स्कुटी वाली !

कथा

२०७४ साउन १४ शनिवार
Sujan Panta
  • दीपक घिमिरे 

    कलेजको गेटमा आएर एउटा स्कुटी टक्क अडियो । रातो कलरको स्कुटीमा आएकी स्कुटीवाली पनि रातै ड्रेसमा थिई । अनियन्त्रित पार्किङ भएको स्कुटीलाई स्कुटी पार्किङमा राख्न गेटपाले दाइले सिकाएपछि स्कुटीवाली हल्का लजाई । उता सहरका बोकाहरू गललल हाँसे ।

स्कुटीको डिक्कीबाट कलेजी कलरको ब्याग निकालेर स्कुटीवालीले काँधमा भिरी अनि आँखामा लगाएको हजारौँ मूल्य बराबरको चस्मा निकालेर निधारमा अड्याई । अनागबेली आकारमा जिरो फिगरवाला शरीर लच्काउँदै हामी बसेको सामु आएर सोधी “एक्स्क्युज मी ! एकाउन्टेन्टको अफिस कता पर्छ ?”

चोर औँलाले हाम्रो लेखा शाखा देखाउँदै मैले भने “उ त्यहाँबाट लेफ्ट साइडतिर मोडिनुस् । ढोकैमा पुग्छ ।”

उसले मीठो मुस्कान छाड्दै भनी– “थ्याङक्स् !”

पफर््युमले नुहाए जस्तो बासना छाड्दै ऊ कलेजको गेटबाट भित्र लागी । हामी हेरेका हेर्यै भयौँ ।

स्कुटीवाली निक्कै सुन्दर थिई । सबैको मनै लोभ्याउने जस्ती सुन्दरी । ऊ को हो ? किन कलेजसम्म आएकी होली ? सबैको मनमा यस्तै सयौँ कुरा खेल्दै थिए ।

उसलाई सबैले राम्री माने, साच्चै ऊ निक्कै राम्री थिई । ऊ को हो भन्ने कौतुहलता मेट्न धेरै बोकाहरू उसको पछि लागेर गए, लेखा शाखातिरै ।

ऊ आधा घण्टापछि फर्केर आई । हामी अहिलेसम्म यही गेटमै थियौँ ।

ऊ अघि आएकै स्टाइलमा स्कुटी चढी ! पैला ब्याग डिकीमा राखी । टाउकाको चस्मा आँखासम्म ल्याई अनि स्कुटी स्टार्ट गरेर बेपत्ता भई ।

ऊ गएको बाटोतर्फ मोडिएर सबैले हेरे । बच्चादेखि वृद्धसम्म सबैले । अनि सुस्केरा हाल्दै भनेँ “ओ माई गड ! क्या सेक्सी केटी ।”

सहरमा स्कुटीवाली धेरै छन् तर ऊ बेग्लै थिई । हाम्रो कलेजमा दर्जनभन्दा धेरै केटीहरू स्कुटी लिएरै कलेज आउँछन् तर सबै केटीभन्दा ऊ बेग्लै थिई । ऊ को हो या किन आएकी हो, आज कसैले थाहा पाएन ।

कलेज नियमित थियो । देशभरबाट पढ्न आएका हजारौँ विद्यार्थी थिए, यो कलेजमा । कसैलाई कसैको मतलब हुन्थेन तर त्यो स्कुटीवालीको मलाई खुब मतलब भयो ।

खै किन ऊ मेरो आँखामा बसेकी थिई, आफैले बुझ्न सकेको थिएन । कलेज जाँदा आउँदा सयाँै स्कुटीवाली रोडमा भेटिन्थे, घरबेटीकै कान्छी छोरीको पनि गजपको स्कुटी थियो । ऊ पनि स्कुटीवाली नै हो । कलेजमा सँगै पढ्ने नमिता, कृष्टि, सञ्जिता सबैको स्कुटी थियो तर मेरो दिमागमा यही स्कुटीवाली घुमिरही ।

अर्को दिन पहिलो कक्षा लिएर उसैगरी गेटमा उभिएको थिएँ, ऊ फेरि आई । उसैगरी स्कुटी पार्क गरी । यो पटक उसलाई गेटपाले दाइले सिकाउनु परेन ।

“आराम छौ ?” उसले गेटमै उभिएका पालेदाइलाई सन्चो बिसन्चो सोधी ।

पालेदाइ ट्वाँ परेर भने “सन्चै छु !”

