माओवादीमा बहस : एकता कि विघटन

२०७४ साउन २३ सोमवार
Sujan Panta
माओवादीमा बहस : एकता कि विघटन

काठमाडौं । ‘माओवादी एउटा आन्दोलन थियो, पार्टी मात्रै थिएन । हामीले बनाउने भनेको माओवादी हिजोको जस्तो थिएन । पार्टीमा अहिले गुटबन्दी मौलाएको छ । जनतामा जाने गरी सामाजिकीकरण हुन सकेको छैन । नेतामुखी भइयो, नीतिमुखी त हुनै सकिएन । हामी सच्चिनै नसक्ने अवस्थामा पुगिसकेका हौं भने पार्टी विघटन गरिदिऊँ, यतातिर पनि सोच्न सकिन्छ ।’माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका जिल्ला इन्चार्जसहितका नेताहरूलाई पेरिसडाँडामा बोलाएर यही साउन ७ गते यसरी भनेका थिए ।

अाजको अन्नपूर्ण पोस्टमा खबर छ– त्यही बैठकमा अध्यक्ष प्रचण्डले माओवादी विचारधाराका पार्टीहरूलाई एकताका लागि आह्वानसमेत गरे । दाहालका यी दुई कदमले माओवादीवृत्तमा ‘धुव्रीकरण’ कि ‘विघटन’ भन्ने बहस चलेको छ ।

शान्ति प्रक्रियामा आएपछिको छोटो अवधिमै माओवादीले उचाइ मात्र नापेन, साथमा अनपेक्षित धक्कासमेत व्यहोरेको छ । २०६४ साल साउनमा बालाजुमा सम्पन्न पाँचौं विस्तारित बैठकपछि देखिएको अन्तरविरोधको व्यवस्थापन गर्न नसक्नु नै ‘यो हालत’ को कारक मान्न सकिने विश्लेषक बताउँछन् । त्यहीबाट कोरिएको थियो विभाजनको रेखा । प्रचण्डले त्यस बेला शान्ति प्रक्रिया अघि बढाउने, एकल कम्युनिस्ट पार्टीले सञ्चालन गर्ने गणतन्त्र सम्भव नभए पनि ‘प्रगतिशील गणतन्त्र’को कार्यनीति अगाडि बढाउने, माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्नेसहितका प्रस्ताव गरेका थिए । त्यसलाई ‘हार्डलाइनर’ नेताले सहजै स्वीकार गरेनन् ।

मोहन वैद्यको हार्डलाइनर र डा.बाबुराम भट्टराईको प्रगतिशील गणतन्त्रको धारको चेपुवामा उनी फस्दै गए । कहिले वैद्य त कहिले भट्टराईको धारमा पुग्ने दाहालको प्रवृत्तिले माओवादीलाई विभाजनसम्मै पुर्‍याएको हो । ०६९ साउनदेखि वैद्यले अलग बाटो समातेका थिए । त्यसपछि नै प्रचण्डको राजनीतिक यात्रा ओरालो लागेको थियो । अहिले उनी चर्को दबाबमा देखिएका छन् । शान्ति प्रक्रियाको १० वर्षमा सधैं राजनीतिको केन्द्रबिन्दु बनिरहेका प्रचण्ड ‘केन्द्रबिन्दु’मै रहिरहन चाहन्छन् । तर, पार्टीभित्रको संगठनात्मक अवस्था र निर्वाचन परिणामका कारण चिन्तित छन् । त्यसकै संकेतका रूपमा उनले केन्द्रीय सचिवालयको विस्तारित बैठकमा विघटन र एकताको दुवै कार्ड एकैपटक फ्याँकेको चर्चा चलेको छ ।

विश्लेषक सोमत घिमिरे सडकमा पार्टी बलियो नहुनु, संसदीय मोर्चामा पनि कमजोर देखिनुले प्रचण्ड दबाबमा परेको टिप्पणी गर्छन् । यही कारण उनले माओवादी विचारधाराका शक्तिसँगको एकता आह्वान र पार्टी विघटनको धम्की ‘पुनर्गठन’को सम्भावना खोज्न दिएका हुन् । स्थानीय तह निर्वाचन परिणामले माओवादीलाई अपेक्षित सफलतासमेत दिएन । अन्य विभाजित शक्तिको अवस्था पनि निराशाजनक देखिएको छ । यसले माओवादी वृत्तभित्रका पार्टी÷समूहलाई नयाँ ढंगले सोच्ने अवस्थामा पुर्‍याइदिएको छ ।

