माओवादी प्रचण्डको निजी कम्पनी हो कि सर्वहारा वर्गको पार्टी ?

२०७४ असोज २१ शनिवार
NewsDesk ShikharNews

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेकै समयमा एकदिन साँझ बालुवाटारमा चर्चा चलेको थियो, ‘यो नारायणकाजी माओवादी केन्द्रमा रहनु र एमालेमा रहनुको कुनै अर्थ छैन ।’ पार्टीभित्रको विवादको कुरा फ्याट्ट बाहिर सार्वजनिक गरिदिने आफू निकटस्थ पत्रकारलाई भित्रका कुरा लगाइदिने र कठिन समयमा कुनै भूमिका र जिम्मेवारी नै नभएजस्तो गजधम्म परेर बसिदिने नारायणकाजीको स्वभाव माओवादी कार्यकर्ताका लागि उदेकलाग्दो थियो ।माओवादी केन्द्रको बैठकमा एमालेजस्तो भएर प्रस्तुत गरेको आरोप टोपबहादुर रायमाझीलाई पनि लाग्ने गर्दथ्यो । सर्वदलीय बैठकमा टोपबहादुर रायमाझी उपस्थित भएपछि एमालेको तर्फबाट प्रतिनिधिहरू खासै नआएपनि हुने भनेर माओवादी केन्द्रका केही नेताहरु टिप्पणी गर्ने गर्दथे ।

त्यसैले माओवादी केन्द्रमा एमाले प्रतिको घृणा र मोह दुवै थियो । त्यस्ता घृणा र मोहहरू केही विचारको आधारमा थियो, केही व्यापारको आधारमा । म एक्लै हुन किन नपरोस् शहीदको सपना पूरा गर्छु, मेरो नशा–नशामा माओवादी छ भन्नेहरू पनि थिए । होइन, उहिलेका कुरा खुइलियो अब एमाले वाम एकता गर्नुपर्छ भन्नेहरू पनि थिए । तर त्यो वाम एकता होइन ‘व्यापारको एकता’ को घटिया चिन्तन थियो ।

खासगरी शान्ति प्रक्रियापछि र प्रचण्ड सरकार निर्माणको समयमा सयौँ एमाले नेता कार्यकर्ताहरू माओवादीमा प्रवेश गरेका थिए । तर त्यसले बलियो गुट भने निर्माण गर्न सकेको थिएन । गुट निर्माण गर्न नसके पनि एमालेबाट आएकाहरूले माओवादी कार्यकर्ताहरूको आचरण र संस्कार निर्माण गरिदिए । कोही सहकारीको हाकिम बने, कोही सुन तस्करीमा लागे, कोही डोजर किनेर ठेक्कापट्टामा लागे ।

मुलुकमा दुईओटा एमालेको आवश्यक नरहेको कुरा मोहन वैद्य ‘किरण’ ले सुनाएपछि प्रचण्डलाई झाेंक चल्यो । कार्यकर्ताहरू सबै अल्छी, लम्पट र जनतामा तल जान भन्दा मरे समानको अनुभूति गर्ने त्यो कुरा प्रचण्डलाई राम्रोसँग थाहा थियो । त्यसैले एकदिन पेरिस डाँडामा सबैका सामु प्रचण्डले भने, ‘एउटा बिग्रेको पार्टी र अनुहार जनतालाई देखाउनभन्दा पार्टी नै विघटन गरौं, आ–आफ्नो कुटो कोदालो गरेर जीवन चलाउँदा हुन्छ ।’

पार्टी विघटनको संकेत यो नयाँ होइन, थिएन । एकता चाहिँ बरू विप्लव, किरण माओवादीसँग हुन्छ भन्ने जनताको अपेक्षा थियो । तर चमत्कार भयो । यत्ति मात्रै हो यो चमत्कार सेना समायोजन जस्तै नहोस्, जहाँ कटुवाल प्रकरणको एउटा किस्सा छ । उसो त अस्ति भर्खरै केपी ओलीसँग गरिएको आलोपालो सरकार निर्माणमा पाएको धोका पनि ताजा संस्मरण नै हो ।

त्यसैले क्रान्तिकारी विचार राख्नेहरुका लागि एमाले सँगको एकता प्राकृतिक हुन सक्दैन । र एकता पनि होइन माओवादीको विलन हो । किनभने एमाले कुनै पनि हालतमा कम्युनिस्ट नै होइन । बरू एमाले नेपालको अस्वस्थ पूँजीवादी व्यवस्थाको नाइके हो । एनजीओ, आइएनजीओ भित्र्याएर राज्य व्यवस्थालाई नै छायामा पारिदिने तत्व हो एमाले । नेपाली आदिवासी जनजातिहरूलाई र तिनको पहिचानलाई राज्यको मूलधारमा ल्याउन नचाहने नश्लवादी व्यवस्थाको ‘नाइके’ हो एमाले ।