ऊ हामी भएतिर हेरेर मुस्कुराई । म पनि बत्तीस दन्त देखाएरै मुस्कुराएँ । अरू मेरा साथीहरू सबै त्यसैगरी मुस्कुराउँदै थिए ।

ऊ सरासर लेखा शाखातिर गई । कलेजका बोकाहरू उसको स्कुटीमा झुम्मिए । कसैले स्कुटीको ऐनामा हेरेर कपाल मिलाए, कसैले जुँगा मिलाए । अनि कसैले त स्कुटीमै बसेर चलाएको नाटकसम्म गर्न भ्याए ।

ऊ आज अलि धेरै बेरसम्म लेखा शाखामा बसी । ऊ एकाउन्टेन्टसँग बसेकै समयमा कलेजका प्रिन्सिपल पनि लेखा शाखामा गए । अरू दुई चार जना लेक्चरहरू पनि गए । मैले सोचेँ, भित्र मिटिङ हँुदैछ सायद ।

करिब एक घण्टा पछाडि ऊ निस्की । मैले कक्षा कोठाको झ्यालबाटै उसलाई लाइन मारेँ । ऊ अलि हतारमा जस्तै गरेर गेट बाहिर निस्किई । बाहिरको अवस्था मलाई थाहा भएन ।

ऊ गएको केही क्षण पछाडि हाम्रो क्लास सकियो । हामी सबै अफिसतिर लाग्यौँ । लेक्चरलगायत प्रिन्सिपल र एकाउन्टेन्ट सबै बसेर छलफल हुँदै थियो तर के विषयमा हो– हामीलाई थाहा भएन । सरहरूलाई सोध्दासमेत भन्नुभएन । बरु कलेजको सानो समस्या भनेर हासेरै टार्दिनुभयो ।

यो दिन पनि ऊ को हो या किन आएकी हो थाहा भएन ।  हामी सबै उत्सुक थियौँ, बुझ्नका लागि । तर न एकाउन्टेन्टले भन्थे न अरू कुनै सरहरूले ।

धेरैलाई ऊ को हो जान्ने उत्सुकता थिएन तर मलाई जान्न मन थियो आखिर को हो ऊ ?

कुनै हिरोनीभन्दा कम राम्री छैने । मिलेको शरीर छ, कुनै ठूलो व्यावसायिक घरानाकी छोरी जस्तै फेसनेबल छे ऊ । तर कलेजको आन्तरिक मामला भन्दै गोप्य राखिँदै छ उसको परिचय ।

अरूले चासो नदिए पनि मलाई स्कुटीवालीको बारेमा बुझ्नु थियो । उसलाई चिन्नु थियो, किनभने उसले पहिलो पटक एक्स्क्युज मी भन्दै मन चोरेकी थिई मेरो ।

ऊ हाम्रै कलेजको लेक्चर भैदिए हुन्थ्यो या कलेजकै नयाँ विद्यार्थी भइदिए हुन्थ्यो भन्ने मेरो मनको आग्रह थियो । यति भए म उसलाई दैनिक देख्न पाउँथे । राम्रा फूललाई हेरेरै चित्त बुझाउने मेरो आफ्नै नियम छ । ऊ मेरा लागि फूल थिई, बगैँचामा फूलेकी अलग स्टाइलकी सुन्दर फूल ।

घर गयो, सम्झनामा स्कुटीवाली । कलेज आयो,  कतिबेला आउली स्कुटीवाली ।

यी र यस्तै कुराले सताउने भैसके म । करिब एक सातासम्म ऊ दैनिक आउजाउ गरी । पहिले पहिले छिट्टै फर्कन्थी तर पछि पछि समय बढाउँदै लगी ।