होला त एकता ?
माओवादीमा मूलधारका नेता भएकाले प्रचण्डले विभाजित शक्तिलाई एकताको आह्वान गर्नुलाई स्वाभाविक मान्न सकिन्छ । तर, प्रस्ट वैचारिक-राजनीतिक भिन्नता, ‘इगो पोलिटिक्स’ र ‘क्रान्तिको रोमान्टिजम’मा ‘विकेन्द्रित’ प्रचण्ड, वैद्य, नेत्रविक्रम चन्द र भट्टराईबीच एकता भइहाल्ने सम्भावना न्यून छ । विश्लेषक झलक सुवेदी वैद्य, भट्टराई र चन्दमा लागेको कार्यकर्ताको एक समूह माओवादी केन्द्रतिर आकर्षित भए पनि नेताकै तहमा भने एकता हुने सम्भावना देख्दैनन् । ‘वैद्य, भट्टराई र चन्दको पार्टीमा लागेका कार्यकर्ता त्यहाँ संरक्षण नहुँदा, सामाजिक प्रतिष्ठा नपाउँदा माओवादी केन्द्रमा फर्किन सक्छन्’, विश्लेषक सुवेदी भन्छन्, ‘तर, अहिलेकै राजनीतिक परिदृश्यबाट हेर्दा तीनै नेता भने प्रचण्ड कहाँ फर्किने सम्भावना देखिन्न ।’

प्रचण्ड, वैद्य, चन्द र भट्टराईलाई मिल्न नदिन वैचारिक भिन्नता र ‘इगो पोलिटिक्स’ मुख्य अवरोधका रूपमा रहने विश्लेषक नरेन्द्रजंग पिटरको बुझाइ छ । यद्यपि, उनी प्रचण्ड-चन्द भने एकै ठाउँ आउन सक्ने सम्भावनालाई नकार्दैनन् । ‘दुई-चार वर्षपछि प्रचण्ड र विप्लवका बीचमा एकता हुन सक्छ । तर, वैद्य र भट्टराई प्रचण्डसँग एकतामा आउँछन् जस्तो लाग्दैन’, उनी भन्छन्, ‘भट्टराई-वैद्य प्रचण्डसँगको इगोको टसल र स्वत्वको लडाइँका कारण एकतामा आउँदैनन् ।’ प्रचण्ड र चन्द दुवैजना महत्वाकांक्षी भएकाले कुनै घटनाविशेषपछि एकै ठाउँमा पुग्ने सम्भावना रहेको उनको ठम्याइ छ ।

उनको भनाइमा भट्टराईसँग अहिले सबैभन्दा बढी ‘इगो पोलिटिक्स’ हावी छ । प्रचण्ड कमजोर भएको हेर्न चाहन्छन् भट्टराई । ‘प्रचण्डलाई कमजोर बनाउनका लागि बरु अन्य जुन कुनै संगठन तथा समूहसँग भट्टराई मिल्न तयार देखिन्छन्’, उनी भन्छन्, ‘तर, प्रचण्डसँग मिल्नै चाहँदैनन् ।’

वैद्य भने वैचारिक राजनीतिक दर्शन नमिल्दासम्म एकता चाहँदैनन् । प्रचण्ड उनको परम्परावादी सोचभन्दा अगाडि बढिसकेका छन् । प्रचण्ड अबको निर्वाचनलाई रूसमा लेनिनले ‘दुम’ प्रयोगको अर्थमा लिन नहुने विश्लेषणसम्ममा पुगेका छन् । यो भनेको प्रस्ट संसद्वादी धारमा माओवादी केन्द्रको अवतरण हो । खासगरी माओवादी स्कुलिङका चारै पार्टी अहिले कमजोर बनेका छन् । पार्टीमा आएको विभाजनपछि राष्ट्रिय राजनीतिमा यी शक्ति कमजोर बनेका हुन् । प्रचण्ड केही हदसम्म सत्ता-राजनीतिको केन्द्रमा देखिए पनि पूर्वप्रधानमन्त्री भइसकेका नेता भट्टराई, वैद्य र चन्द कमजोर भूमिकामा छन् । उनीहरू कसैले पनि सांगठनिक संरचनाको आधारसमेत निर्माण गर्न सकिरहेका छैनन् । वैचारिक रुपमा पनि अलमलमा देखिएका छन्।

नेतृत्वको एकीकरण सम्भव नदेखिए पनि कार्यकर्ता तहमा भने धु्रवीकरण र एकता प्रक्रिया बढ्न सक्ने विश्लेषक घिमिरेको तर्क छ । ‘नेता नमिले पनि कार्यकर्ता सरुवा हुन सक्छन्, त्यो सम्भावना देखिन्छ’, उनी भन्छन् ।

मिल्न सक्ने एउटै पक्ष
माओवादी विचारधाराका पार्टीहरूबीचको एकता एउटै मुद्दाका कारण मात्र सम्भव देखिने विश्लेषक बताउँछन् । ‘विपक्षी’ले सशस्त्र द्वन्द्वकालीन मुद्दा उठाउँदा नेता-कार्यकर्ता थुनिन सक्ने अवस्थामा एकता हुन सक्छ । यो एजेन्डामा उनीहरूबीच ‘कार्यगत एकता’ हुँदै पनि आएको छ । यो मुद्दा उठ्दै जाने अवस्थामा हेगमा पुगिन सक्ने भय नेताहरूमा देखिएको छ ।

