ओशो यस शताब्दिका बुद्ध

२०७४ वैशाख ३ आइतवार
NewsDesk ShikharNews

स्वामी सुबाश चन्द्र 

२१औं शताब्दीका दार्शनिक रजनीश ओशो एक छुट्टै विशेषता बोकेका बुद्ध पुरुष हुन्। ओशोको आगमनसँगै आध्यात्मिक समय उन्को जन्म अघि र पछि गरी दूइ भागमा विभाजित भएको छ,जसरी ईशा वा गौतम बुद्ध पूर्व र पछि भन्ने गरिन्छ ।

भारतको मध्य प्रदेशमा पर्ने कुचवाडा गाउँमा ११ डिसेम्बर १९३१ मा जन्मिएका उनको वास्तविक नाम भने रजनीश चन्द्रमोहन थियो । १९८९ देखि ओशो कम्युन ईन्टरनेशनलको बुद्ध सभाहलमा भेला भएका १० हजार सन्यासीहरुको भेलाले रजनीशलाई ओशोको नामले पुकार्न थालेका थिए । ओशोको अर्थ हुन्छ ‘महासागर’ । साँच्ची नै ज्ञानको महासागर मानिने ओशोले विभिन्न विषयमा दिएका प्रवचनहरु लिपिबद्ध गरी ६ सय भन्दा बढी पुस्तक उनको नाममा प्रकाशित भइसकेका छन् । सर्वाधिक रूचाइएका उन्को प्रवचनरुपि पुस्तकहरु विश्वका ३१ भन्दा बढी भाषामा समेत छापिएका छन् ।

सानैदेखि स्वतन्त्र, निर्भिक, निडर स्वभावका ओशो वर्षाको भेल उर्लिरहेको खोलामा सय फिटभन्दा माथिबाट हामफालेर पौडी खेल्नु सामान्य मान्थे । युवा अवस्थामा आइपुग्दा उनको अलौकिक बुद्धिले गर्दा गाउँ, शहरका पण्डित, पुरोहित, मुल्ला, पादरी, सन्त, महात्मासँग वादविवाद गर्दा उनीहरुको अन्न्धविश्वासको भण्डाफोर गर्दथे ।

२१ मार्च १९५३ मा २१ वर्ष पुग्दा उनले सम्बोधी ज्ञान हासिल गरेका थिए, जुन बेला उनी जवलपुरको एक क्याम्पसमा दर्शन शास्त्रका विद्यार्थी थिए । सम्बोधी प्राप्त भएर पनि पढाइलाई भने चालु राखेका थिए । सन् १९५७ तिर सागर विश्वविद्यालयमा दर्शन शास्त्र विषयमा प्रथम श्रेणीमा प्रथम भएर गोल्डमेडल प्राप्त गरेका उनी सहपाठिहरुमाझ यती प्यारो थिए कि,बोलाँउदा उन्लाई ‘आचार्य रजनीश’ भनिन्थ्यो । ९ वर्षसम्मको प्राध्यापनताका नै उनले भारतका विभिन्न शहर घुमेर प्रवचन दिन थालिसकेका थिए । नयाँ विचारको साथ धारा प्रवाह रुपमा बोल्न सक्ने ओशोको सभामा ५० हजारभन्दा बढीको भीड जम्मा हुन्थ्यो । उनले त्यतिबेला भारतभर आध्यात्मिक जागरणको लहर फैलाइरहेका थिए । उनको व्यक्तित्व र वाणीमा त्यस्तो जादु थियो जो कसैलाई त्यसको सुगन्धले लठ्ठ पार्थ्यो मानौँ त्यो अलौकिक संसारबाट आएको हो ।

आफूले हासिल गरेको ज्ञान अरुलाई पनि बाँडनुपर्छ भन्ने उद्देश्यका साथ सन् १९६५ मा विश्व विद्यालयको काम छोडेर उनी नयाँ मान्छेलाई जन्म दिने प्रक्रियामा लाग्न थाले । उनीद्वारा दिक्षितलाई ‘जोरवा द बुद्ध’ भनिन्छ जस्ले भौतिक जीवनमा मात्र आनन्द मानेर बाँचिरहेको भन्ने बुझाँउछ। यस्ता दिक्षितमा गौतम बुद्धजस्तो ध्यानी र आध्यात्मिक संसार बुझ्ने ज्ञानी होस् भन्ने अपेक्षा गरिन्छ।