एकाउन्टेन्टसँग मात्र हुने छलफल आजभोलि कलेजका सबै स्टाफसँग गर्न थाली सायद । ऊ आएको पत्तो पाउना साथ कक्षा कोठाबाट निस्केर सबै लेक्चरहरू लेखा शाखातिर लाग्थे ।

ऊ आएपछि कलेजको पढाइ बिग्रन्थ्यो । अरूहरूले विरोध गर्थे तर मैले गजप मान्थेँ, किनभने म स्कुटीवालीलाई मजाले हेर्न पाउँथे । ऊ फर्कंदा उसलाई गेटसम्म छाड्न पाउँथे । ऊ सधैँ फर्कंदा मलाई मुस्कानसहित बाई भन्थी, म लठ्ठिन्थे कुनै एउटा पागलप्रेमी जस्तै ।

एक दिन ऊ अलि छिट्टै आई । म गेटमै हुँदा आई । हातमा ठूलो ब्याग लिएर आई यो पटक ऊ ।

सधैँजसो मलाई हाई गरेर लेखा शाखामा ऊ गई । ऊ गएपछि सबै सरहरू उतै गए । अरूलाई खासै चासो नभए पनि मलाई उसको माया लाग्ने भइसकेको थियो । त्यसैले म उसको विशेष निगरानी गर्थें ।

कक्षा सुरु भएको थिएन । सबै सरहरू उतै मिटिङमै थिए । हामी स्कुलकै ग्राउन्डमा बसेर गफमा मस्त थियौँ । अरूको ध्यान गफमा भए पनि मेरो ध्यान स्कुटीवालीतर्फ थियो । ऊ कतिबेला निस्कन्छे अनि मनभरि हेर्न पाइन्छ भन्ने रहर थियो ।

एक्कासि सबै सरहरू हतारका साथ बाहिरिए । स्कुटीवाली सबैभन्दा पहिले भाग्दै गेट क्रस गरी । बिस्तारै सबै सरहरू दौडिँदै गेट क्रस गरे अनि सबैलाई छिट्टै बाहिरिन आग्रह गरे । ठूलो गेट खोलियो, सबै विद्यार्थी हुलका साथ बाहिरिए ।

विद्यार्थी आउने काम सकिनासाथ ठूलो आवाजमा ब्लास्ट भयो, बमले अफिसको छत उडाइदियो । हेर्दाहेर्दै सबै जलेर खरानी भयो ।

हामी निक्कै डरायौँ, फर्केर स्कुटीवाली तर्फ हेरेको ऊ बेपत्ता भइसकेकी थिई ।

तुरुन्तै प्रहरी आयो, अनुसन्धानका लागि प्रिन्सिपल र एकाउन्टेन्टलाई सोधपुछ गर्न थाल्यो ।

डरले काप्दै गरेका एकाउन्टेन भन्दै थिए “पचास लाख चन्दा माग्दै थिए, बीस लाख दिने सहमती हुँदा पनि लिन मानेनन्, अन्त्यमा टाइम बम फिट गरेर ज्यान बचाउने भए, भाग भनेर बेपत्ता भए ।”

ओ माई गड ! मैले मनमा सजाएकी त्यो स्कुटीवाली नेकपा माओवादी काठमाडौँ जिल्ला सेक्रेटरी रैछे । ऊ पार्टीको लागि चन्दा माग्न आउँदी रैछे । आज बल्ल पत्ता लाग्यो ।

जनयुद्ध कालको त्यो कलेज जीवनमा मनपराएकी त्यो स्कुटीवाली आज जिउँदै छे या सहिदको नाममा सूचीकृत छे । थाहा भएन तर उसको त्यो रूप अनि लोभ लाग्दो शरीर अझै उस्तै ताजा छ, मानसपटलमा । सम्झनाबाट हराउन सकेकी छैन त्यो स्कुटीवाली ।