एमालेबाट समयक्रमसँगै विभिन्न अवसरको खोजीमा माओवादी बने, अहिले माओवादीको शक्ति र सत्ताको भविष्य जोखिममा देखेपछि उनीहरू एमालेमै फर्किन चाहन्छन् । किनकि उनीहरूले राजनीति कम र व्यापार धेरै बुझ्छन् । अचम्मको कुरा ‘ती कम्युनिष्ट व्यापारी’हरू माओवादी केन्द्र नै विघटन गर्न आतुर छन् । यद्यपि माओवादी केन्द्रमा एमालेको गन्ध नआएको होइन तर यति धेरै गन्हाउने गरी आएको थिएन । तपाईं माओवादी शक्ति केन्द्रहरूको वरिपरि हे–यो भने त्यो एमाले, एमाले टाइपका मान्छे मात्रै देखिन्छन् ।

रहस्यमा लुकेका केही कुरा !

माओवादी केन्द्रका एक पोलिटब्युरो सदस्यले ‘खास कुरा के हो’ भनेर मेरो फेसबुक म्यासेन्जरमा एउटा सनसनीपूर्ण म्यासेज पठाएका रहेछन् । उनको त्यो म्यासेज हेर्नुभन्दा अगाडि मैले पनि धेरै माओवादी नेताहरूलाई त्यस्तै किसिमको उत्तेजक प्रश्न सोधेको थिएँ – ‘खास कुरा के हो ?’

किनभने पोलिटब्युरो सदस्यलाई थाहा नभएको ’खास कुरा’ म बबुरोलाई थाहा हुने कुरै भएन । पहिलो दिन अन्योलमै बित्यो ।

अन्य समयमा फेसबूकमा होस् वा मोबाइलमा सजिलै कुराकानी गर्ने ‘गुट फेमलियर’ नेताहरूले ‘खास कुरा के हो’ भन्ने भावुक प्रश्नको जवाफ दिन सकिरहेका थिएनन् । शायद उनीहरू पनि ‘खास कुरा’ को खोजीमा आ–आफ्नै च्यानलसँग बरालिँदै थिए । अलिक पेलेरै कुरा गरेपछि एकजना नेताले भने मुख खोल्दै भने – ’अनलाइन पत्रिकाहरूमा समाचार आएको होला, उतै हेर्नू । हामीले पनि पार्टीको महत्त्वपूर्ण निर्णयहरू अनलाइनमै हेरेर थाहा पाउछौं ।’

माओवादी केन्द्र र एमालेबीचको चुनावी तालमेल तथा पार्टी एकताबारे अनलाइन मिडियाहरूमा नयाँ पुराना किस्साहरू सार्वजनिक भइरहेका थिए । केही हप्ताअघि नारायणकाजी श्रेष्ठ एमालेमा गएको हल्ला फैलाउने अनलाइनलाई मुद्दा चलाउनुपर्छ भन्ने मित्रहरूले त्यो अनलाइनको समचारलाई वाम एकताको जामा लगााइदिन भ्याइसकेका थिए । यहाँनेर फेरि टोपबहादुर रायमाझीको किस्सा जोड्न उपयुक्त नहोला ।

माओवादी केन्द्रले भर्खरै कांग्रेससँग मिलेर सरकार निर्माण गरेको अवस्थामा एमालेसँग पार्टी एकताको प्रयास थालनी होला भन्ने कसैले चिताएका थिएनन् । त्यसैले मानिसहरूले यो परिस्थितिलाई राजनीतिक भूकम्प भनेर पनि टिप्पणी गरेका छन् । तर यो भूकम्प कति रेक्टर स्केलको हो भन्ने कुरा कम्तीमा पोलिटब्युरो सदस्यलाई थाहा हुनुपथ्र्यो । राजनीतिमा सधै चमत्कार गर्छु भनेर मात्रै पनि हुदैन । कहिलेकाहीँ त इमान्दारिता पनि आवश्यक हुन्छ ।

पोलिटब्युरो सदस्यलाई थाहा नभएको ‘खास कुरा’ तल्लो कमिटीलाई थाहा हुने कुरै भएन । युद्धको समयमा बाहेक अन्य सामान्य अवस्थामा कम्युनिस्ट पार्टी अझ भनौं, जनवादी पार्टीमा हरेक साना तथा ठूला निर्णयहरू कमिटीमा छलफल गरेर अगाडि बढाइन्छ भन्ने कुरा मूलतः माक्सवादी सिद्धान्त हो । यही सिद्धान्तलाई नै जनवादी व्यवस्थाको एउटा अंश मानिन्छ । यो सिद्धान्तमा राजनीति भनेको नेता र कार्यकर्ताको साइनोसँग सिमित हुन्छ, कुनै व्यापारी र उसको दोकानमा काम गर्ने ‘जि हजुरी’ कामदारको जस्तो हुँदैन ।

