भरतपुर मेयर चुनावःमहिलाको ऐतिहासिक नेतृत्व

२०७४ साउन २२ आइतवार
Sujan Panta
  • विनोदबाबु रिजाल

भरतपुर । वैशाख तेस्रोसाता मेयरका रुपमा रेणु दाहालको नाम सार्वजनिक गर्दा माओवादीकै नेताहरुमा एउटा बहस चल्यो, ‘चितवनमा कयौं योगदान गरेका नेता छोडेर रेणुलाई किन ल्याउने ?’ यो बहस माओवादीबाहिर पनि पर्याप्त चल्यो । कतिपयले उनलाई उम्मेद्वार बनाउनेमा विश्वास गरेनन् । पछि माओवादी ‘सेटिङ’ ले यति धेरै काम ग¥यो कि उनलाई भरतपुर महानगरपालिकाको पहिलो मेयर बनाइदियो ।

उनका लागि यो बाटो भने उति सहज भएन । कांग्रेसको गढ मानिने भरतपुरमा कांग्रेसकै दह्रो ‘ब्याकअप’ बाबजुत पनि उनले मनग्गे मत पाइनन् । यतिसम्म कि २९ वडा रहेको महानगरमा पहिलो २८ वटा वडाको मतगणनामा कुनैपनि बेला अग्रता लिन सकिनन् । अन्ततः भरतपुर–२० को मत नै उनका लागि निर्णायक बन्यो र उनले देशको राजनीतिमा सधैं ‘तहल्का’ पिट्ने भरतपुरको मेयर बन्ने सौभाग्य प्राप्त गरिन् ।

२०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिएकी रेणु नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की माइली छोरी हुन् । यसैले उनलाई सुरुआतमा गाह्रो पनि पा¥यो । सधैं सबैले प्रचण्डपुत्री भनिदिएपछि उनको व्यक्तिगत योगदान, राजनीतिक प्राप्ति सबै छायामा परे । बाध्य भएर प्रचण्डले नै भरतपुरमा मत माग्ने बृहत सभामा सम्बोधन गर्दै भने, “उनी(रेणु) केवल प्रचण्डपुत्री होइनन् । उनको बेग्लै त्याग र बलिदान छ । उनको बेग्लै पहिचान पनि छ । उनी यो पदका लागि योग्य छिन् ।”

२०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालमा माओवादी जनयुद्ध सुरु भएसँगै भूमिगत भएकी थिइन् । प्रवासमा अखिल भारत नेपाली महिला संगठन, केन्द्रीय समिति अध्यक्ष, जनयुद्धकालमा रोल्पा जिल्लामा पार्टीको सहइन्चार्जको भूमिका निर्वाह गरेकी दाहाल अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का महासचिव छिन् । दाहाल काठमाडौँका जिल्ला सहसचिव हँुदै हाल पार्टीको पोलिटब्यूरो सदस्य छिन् । प्रचण्डले यसैमा जोड दिदै भनेका थिए, “उनलाई प्रचण्डपुत्री भनिदिदा मलाई नमिठो लाग्छ, चित्त दुख्छ ।”

त्यसो त उनी आफै पनि यसप्रति सधैं असहमत छिन् । भन्छिन्, “म आफ्नो योग्यता र क्षमताले राजनीतिमा छु, बाबुसँग मलाई जोडिरहन आवश्यक छैन ।” तर, बाबुकै कारण भरतपुरजस्तो प्रतिष्ठित महानगरपालिकाको मेयर बनेको ठान्नेहरु धेरै छन् ।

रेणुको औपचारिक शिक्षा धेरै छैन । चितवनमै प्रवेशिकासम्मको अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् बनेकी थिइन् । दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ मा उम्मेद्वार बनेकी दाहाल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए । दाहालको २०५३ साल माघ २७ गते चितवनकै व्यवसायी अर्जुन पाठकसँग विवाह भएको थियो । हाल उनका एक छोरा र एक छोरी छन् ।

रेणुको सबैभन्दा बलियो विशेषता भनेको ‘सादा जीवन’ हो । प्रचण्डकी छोरी भएपनि उनमा त्यसको रवाफ देखिदैन । उनको लवाइखवाइ र हिडाइ केहीमा पनि भड्काउ देखिदैन ।

बाबु प्रचण्ड जनयुद्धमा होमिएपछि बाबुलाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लागेकी दाहाल आफूले राजनीतिक प्रेरणा बाबुबाट नै पाएको बताउँछिन् । भरतपुरको मतगणना चलिरहँदा जेठ १४ गते राति कभर्डहलमा मतपत्र च्यातियो । च्यातिनासाथ प्रहरीले च्यात्ने काममा संलग्न भएको आरोप लगाएर २ जना गणना प्रतिनिधिलाई पक्राउ ग¥यो र मुद्दा चलायो । उनीहरु धरौटीमा रिहा भए । यद्यपि अहिलेसम्म उनीहरुको मुद्दाले अन्तिम टुंगो पाएको छैन । मतपत्र च्यातिएको काण्डले भरतपुर–१९ मा पुनःमतदान गरायो । उनीमाथि गम्भीर आरोप छ कि ‘जितका लागि मतपत्र नै च्यातियो र अनेक गरेर पुनःमतदान गराइयो, अनि जित हात पारियो ।’ उनका लागि सबैभन्दा ठूलो चुनौती नै यो आरोपको खण्डन गर्नु हो । त्यसका लागि उनले औपचारिक मेयर बनेको पहिलो दिनदेखि नै जनकल्याणकारी काम गर्नुपर्नेछ ।

तीव्र प्रतीक्षापछि उपमेयर
जेठ १४ अघि नै पार्वती शाह उपमेयर बन्ने पक्का भएको थियो । तर, मतपत्र च्यातिएको काण्डले उनलाई अहिलेसम्म कुरायो । वि.सं २०२४ भदौ ४ गते साविकको गुञ्जनगर गाविस–४ (भरतपुर महानगरपालिका–१८) मा जन्मिएकी उपप्रमुख शाहले प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छन् । बुबा कृष्णबहादुर शाह र आमा देवीमाया शाहको पहिलो सन्तानको रुपमा जन्मिएकी शाहले कक्षा दशसम्मको अध्ययन गाउँमै गरेकी थिइन् ।

प्रवीणता प्रमाणपत्र तह अध्ययनका क्रममा वीरेन्द्र बहुमुखी क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी शाह साविक भरतपुर नगरपालिका–१२ को तरुण दल अध्यक्ष, नगर सदस्य, जिल्ला सदस्य हँुदै काठमाडौँमा गठित नारायणी–बागमती अञ्चलको सम्पर्क समितिको निर्वाचित अध्यक्षसमेत भएर काम गरिसकेकी छन् ।

हाल उनी नेपाल महिला संघ, चितवनको अध्यक्ष छिन् । शाहले नेपाल तरुण दलको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवजस्तो जिम्मेवारीसमेत वहन गरिसकेकी छन् । विसं २०६२÷०६३ मा भएको जनआन्दोलनका समयमा चार महिना हिरासत जीवन बिताएकी शाह नेपाली कांग्रेसको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनिसकेका छिन् ।