ध्यानले नै मान्छेको जीवनमा सार्थक बाटो पाउँछ भन्ने ओशोले भारतको मनाली भन्ने स्थानमा एउटा भव्य शिविरको आयोजना गरी शिष्यहरुलाई दीक्षा दिएर ‘नवसन्यास’ बनाउन आरम्भ गरेका थिए । पूर्वी र पश्चिमी दर्शनको सङ्गम आध्यामिक र भौतिक विज्ञानको त्रिवेणीमा हिँड्न सक्ने मान्छे बनाउन चाहन्थे ओशो । भौतिक सुख सुविधा र छाडावादी संस्कृतिबाट वाक्क दिक्क भएर विरक्तिएका पश्चिमाहरु सही जीवनको रहस्य थाहा पाउन बिस्तारै ओशोको नजिक झुम्मिन थालेका थिए । त्यसयता लाखौँ शिष्यहरु नयाँ सन्यास बन्ने क्रममा छन् । नव सन्यासको लागि ओशोले कुनै विशेष नियम बनाएका छैनन् । कसैलाई नियममा बाँधी बन्धक नबाउने विचारका उन्ले दिनमा कम्तीमा एक घन्टा ध्यान र सत्संग गर्नुपर्ने मात्र शर्त राखेका थिए । जसले ध्यान, सत्संग गर्छ उसलाई लवाई, खुवाई, बोलचालको बारेमा नियम बनाइरहनै पर्दैन ऊ आफूले आफैलाइ नियममा बाँध्न थाल्दछ त्यो नै सफल जीवन, समाज र संसारको लागि ठूलो उपलब्धी हो भन्ने ओशोको मान्यता छ ।

हजारौं दिक्षितहरुको साथ पाएका उन्ले राम्रो प्रभाव परेको पुनामा सन् १९७४ मा आएर श्री रजनीशम् आश्रमको स्थापना गरे । उक्त आश्रममा हुने प्रत्येक प्रवचनमा उन्ले मानव चेतना र विकासको बारेमा हरेक रहस्यहरुको पर्दा खोलिदिएका थिए । बुद्ध, महावीर, कृष्ण, शिव, काडिल्य, नारद, जिससलगायत भारत वर्षका आध्यात्मिक गुरुहरु शंकराचार्य, गोरख, कवीर, नानक, मलुकदाश, रैदान, दरियादास, मीराको बारेमा उनले हजारौँ प्रवचन दिएका छन् । जीवनको हरेक पाटोको बारेमा ओशोले बोल्न भ्याएका छन् । योग, तन्त्र, ताओ, झेन, हसीद, सुफीजस्ता विभिन्न परम्परागत साधनाहरुको रहस्यबारे उनले सविस्तारमा वैज्ञानिक ढङ्गले प्रकाश पारेका छन् । यसको साथै राजनीति, कला, साहित्य, विज्ञान, मनोविज्ञान, दर्शन, शिक्षा, परिवार, समाज, गरिबी, जनसङ्ख्या विस्फोट, पर्यावरण तथा सम्भावित परमाणु युद्धदेखि लिएर एड्स जस्तो विश्वभर छाएको महामारीको बारेमा पनि  आफ्नो क्रान्तिकारी जीवनदृष्टि पुस्तकमा राखेका छन् । ओशो भन्ने गर्थे, ‘मेरो सन्देश कुनै दर्शन सिद्धान्त चिन्तन होइन । मेरो सन्देश त मात्र क्रान्तिकारी रुपान्तरणको लागि हो । एक विज्ञानसंगत विषय हो ।’ उनका यिनै क्रान्तिकारी विचारका कारण १९८० को एक साँझ भारतको एक कट्टरपन्थी हिन्दु समुदायको एक सदस्यबाट हत्याको प्रयास पनि भएको थियो । ओशोले लेखेका ‘सम्भोग से समाधी तक’ भन्ने पुस्तक सर्वाधिक चर्चित र विवादास्पद पुस्तकको रुपमा लिइन्छ । यही पुस्तकका कारण उनलाई विभिन्न कट्टरपन्थी धर्मसम्प्रदायका कथित धर्मगुरुहरुले सेक्स फ्रि गुरुको रुपमा चित्रण गरी बदनाम गर्ने कोशिश पनि नगरेका होइनन् तर, उनले त्यस पुस्तकमा सेक्सको बारेमा स्पष्ट भाषामा लामो व्याख्या गरेका छन् कि जीवनको प्रारम्भबिन्दु जीवन सृष्टिको सुन्दर क्रियाकलापलाई हाम्रा कथित धर्मगुरुहरुले अनावश्यक रुपमा लुकाउने, रहस्यमयी बनाउने हुँदा सेक्सले विकृत रुप लिन थालेको हो । यसलाई सहज प्राकृतिक रुपमा लिनुपर्छ भन्ने हुन्छ । अझ जीवनमा कामवासनालाई मात्र साथी बनाउने मान्छेहरुलाई ओशो सेक्सले भन्दा ‘ध्यान र प्रेम’ले धेरै गुणा बढी आनन्द दिने ठोकुवा गर्छन् ।

