म्यादी प्रहरीमा युवायुवतीको आकर्षण बढ्दो, प्रहरीमा दुई दिनमा ४ हजार बढीको आवेदन

२०७४ असोज २७ शुक्रवार
Dinesh Dhakal

बारा र पर्सा जिल्लामा दुई दिनमा ४ हजार युवाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रेम बहादुर साहीले पर्सा जिल्लामा दुई दिनमा १ हजार ६ सय ७८ जनाको आवेदन परेको बताए । पर्सामा पहिलो दिन १ हजार ६३ र दोस्रो दिन ६ सय १५ जनाको आवेदन संकलन गरिएको थियो ।

मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलेपछि वेरोजगार युवायुवती मध्य तराईको चर्को घाममा घण्टौं लाईन आवेदन दिइरहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता भुवनेश्वर साहले बारामा दुई दिनमा २३ सय आवेदन परेको बताए । शुक्रबार पनि ठूलो संख्यामा आवेदकहरु आवेदन दिन आएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयका अधिकारीहरुले बताएका छन् ।

स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा नाम निकालेर तालिम लिइसकेकाहरुले पनि आवेदन दिइरहेएका छन् । वीरगञ्जका मदन गुप्ता स्थानीय तहमा तालिम लिएका म्यादी प्रहरीहरुलाई नलिएर सरकारले स्रोत र साधनको दुरुपयोग गरिरहेको बताए । आवेदन दिन आएकाहरुले भने व्यवस्थित तरीकाले प्रहरी कार्यालयहरुले आवेदन नलिइदिँदा सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । स्थानीय तहमा पर्सामा १ हजार ४ सय ९२ जना म्यादी प्रहरी भर्ना गरिएको थियो । पटक पटक चुनावको मिति सरेपछि उनीहरुलाई चुनावमा नखटाएरै विदाइ गरिएको थियो ।

नैतिक पतन देखि फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रहेका र साधारण लेखपढ गर्न सक्ने १८ वर्ष उमेर पुगेको र ५४ वर्ष ननाघेको नेपाली नागरिक आवेदनका निम्ती योग्य हुन्छन् । म्यादी प्रहरीका लागि सम्बन्धित जिल्ला प्रहरीको कार्यालयमा गएर असोज ३० गते सम्म आवेदन दिन सकिन्छ ।