महोत्तरीको चुनाव: जातीय समीकरण र ‘धन’ हार–जितको मुख्य फ्याक्टर

२०७४ कात्तिक २३ बिहीवार
Newsdesk shikharnews

२३ कात्तिक, महोत्तरी । प्रतिनिधि सभा निर्वाचनका लागि चारवटा निर्वाचन क्षेत्र कायम गरिएको महोत्तरी जिल्लामा मंसिर २१ गते हुन गइरहेको चुनावमा अप्रत्यासित परिणाम आउने विश्लेषकको अनुमान छ ।

ठूलैरुपमा पैसाको खेल र जातीय समीकरणका कारण महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने र त्यसबाट अप्रत्यासित परिणाम आउने विश्लेषकको दाबी रहेको छ ।

मधेश आन्दोलनको परिणामस्वरुप जन्मिएको राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य शरतसिंह भण्डारी गरी दुईजना सदस्य महोत्तरीबाटै प्रतिनिधिसभा चुनाव लडेका कारण यसपालि महोत्तरीको चुनाव निक्कै रोचक हुने र परिणाम पनि अप्रत्यासित आउने विश्लेषकको ठम्याइ रहेको छ ।

महोत्तरीको राजमार्ग र उत्तरी क्षेत्रको भूभाग समेटिएको निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं बहालवाला मन्त्री गिरिराजमणि पोखरेल उम्मेदवार छन् ।

उनी महोत्तरीको बर्दिवासमा पूर्वाधार विकास, विभिन्न सरकारी कार्यालय स्थापना गरेका कारण त्यस क्षेत्रमा निक्कै लोकप्रिय छन् भने यसअघि संविधान सभाका पहिलो र दोस्रो निर्वाचनमा त्यस क्षेत्रबाट विजयीसमेत भइसकेका छन् ।

उनको प्रतिष्पर्धामा सोही क्षेत्रमा दोस्रो संविधान सभाका निर्वाचनका बेला क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका नेपाली कांग्रेसका नेता सीताराम भण्डारीसँग छ । उनी स्वच्छ छवि, इमान्दार, मिलनसार र सादा जीवन, उच्च विचार भएका नेताको रुपमा चिनिन्छन् ।

त्यसैगरी, राजपा– संघीय फोरम गठबन्धनका तर्फबाट फोरमका लक्ष्मी महतो कोइरी उम्मेदवार छन् । कोइरी जातिको विशेष बसोबास रहेको त्यस क्षेत्रमा दुई नेपाली भाषी उम्मेदवारको मत बाँडिएको खण्डमा उनको अवस्था बलियो हुने विश्लेषक बताउँछन् । लक्ष्मी महतो पूर्व गाविस अध्यक्ष हुन् ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद किरण यादवबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

यादव बाहुल्यता रहेको सो क्षेत्रमा यसअघि पनि किरण यादव निर्वाचित भइसकेका छन् । राजपा–फोरम गठबन्धनका साझा उम्मेदवार भण्डारीको स्थिति पनि निक्कै बलियो रहेका कारण दुवैबीच सोझो प्रतिष्पर्धा हुने विश्लेषक बताउँछन् ।

त्यसैगरी, महोत्तरीको सदरमुकामसहितका क्षेत्र नम्बर ३ मा राजपा नेपालका संयोजक महन्थ ठाकुर र उनकै बागी उम्मेदवार पूर्व स्वतन्त्र सांसद चन्देश्वर झाबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

ब्राह्मण, भूमिहार बाहुल्य रहेको यस क्षेत्रमा नेपाली कांग्रेसका भूमिहार समुदायका उम्मेदवार रहेका बजरंग नेपालीले महन्थ ठाकुरलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएपछि अब महन्थ ठाकुर र चन्देश्वर झा दुवै ब्राह्मण रहेका कारण निक्कै रोचक भीडन्त हुने विश्लेषक बताउँछन् ।

उनीहरुका अर्का प्रतिष्पर्धी वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का विजयकुमार चौधरी छन् । जो गठबन्धनका कारण बलियो हुनसक्ने आँकलनसमेत गरिएको छ ।

महोत्तरीको क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति महेन्द्रकुमार राय उम्मेदवार भएका छन् । उनलाई जिल्लास्तरमा प्रभावशाली नेता मानिएको छ ।

त्यस्तै, यस क्षेत्रमा राजपा–फोरम गठबन्धनले संघीय समाजवादी फोरम नेपालका डा सुरेन्द्र यादवलाई अगाडि सारेको छ । गठबन्धनका कारण उनी पनि बलियो रहेको बुझिएको छ । तर सोही स्थानबाट राजपा नेपालका महासचिव इञ्जिनियर देवेन्द्र यादव पनि बागी उम्मेदवार बनेकाले परिणाम अप्रत्यासित आउन सक्ने विश्लेषक हुन थालेको छ ।

त्यसैगरी, सोही स्थानबाट वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का मो रजी हैदरले उम्मेदवारी दिएका छन् । मुस्लिम बाहुल्यता रहेको त्यस क्षेत्रमा उनको पक्षमा पनि मतपरिणाम आउन सक्ने विश्लेषकको अनुमान रहेको छ ।

समग्रमा महोत्तरी जिल्लाको कुनै पनि क्षेत्रमा कसैको एकल दाबेदारी नरहेको र चारवटै निर्वाचन क्षेत्रमा अप्रत्यासित मत परिणाम आउन सक्ने विश्लेषकको बुझाइरहेको छ ।