पुनाको बसाइको क्रममा एक दिन अचानक ओशो बिरामी भएपछि सन् १९८१ मा मौनधारण गर्न थाले । चिकित्सकहरुको सल्लाहअनुसार ओशोलाई अमेरिका पुर्याइयो तर बिरामबाट छुटेपनि हजारौं अमेरिकी शिष्यहरुले उनलाई त्यहाँबाट फर्कन दिएनन् । बरु त्यहाँ ओरेगन भन्ने बञ्जर स्थानमा ६४ हजार हेक्टर जमिन किनेर ओरेगन गाउँको निर्माण गरिएको थियो जहाँ ५ हजार ओशो सन्यासीहरु माक्र्स र लेनिनले सोचेको जस्तो कम्युन बनाएर सद्गुरु ओशोको सानिध्यमा आनन्द र उत्सवमय वातावरणमा बसेका थिए । त्यो गाउँ नै पछि ‘रजनीशपुरम’ को नाममा दर्ता भई सानो शहरको रुप लिन थालिएको थियो । यसरी कम्युनको एउटा सफल प्रयोग गर्दै पूर्वी आध्यात्मिकवाद र पश्चिमको भौतिकवादलाई सँगै हिँडाउन सफल ओशोको ओरेगन सिटीमा त्यहाँका ईसाइ कट्टरवादीहरुको गिद्दे दृष्टि पर्न थालेको थियो । फलस्वरुप तिनै ईसाई धर्मगुरुहरुको दबाबमा आएर अमेरिकाको सङ्घीय राज्य र स्थानीय सरकारले रजनीशपुरम्लाई हटाउने प्रयास पनि गरेका थिए । तर, १९८५ मा अमेरिका सरकारले नै ओशोमाथि आप्रवासी नियम मिचेको भन्ने जस्ता ३५ वटा मनगढन्ते आरोप लगाएर बिनावारेन्ट गिरफ्तारगरी हिरासतमा राखेको थियो । हातमा हथकडी लगाएर एक जेलबाट अर्को जेलमा सार्दै शारीरिक र मानसिक यातना दिएका थिए । यतिले मात्र नपुगी अमेरिकी अधिकारीहरुले ओशोलाई जेलभित्रै थेलियम नामक मन्द विष दिएका थिए । जसको प्रभावस्वरुप ओशोको स्वरमा बिस्तारै बिग्रँदै गएर ओशोले १९९० जनवरी १९ मा ध्यानमा बसेर शरीर छोडी महाप्रयाण प्राप्त गरेका थिए ।

१९८५ मा उनी अमेरिका छाडेर भारत फर्किएका थिए । तर तत्कालीन भारत सरकारले पनि उनलाई साथ नदिएपछि ओशो नेपाल पनि आएका थिए । पछी फेरि अमेरिकी सरकारको दबाबमा तत्कालीन पञ्चायती सरकारले उनलाई नेपाल छाड्न आग्रह गर्‍यो । उनलाई विश्वका २१ वटा राष्ट्रमा प्रतिबन्ध लगाई मानवताको चरम खिल्ली उडाइएको थियो । विश्व भ्रमणमा निस्किएका ओशोलाई जताततै प्रतिबन्ध लगाउन थालेपछि उनी पुनाको आश्रममा बसेर देशीविदेशी कथित धर्मका ठेकदार, पण्डित पादरीहरुको कालाकर्तुतको प्रवचनबाटै पर्दाफास गर्न थालेका थिए । यसरी एउटा महान् क्रान्तिकारी रहस्यदर्शी बुद्ध पुरुष ओशोलाई जडसूत्रवादी अन्धविश्वासी, पाखण्डी धर्मगुरुहरुले अनेक हतकडा अपनाएर बदनाम गर्न खोजेका थिए । यी कुराहरु बुझेर विश्वका सञ्चार माध्यमले र बुद्धिजीवीले भने ओशोलाई भरपुर साथ दिएका थिए ।

अहिले ओशोको भौतिक शरीर नरहे पनि उनको क्रान्तिकारी विचारले भरिएका छ सय पुस्तक र नव सन्यासीहरुले ओशोको युग सुहाउँदो विचार र ध्यान विधिलाई दिन दूइ गुणा रात चौगुणाको हिसाबले प्रचार प्रसारमा ल्याएका छन् । ओशोको एउटै प्रयास थियो कि संसारमा दुःख छ, दुःखको कारण छ, त्यसको निवारण छ । त्यसको निवारण हो होशपूर्वक जिउन सिक्नु । त्यसको लागि ध्यान सशक्त माध्यम हो । जसले ध्यानको माध्यमबाट शरीर शुद्धि, भाव शुद्धि, विचार शुद्धि गर्न सक्छ अनि जो व्यक्ति प्राकृतिक तरिकाले प्रकृतिसँग नजिक भएर बाँच्न सक्छ ऊ सधैँ खुसी र खुसी बन्न सक्छ । यसरी संसारलाई सुखमय जीवन जिउने सूत्र दिने ओशोको समाधि माथि ओशो सन्यासीहरुले स्वर्ण अक्षरमा यसरी लेखेका छन् । ‘ओशो कहिल्यै जन्मेका थिएनन् र कहिल्यै मर्दैनन् पनि । बरु सन् १९३१ डिसेम्बर ११ देखि १९९० जनवरी १९ सम्म यो संसारमा भ्रमण मात्र गरेका थिए ।