आँसु लुकाएर हाँस्दैछु, तर हार्ने छैन

२०७४ साउन २८ शनिवार
Sujan Panta
  • प्रेरणा राइ

संसारमा छोरी मान्छे भएर जन्मनु नै दोष हो । छोरी जन्मने वित्तिकै बिहे गरेर जाने सन्तानको रुपमा लिइन्छ । परिवारको सबै भन्दा जेठो सन्तानका रुपमा म पनि छोरीको रुपमा जन्मिएँ ।

परिवारमा पहिलो छोरी/नातिनी जन्मेपनि को कत्तिको खुसी भए त्यो त मलाई थाहा छैन, तर मेरो जन्म हुँदा मेरी आमा भने धेरै नै खुसी हुनुभएको थियो ।

आर्थिक रुपमा सबल नभएको परिवारमा जन्मिएकी मैले सानैदेखि दुःखलाई नजिकबाट नियालेकी छु । बुबा बसमा खलासी काम गर्नु हुन्थ्यो र आमा गृहणी । बुबाको कमाइले सँधै घर खर्च टार्न अपुग हुन्थ्यो । त्यसैले आमाले हामी डेरा बसेको घर अगाडि आरीमा सब्जी राखेर व्यापार गर्न थाल्नुभयो ।

तरकारी बेच्न थालेपछि मावली बाजेहरूले मेरी आमाको खिल्ली उडाउँदै हिडनुहुन्थ्यो रे । तरपनि मेरी आमाले ती सबै अपहेलनाको बेवास्ता गरेरै काम गरिरहनुभयो । घरमा बाजे,बोजुले आमालाई धेरै र नसक्ने काम गराउने र काकाहरूले भेदभाव गर्ने गर्नुहुन्थ्यो ।

जे जस्तो स्थिती भएपनि मेरी आमाले मलाई केही कुराको कमी हुन दिनुभएन । बुबाले मलाई सरकारी स्कुल भर्ना गर्दिन खोज्दा आमाले आँट गरेर मलाई निजी विद्यालयमा नै भर्ना गर्नुभयो ।

आफू अशिक्षित भएकै कारणले होला आमाले मलाई शिक्षित र अङगे्रजीमा पोख्त बनाउने चाहाना राख्नुभएको । सानैदेखि मैले पनि पढाईमा धेरै मेहेनत गरें । म कक्षा एकमा पढ्दै गर्दा मेरो बुबा बिदेशिनु भयो । त्यति बेला मेरी बहिनी ८ महिनाकी भैसकेकी थिई । दोस्रो सन्तान पनि छोरी जन्माएकोले मेरी आमाले झनै बढी अपहेलना सहनुपर्‍यो । बुबा बिदेश गएपछि हामीले हाम्रो आर्थिक अवस्था केही उकालो लाग्ने आशा गरेका थियौँ । सुरु—सुरुमा सोचे जस्तो नै हुँदै थियो । बहिनी पनि म पढेकै विद्यालयमा पढ्न थालेकी थिई । म कक्षा १० मा पढ्दै गर्दा मेरो बुबा छुट्टिमा नेपाल आउनुभयो । पुरा १० वर्षपछि आउनुभएको थियो मेरो बुबा । बाहिर खुसी नदेखाए पनि मन भित्र भने म निकै हर्षित थिएँ । सानैदेखि बुबाले मलाई धेरै माया गर्नुहुन्थ्यो, तर १० वर्षपछि नेपाल फर्कंदा मेरो बुबाको स्वभावमा परिवर्तन आएको थियो ।

बिदेश जानु अघिको बुबा र छुट्टिमा नेपाल आउनुभएको मेरो बुबामा मैले धेरै फरक देख्न थालें । सानो—सानो कुरामा पनि झर्किने । आमा कुनै छोरा मान्छे सँग बोलेको देख्दा बुबाले नराम्रो नजरले हेर्नुहुन्थ्यो । पहिले त्यस्तो हुनुहुन्नथ्यो, तर विदेशको हावाले मेरो बुबाको पुरानो स्वभावलाई उडाएछ । पाँच महिनाको छुट्टि सक्किएपछि फेरी बुबा काममा फर्किनु भयो । उहाँ जानु त भयो, तर धेरै समस्या छोडेर जानुभयो । धेरै ऋण मेरी आमाको काँधमा आईपर्‍यो । व्याज बढेर साउँ भन्दा धेरै पुगेकोले हाम्रो आर्थिक अवस्था अझ ओरालो लाग्दै गयो । त्यसमाथि बुबाले खर्च पठाउनै छोड्नुभयो । ऋण तिर्न नसकेपछि हामीले जग्गा बेच्नु पर्‍यो। एस.एल.सीमा पहिलो श्रेणीमा उत्तिर्ण भएकी मलाई कलेज पढ्न निकै गाह्रो भयो । स्कुलमा म स्कुलकै उत्कृष्ट मध्ये एक थिएँ । कक्षामा पनि प्रायः पहिलो नत्र दोस्रो हुन्थें । हरेक प्रतियोगिता चाहे त्यो निबन्ध लेखन होस या कथा लेखन होस या त हाजिर जवाफ प्रतियोगिता, म जहिल्यै पहिलो हुन्थें ।

