संखुवासभाबाट व्यवसायी टासी शेर्पा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार

२०७४ असोज २६ बिहीवार
Sujan Panta
संखुवासभाबाट व्यवसायी टासी शेर्पा  प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार

काठमाडौं । युवा पर्यटन व्यवसायी टासी लाक्पा शेर्पाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट प्रतिस्पर्धा गर्ने भएका छन । शेर्पालाई नेकपा माओवादी केन्द्र जिल्ला समिति संखुवासभाले आगामी मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चर्चित पर्यटन व्यवसायी समेत रहेका माओवादी केन्द्रका युवा नेता शेर्पालाई एउटा मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभावाट पार्टीले प्रतिनिधि सभाका लागि सर्वसम्मत उम्मेदवार सिफारीस गरेको हो ।

उम्मेदवार सिफारीस भएपछि शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा पार्टीलाई धन्यवाद दिँदै अबको फैसला संखुवासभावासीको हातमा रहेको बताएका थिए ।

संखुवासभाको विकास निमार्णमा निकै सक्रिय शेर्पाले संखुवासभावासीका साना–साना समस्यामा समेत चासो दिने गर्छन् । संखुवासभालाई उर्जा र पर्यटनको हव बनाउने योजनामा रहेका शेर्पा भन्छन्, ‘युवा नेतृत्व अहिलेको आवश्यकता हो ।’शेर्पाले सगरमाथासहित विश्वका अग्ला हिमालको आरोह समेत गरिसकेका छन् ।

को हुन् टासी शेर्पा ?
संखुवासभाको मकालु गाविस–९ मा २०४३ सालमा जन्मेका टासी लाक्पा शेर्पाले सानैदेखि हिमालको आरोहणको सपना बुनेर बसेका थिए । काठमाडौं छिरेपछि उनलाई सबैभन्दा पहिला आफ्नो आवश्यकताहरु पूरा गर्नु थियो । खानेदेखि बस्नेसम्मको बन्दोबस्त । शेर्पाहरुको पुख्र्यौली पेशा भएको कारणले गर्दा उनी विस्तारै सन् २००३ मा ट्रेकिङ अफिस ट्रेकिङ गाइडको रुपमा आबद्व भए । त्यो दिन सम्झँदै टासी भन्छन्, ‘आज म यो ठाउँमा आएर यतिसम्म गर्छु भन्ने सोचेको नै थिइन ।’

मकालु र अरुणतिरबाट आउने पर्यटक र पर्वतारोहीहरुको लर्को देखेर टासी निकै उत्साहित हुन्थे । एक दिन म पनि हिमालमा विदेशीहरुलाई लिएर हिमालको शिखरमा पुग्छु भन्ने अठोट लिएका थिए । त्यो उनले पुरा गरी पनि छाडे ।

टासी जस्ता साहषिक शेर्पाहरुको कथा संसारभरी फैलिएको करिब ६४ बर्ष पुगिसकेको छ । टासीले सगरमाथाको कथा शेर्पा भएको कारण हजुरबाउ कै पालादेखि सुन्दै आएका थिए । ती हिमाली कथाहरु सुन्दा टासी पनि एक दिन सगरमाथाको शिखरमा पाइला राखेर विश्वमा नाम चिनाउने अठोट लिएका थिए ।

काठमाडौं छिरेको छोटो समयमा नै उनले सन् २००४ सगरमाथामा माउन्टेन गाइडका रुपमा पहिलो पटक पाइला राखे । उनी त्यो बेला १७ वर्ष मात्र भएका थिए । अनि त्यसपछि लगातार ८ पटकसम्म सर्वोच्च शिखरमा पाइला राख्न सफल भएका छन् ।

पर्यटन व्यवसायसँगै टासी राजनीतिबाट अलग्गिन सकेनन् । अन्तमा राजनीतिमा सक्रिय हुन थाले । २०६० सालपछि टासी पार्टीको विभिन्न संगठनमा रहेर काम गर्दै आइरहे । विगत सम्झदैँ टासी भन्छन्, ‘पार्टीले संखुवासभाबाट सही नेतृत्व चयन गरेको महसुस गरेको छु ।’