विकल्प विघटन नै हो त ?
माओवादी केन्द्र अहिले ‘महासंघ’ जस्तो देखिएको छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको समूह पार्टी एकता भएदेखि नै सक्रिय छ । प्रचण्डभित्रै पनि कृष्णबहादुर महरा, वर्षमान पुन, जर्नादन शर्मालगायत नेताका आ–आफ्नै समूह छन् । रामबहादुर थापा गत वर्ष पार्टीमा फर्के पनि समूहकै रूपमा छ । पार्टीमा अहिले नेतृत्वको संकट देखिएको छ । एकता आह्वान गर्न सक्ने नेताको अभाव पनि छ ।

एकता भइहाल्दा पनि अहिलेजस्तै ठूला र भद्दा कमिटी बन्नेछ । यसले माओवादीलाई एकता होइन, विघटनमै पुर्‍याउने विश्लेषक बताउँछन् । ‘संगठन सानो बनाउने, पार्टी पुनर्गठन गर्ने कुरा माओवादीमा सुनिन्छ तर त्यो भनेको के हो ? प्रस्ट छैन’, विश्लेषक घिमिरे भन्छन्, ‘संगठन भनेको विधिसंगत चल्ने, सामूहिक निर्णय गर्ने भन्ने हुन्छ, यो अवस्था माओवादीमा देखिन्न । यस्तो अवस्थाले पार्टी बनाउँदैन ।’

एमाले-कांग्रेसको विकल्पका रूपमा पहिलो संविधानसभामा जनताले माओवादी रोजे पनि अहिले फरक नदेखिएको विश्लेषक सुवेदी बताउँछन् । अझै तल्लो वर्गका जनताको प्रतिनिधित्व गर्ने ठाउँ खाली भए पनि माओवादीले त्यस्तो स्थान लिन नसकेको उनको ठम्याइ छ । ‘कांग्रेस-एमालेभन्दा फरक देखिन्नन् भने माओवादीको भविश्य यही हुन्छ भनेर कसरी भन्न सकिन्छ ? ‘, उनी प्रश्न गर्छन् ।

माओवादी केन्द्र अझै विचारमा प्रस्ट हुन नसकेको विश्लेषक पिटरको बुझाइ छ । ‘विचारमा क्लियर हुनुपर्छ । नत्र त्रास र आस दुवै रहन्छ । यस्तो अवस्थामा पार्टी आन्दोलन बन्न सक्दैन । अहिले प्रचण्डपथ ब्युँताउनुपर्छ भन्नेहरू देखिन थालेका छन्’, उनी भन्छन्, ‘यसले माओवादी माओवादी रहँदैन, झन् भद्रगोल भई विघटित बन्न सक्छ ।’

जनतासँग जोडिने कार्यशैलीका साथै चुस्त संगठन र राजनीतिलाई डोर्‍याउने विचार निर्माणमा प्रचण्ड कमजोर देखिएका छन् । विश्लेषकका अनुसार यस्तो अवस्थामा माओवादी आन्दोलन विघटन र लोकतान्त्रिक रूपान्तरणको दुई परिणाम जानेछ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पार्टी विघटन सोच्दै नसोचेको प्रतिक्रिया दिएकी छन् । ‘हामीले पार्टीको विघटन सोच्दै सोचेका छैनौं, त्यो सम्भव पनि छैन’, प्रवक्ता भुसालले भनिन्, ‘बरु पार्टी पुनर्गठनको सोचमा छौं । एकता अहिलेको आवश्यकता हो ।’ उनले माओवादी शक्तिबीचको एकताका लागि शीर्ष तहमा आह्वान भइसकेको उल्लेख गर्दै भनिन्, ‘ढिलो-चाँडो एकता हुन्छ भन्नेमा विश्वस्त छौं ।’

एकता र विभाजन शृंखला
मूल पार्टी :
नेकपा (माओवादी)
एकता
– ०६४ मा नेकपा २००६ (केशव नेपाल)
– ०६५ मा नेकपा एकताकेन्द्र मशाल (नारायणकाजी श्रेष्ठको पार्टीसँग)
पार्टीको नाम एकीकृत नेकपा माओवादी
– २०७३ जेठमा माओवादीका १० घटकबीच एकता
नेकपा (माओवादी केन्द्र) नामकरण

विभाजन
– ०६५ मा श्रेष्ठसँगको एकता अस्वीकार गर्दै मातृका यादव विभाजनमा । नेकपा (माओवादी) नामकरण ।
– ०६९ मा मोहन वैद्य अलग । नेकपा-माओवादी नामकरण
– ०७१ मंसिरमा वैद्यसँग नेत्रविक्रम चन्दको विभाजन

नेकपा माओवादी नामकरण
०७२ मंसिरमा डा. बाबुराम भट्टराई अलग
नयाँ शक्ति पार्टी निर्माण