उद्यमशिलताको विकास गर्नको लागि नै मेरो उम्मेदवारी – सरोजराज अधिकारी

२०७४ असोज २७ शुक्रवार
Manisha Tripathee

देश प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिरहेको वेला लेखनाथका उद्योगी व्यवसायीहरु आफ्नो छाता संस्थाको चुनावी चटारोमा पनि छन् । निजी क्षेत्रको व्यवसायिक संस्थामा नेतृत्व लिन व्यवसायीहरु दुई वटा प्यानलनै वनाएर उद्योगी व्यवसायीहरुको मत माग्न व्यस्त छन् । असोज २८ गते हुने ११ औँ महाधिवेशनमा कृष्णहरी भण्डारी र वसन्तमोहन भट्राईको प्यानलवाट व्यवसायीहरु मैदानमा उत्रिएका छन् ।


यसअगाडी अध्यक्ष र सदस्य पदमा मात्र चुनाव हुने र पदाधिकारीमा मनोनयन गर्ने विधानको व्यवस्थालाई हटाएर यसपटक सवै पदमा चुनाव हुने भएपछि चुनावको माहोल तातेको छ । संघमा रहेर काम गर्न युवा तथा नयाँ व्यवसायीहरु उम्मेदवारी घोषणा गर्दै चुनावी मैदानमा छन् । पोखरा लेखनाथ ३३ का युवा उद्यमी सरोजराज अधिकारीले यसपटक कार्यसमिति सदस्य पदमा रहेर काम गर्ने ईच्छा देखाएका छन् । संघमा हाल कृषि उद्यम विकास उपसमिति संयोजक रहेर काम गरेका अधिकारीले वैँकको आकर्षक जागिर छोडेर ७ वर्षअघि व्यवसायमा लागेका थिए ।

साविक भरतपोखरीमा एग्रो फर्म र डेरी उद्योग संचालनमा ल्याएर उनले स्थानीयस्तरमा उत्पादन भएको दुध प्रशोधन गरि विक्री र बजारिकरण समेत गर्दै आएका छन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका अधिकारीले छोटो समयमै व्यवसायमा फड्को मारेका छन् । सनराईज मल्टि एग्रो फर्म र सनराईज डेरीको प्रोपाईटर रहेका अधिकारीले उद्यमशिलताको विकास र युवाहरुलाई व्यवसायमा लाग्न संघले प्रोत्साहन गर्नुपर्ने र उद्यमशिलताको विकास गर्नको लागि नै आफुले उम्मेदवारी दिएको वताउँछन् । “ देशको विकास र समृद्धिको लागि युवा जनशक्तिलाई स्वदेशमै केह ीगर्न सक्ने वातावरण वनेमात्र देशको विकास हुने भनाई उनको छ । “अहिले देशको ठुलो युवा जनशक्ति विदेशिएको छ । गाउँ घरमा युवाहरु छैनन् ।

वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै केही गर्न सक्ने वातावरण वनाएर विदेशिने परिपाटीलाई रोक्नु पर्ने खाचो छ” अधिकारीले भने“ उद्योग वाणिज्य संघले युवाहरुलाई आवश्यक सिप तथा तालिमहरु दिएर आत्मनिर्भर वनाउन सक्छ”। लेखनाथ कृषि तथा फलफुलको लागि उर्वर क्षेत्र रहेकोले व्यवसायिक कुषिलाई वढावा दिनुपर्ने विचार उनको छ । आफु पनि संघर्ष गरेर नै व्यवसायमा सफल वन्दै गएको र वास्तविक व्यवसायीहरुलाई मात्र व्यवसायिका पिर मर्का तथा समस्याहरु अवगत हुने हुनाले निर्वाचित भएको खण्डमा व्यवसायिक समस्याहरु समाधानमा सदैव कृयाशिल रहने भनाई अधिकारीको छ ।

अधिकारी सेती रिभर साईड रिसोर्ट प्रालिको अध्यक्ष, चिर्गादी ईङलिस स्कुलको प्रवन्ध संचालक, सरस्वती टिका वहुमुखी क्याम्पसको सल्लाहकार,समृद्धि कृषि सहकारी संस्थाको उपाध्यक्ष तथा पालुवा बचत तथा ऋण सहकारीको सल्लाहकार लगायत विभिन्न व्यवसायिक तथा सामाजिक संघ संस्थाहरुमा रहेर नेतृत्व गर्दै आएका छन् ।