एमालेले ‘मधेसी फ़ोर्स’ बनाउँछ ।’

उनले दक्षिणपन्थीलाई तह नलगाएसम्म मुलुकको स्थायीत्व सम्भव नभएको भन्दै पहिला एमाले र माओवादी मान्छे र बनमान्छे जस्ता भएको स्मरण गर्दै भने– ‘माओवादी पहिला बनमान्छे जस्तै थियो अहिले अलिक सुध्रिएको छ अब मधेसी मोर्चालाई पनि सुधार गर्नुपर्ने आवश्यकता भएको छ ।’