अनुशासन राम्रो भएको भन्दै मैले पुरस्कार स्वरुप प्रमाणपत्र पनि पाउने गर्थें । त्यति बेला सोचेकी पनि थिइनँ मेरो जिवनले यसरी कोल्टो फेर्छ भनेर । विज्ञान विषय लिएर कलेज पढेकी मैले आर्थिक अभावकै कारणले यस विषय निरन्तर पढ्न सकिनँ । यसैबिच मेरो बुबाले विदेशमै अर्को बिहे गरेको र एउटा छोरा पनि भएको कुरा थाहा पाउँदा मलाई अझ गहिरो दुःखमा धकेल्यो । मलाई त्यति धेरै माया गर्ने मेरो बुबाले यसरी माया नै मार्नुहुन्छ भन्ने कुरा मलाई विश्वास हुन गाह्रो भयो ।

अहिलेसम्म मलाई मेरो बुबाले दसै्रमा टिका लगाइदिनु भएको पनि थाहा छैन । मेरी आमा र बहिनीलाई झन दुःख नहोस भनेर मैले मेरो दुःख मन भित्रै राखें, मेरो आँसु आखा मै सुकाए र उनीहरूको सामु हाँसेरै दुःख लुकाए । धेरै गाह्रो भयो आफूलाई सम्हाल्न । मैले यतिसम्म हरेश खाएँ की आत्माहत्या गर्ने कोशिस पनि गरें । मेरो भाग्य बलियो रैछ, छिमेकी दाईले मलाई देखेर बचाए ।

म आमा र बहिनीको अगाडि हाँसेपनि राती एक्लै रुने गर्थे । कत्ति रात यसै गरी बित्यो, तर अरुको छेउमा सँधै हास्थें र हसाउँथे । सबैले भन्थे कति हाँसेको, तर मैले हाँसोको मुखौटा लगाएर आँसु लुकाएको कसैले देख्न सकेन । अहिले मेरी आमा र मेरी बहिनीलाई हेरेर मैले आँट र आत्मविश्वास बटुलेर अगाडि बढ्ने प्रण गरेकी छु । मेरो पढाइलाई अघि बढाउन मैले ट्युसन पढाउन थालें तर यसले पनि पुगेको छैन । जे जस्तो अवस्था आएपनि अब म हार मान्दिनँ र आफ्नो आत्मविश्वास घट्न दिन्न । यो मेरो अठोट हो ।

१८ वर्षकै उमेरमा मैले जिन्दगीमा धेरै सङर्घष गरिरहेकी छु र निरन्तर गर्नेछु पनि । भर्खरै पत्रकारिता क्षेत्रमा लागेपछि आफूमा अझ बढी आत्मविश्वास बढेको अनुभव गरेकी छु । इमान्दार र मेहेनत गरेर आफ्नो पढाई सँगै आफ्नो काम पनि अगाडि बढाउने छु । हार कहिल्यै मान्नेछैन । अपहेलित छोरीले पनि केही गर्न सक्छ भनेर यो समाजमा म एउटा उदाहरण बनेर देखाउन चाहन्छु । अनि मेरी आमा र बहिनीलाई यी सबै दुःखबाट मुक्त्त पार्न चाहन्छु । मेरो जिवनलाई फर्केर हेर्छु तर म रुने छैन, त्यसबाट आँट बटुल्ने छु । छोरी मान्छे भएर जन्मिसकेपछि हामीले हाम्रो परिवारमा मात्र नभएर हाम्रो समाजमा पनि संघर्ष गर्नुपर्ने रैछ ।

एउटा केटा र एउटी केटी सँगै हिँडेको वा एक—अर्का सँग बोलेको देख्यो भने पहिलो प्रश्न त्यो केटीलाई नै गर्ने गरिन्छ । त्यो केटाको चरित्रमा खोट देख्दैनन् तर त्यो केटीको चरित्रलाई नराम्रो भनि औँल्याईन्छ । एउटा छोरा मान्छे राती—राती हिड्यो भने उसलाई केही नराम्रो भनिँदैन, तर यदि एउटा छोरी मान्छे राम्रै कामले रातको समयमा हिँड्यो भने उसलाई सारा समाजले चरित्रहिन भन्छ । यस्तो मानसिकता भएको हाम्रो समाज परिवर्तन गर्न हामी आफैले सुरुवात गर्नुपर्छ र हामी आफै अगाडि बढ्नुपर्छ । हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो भनेमात्र समाज साँच्चै विकासको बाटोमा अघि बढ्नेछ । -महिला खबरबाट