विश्लेषण : रबि लामिछाने र भरतपुर काण्ड

२०७४ साउन २५ बुधवार
Sujan Panta
  • अद्वितीय सुवेदी

‘रेणु दाहालले भरतपुरमा जितिन् भने रबि लामिछानेले आत्महत्या गर्ने’ भन्ने समाचार एकाएक भाइरल भयो । सर्बप्रथम त्यो समाचार झुटो थियो र गलत थियो र त्यस्तो समाचार भाइरल गर्ने व्यक्तिहरु गलत प्रवृत्तिका हुन भन्ने कुरामा दुइमत छैन् ।

तर रबि जि, तपाईंले त्यो समाचार सबैभन्दा पहिला कसले बनायो, भाइरल गर्ने पहिलो व्यक्ति को हो भन्ने कुरा बुझ्नुभएन । त्यो पोष्ट कुनै एक पार्टीका मानिसहरुले मात्रै सेयर गरेका थिएनन् । सबै पार्टीका हजारौं मान्छेहरुले सेयर गरेका थिए, कसैले अचम्म लागेर सेयर गरे त कसैले हल्ला फिजाउन ।

तर त्यो पोष्ट सेयर गर्ने हजारौंमा एकलाई स्टुडियोमा बोलाउनुभयो र सोधपुछ गर्नुभयो । सोधपुछ गर्नु राम्रो हो हामीले त्यसलाई नराम्रो भनेनौं, तर तपाईंले त्यसमा माओवादी पार्टी विशेषको नाम लिनुभयो र पार्टीको दुश्प्रचार हुन गयो ।

अब तपाईं भन्नुस के उक्त व्यक्ति मात्रै दोषी हो ? के त्यो समाचार सबैभन्दा पहिला भाइरल बनाएको व्यक्ति उहि हो ? के त्यो समाचार राख्ने सबै व्यक्ति माओवादीका मात्रै थिए ? के त्यो पोष्ट भाइरल बनाउने माओवादीको योजना थियो या रणनीति ?

पार्टीको नाम लिएर दुश्प्रचार किन ? हामी सबैले हरेक पार्टीका मान्छेहरुले त्यो पोष्ट सेयर गरेको देखेकै थियौं । तर तपाईंले अरु पार्टीका मान्छेलाई दोषी देख्नुभएन, त्यो समाचार बनाउने मान्छेलाइ चिन्नुभएन, बरु एकजना माओवादी समर्थकलाई आधार बनाएर पार्टीको बदनाम गर्न खोज्नुभयो ।

तपाईंले माओवादी कार्यकर्तालाई मात्रै किन सोधपुछ गर्नुभयो ? किन अरु पार्टीका कार्यकर्तालाई जसले त्यो समाचार सेयर गरेका थिए । उनीहरुलाई सोधपुछ किन गर्नुभएन ? के तपाईंको पत्रकारिताले एक पार्टीको विरोध मात्रै गर अनि अरु सबैको गल्ती ढाकछोप गर भन्छ हो ? के गल्ती गरेको सजाय एउटा व्यक्तिले भोग्ने अनि अरु व्यक्तिलाई छुट छ हो ? के निष्पक्ष पत्रकारिता भनेको त्यही हो ?

तपाईंले समाचार बनाउने बेलामा सबै पार्टीका मान्छेहरुले सेयर गरेका तर एउटा व्यक्तिलाई मात्रै ‘र्यान्डम्ली’ छानेर सोधपुछ गरेको भन्न किन सक्नुभएन ? यदि त्यस्तो भन्नुभएको भए त जनताले सत्य कुरा बुझ्थे नि । तपाईंले एकजना माओवादी समर्थक छान्नुभयो (जानिजानी या अन्जानमा) र यसरी प्रस्तुत हुनुभयो कि मानौं त्यो समाचार सेयर गर्ने सबै माओवादी समर्थक मात्रै थिए अनि तपाइले अरु पार्टीका समर्थकहरुलाई पानीमाथिको ओभानो ठान्नुभयो ।

ठिकै छ तपाईंलाई माओवादीको विरोध गर्नमै सन्तोस मिल्छ भने विरोध गर्दै गर्नुस् । अन्त्यमा निर्णयक त आम नेपाली जनता नै हुन् । तपाईंका हरेक शब्द–शब्द केलाएर बसेका छौं हामी ।

र, अन्त्यमा तपाईंलाई एक महान निष्पक्ष र स्वतन्त्र पत्रकारको पगरी दिने कि कुनै एक पार्टीको अथवा ‘अन साइड एनलाइस्ट’ को पगरी दिने त्यो जिम्मा अन्त्यमा हाम्रै हातमा छ ।

एउटा व्यक्तिले गर्दा सम्पूर्ण पार्टीलाइ दुश्मनको नजरले नहेरौं । तपाईंलाई सम्मान गर्ने लाखौं युवा र आम नेपाली जनतालाई नमिठो नबनाउनु होला । अरुको सम्मान गर्न जाने मात्रै आफू पनि सम्मानको हकेदार हुन सक्छन् तपाईं आफैँ भन्ने गर्नुहुन्छ, नबिर्सिनु होला ।