त्यस्तो ‘जी हजुरी’ राजनैतिक साइनो खासगरी पुँजीवादी पार्टी वा प्रजातान्त्रिक पार्टीमा देख्न पाइन्छ, त्यो पनि केवल सामन्तवादी संस्कारको लिगेसीको रुपमा मात्रै ।

एक प्रतिशत पनि कम्युनिस्ट आचरण नभएको एमालसँग माओवादी केन्द्र विलय गराउने कुराले एउटा प्रश्न जन्माउँछ, त्यो हो ‘माओवादी केन्द्र प्रचण्डको हो कि नेपाली सर्वहारा वर्गको हो ?’ त्यो बारेमा बहस नै गर्न छाडेर कतिपय मित्रहरूले जसरी पनि नेतृत्वको निर्णय कार्यन्वयन गर्ने तर्क पेश गरेका छन् । कार्यन्वयन न पार्टी सुधार्ने, नयाँ बनाउने भन्ने विचारको हुन्छ, पार्टी नै एमालेकरण गर्ने भन्नेमा हुँदैन ।

अस्तिसम्म एकअर्काप्रति हिलो छ्याप्न तयार पार्टी पत्रकारहरूले वाम एकता प्रयासको सिलसिला निकै रोचकका साथ प्रस्तुत गरेका छन् । चिया गफमा गरिएका कुराकानीहरू पार्टीको औपचारिक दृष्टिकोण हो भने एमाले कांग्रेसका थुप्रै नेता कार्यकर्ताहरू अहिले पनि राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा कुरा गरिरहेका देखिन्छन् । एमाले नेता त संविधानसभा र संघियता विरोधी अभिव्यक्तिहरू न माक्सवादी थिए न समाजवाद उन्मुख नै ।

कमिटीमा कुनै किसिमको छलफल नै नचलाएर एमालसँग पार्टी एकताको लागि सहमति जनाउनु माओवादी केन्द्रको लागि एउटा परिक्षणको बिषय त हो नै । तर ‘पर्ख र हेर’ भन्ने जस्तो पुरानो राजनैतिक मान्यताको आधारमा अहिलेको नेपाली सामाज अथवा मतदाताहरू अडिन सक्दैनन् । त्यसैले एमालेसँगको एकताले सफलता हासिल गर्न सकेन भने माओवादी केन्द्रको भविष्य अत्यन्तै जोखिम बिन्दुमा पुग्नेछ ।

पक्कै पनि युद्ध र शान्ति प्रकृयाको समयमा एमाले र माओवादीको सम्बन्ध विशेष छ । त्यो बेलाका विश्वासिलो पात्र भनेको गिरिजाप्रसाद कोइरला नै हुन् । यो कुरा स्वयम् प्रचण्डले बारम्बार भन्दै आएको कुरा हो । यतिसम्म कि मृत्युशैयाबाट गिरिजाले देशको बाँकी कार्यभार आफूलाई नै सुम्पेर गएको बताएका थिए । गिरिजा र प्रचण्डको विश्वासिलो सम्बन्धको योगफल नै आजको उपलब्धि हो । गणतन्त्र नेपाल हो । समावेशी र नयाँ संविधान हो । भलै यो संसोधन हुने र म्याचुअर्ड हुने प्रकृया मै छ ।

प्रचण्डको वामदेव गौतम र माधव नेपालको दोस्ती मात्रै यो उपलब्धिको कडी होइन । जसरी मिडियाहरूमा अनेकौँ किस्सा आइरहेको छ, त्यो अत्यन्तै उत्साहित अवसरवादीहरूको डकार मात्रै हो । व्यक्तिको के कुरा? प्रश्न राजनीतिको हो । राजनैतिक रुपमा एमाले र माओवादी केन्द्रको उत्पत्ति , कार्यदिशा एउटै हो ? राजनैतिक रुपमा एमाले र माओवादीको धरातालीय दृष्टिकोण खासगरी मधेसी, आदिवासीहरू र जनजातिलाई बुझ्ने सन्दर्भमा दृष्टिकोण समान हो ।

होइन, बरू तराई मधेसमा कांग्रेसको उपस्थिति राम्रो छ । अहिलेको स्थानीय चुनावले त्यो कुरा पुष्टि गरेको छ । राज्य सत्ताको हाली मुहाली गर्ने र मधेसीहरूलाई अझै राजनैतिक दमन गर्ने एमालेको सपना ऊ एक्लै पुरा गर्न नसकेको अवस्थामा एमाले माओवादी केन्द्रको शरण पर्न आएको हो । एमाले कुनै वाम तालमेल र समाजवादी शासन व्यवस्था निर्माण गर्न हतारिएको होइन । मात्रै ऊ आफ्नो खोक्रो राष्ट्रवादलाई संरक्षण गर्न चाहन्छ ।

लोकान्तरका लागि दिल निसानी मगर ले लेखेको लेख