अमेरिका र भारतको चुनाव सार्न दवाव

२०७४ असोज २७ शुक्रवार
NewsDesk ShikharNews

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मुखमा तीन प्रमुख दलले बामगठबन्धन बनाएपछि उत्पन्न राजनीतिक परिस्थितिमाथि अहिले नेपालस्थित शक्ति राष्ट्रका कुटनीतिक नियोगहरु निकै सक्रिय छन् । दुई छिमेकी देश भारत र चीन तथा अमेरिकाको नेपालस्थित दूतावासले अहिले निकै सक्रियता बढाएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमले आसन्न निर्वाचन प्रभावित हुन्छ कि भन्ने चिनियाँ चासो देखिएको छ भने भारत र अमेरिका चुनाव सार्ने लविङमा लागेका छन् । निर्वाचनका लागि बन्दसूचि पेश गर्ने समय असोज २९ को लागि तोकिएको छ । त्यसकारण अवका दुई दिन शक्ति केन्द्रहरुमा चलखेल थप बढ्ने सम्भावना छ ।

अमेरिकी र भारतीय अधिकारीहरुले जस जसलाई भेटेका छन्, उनीहरुका अनुसार ती दुई देश बामगठबन्धनप्रति असन्तुष्ट छन् र मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको चुनाव सार्ने पक्षमा छन् । विभिन्न स्रोतहरुबाट यस्ता भरपर्दा सूचनाहरु प्राप्त भएका छन्, यदि राजनीति त्यहीँ दिशातर्फ गयो भने चुनाव भाँडिन सक्छ ।

भारत र अमेरिकाको नेपालस्थित नियोगले प्रधानमन्त्री शेरबहादुर देउवामाथि चुनाव सार्न दवाव दिईरहेको स्रोतको भनाई छ । काँग्रेस निकट स्रोतका अनुसार भारतीय र अमेरिकी राजदूतले विभिन्न च्यानल मार्फत अहिलेको अबस्थामा चुनाव गरे त्यो लोकतन्त्र र काँग्रेसको भविष्यको लागि सुखद नहुँने भन्दै चुनाव सार्न दवाब दिएका हुन् । कतिपयले प्रधानमन्त्रीलाई असंवैधानिक कदम चालेर भएपनि चुनाव सार्ने वातवरण बनाउन सुझाव दिएको काँग्रेस निकट उच्चस्रोतको भनाई छ ।

बामगठबन्धन चिनियाँ निकट रहेको भन्दै अमेरिका र भारत असन्तुष्ट देखिएका छन् । भारतीय राजदूत पुरीले आइतवार प्रचण्डसँगको भेटमा गठबन्धनप्रति असन्तुष्टि जनाएको स्रोतको भनाई छ ।

भारत र अमेरिकारले नेपालको भूमिमार्फत तिब्वतमा अस्थिरता निम्ताउन खोजेको चिनियाँ भनाइ आएको छ । नेपालमा स्थिर सरकार भए तिब्बत मामलामा भारत र अमेरिकी चलखेल घटाउन सकिने चिनियाँ बुझाई छ ।

उता भारत र अमेरिकाको बुझाई पनि तिब्बतमाथि नजर लगाउन नेपाली भूमि सवैभन्दा उत्तम छ भन्ने छ । उनीहरुको यही स्वार्थको टक्करमा बेलाबेला नेपालको राजनीति प्रभावित हुने गरेको छ ।