कुन दिन हाम्रा प्रधानमन्त्रीले आफ्नो जन्मदिनको उपलक्ष्यमा समेत विदा दिन बेर छैन !

२०७४ मंसिर १६ शनिवार
NewsDesk ShikharNews
कुन दिन हाम्रा प्रधानमन्त्रीले आफ्नो जन्मदिनको उपलक्ष्यमा समेत विदा दिन बेर छैन !

सार्वजनिक विदाको चर्को विरोध, विदा दिँदा अर्थतन्त्रमा ठूलो असर पर्छ
काठमाडौं, १५ मंसिर । समाजसेवी एवम् उद्योगपति डा. विरेन्द्र प्रसाद महतोले सरकारले अनावश्यक रुपमा सार्वजनिक विदा दिनु गलत परम्परा भएको भन्दै आलोचना गरेका छन् ।
सरकारले हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिन (बाह् रव्विउल) को अवसरमा आज दिएको विदा असान्र्दर्भिक रहेको महतोको टिप्पणी छ ।

विदाको समयमा पनि आर्थिक एवम् वित्तीय संस्थाहरुमा सुचारु रुपले कार्य सञ्चालन हुनुपर्ने उनको भनाई छ । उनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ,“एक दिन विदा दिँदा देशको अर्थतन्त्र कहाँ पुग्छ भन्ने कुरा विदा दिने कर्ताहरुलाई थाहा छैन, त्यसैले उहाँहरु मनलाग्दी विदाहरु बढाउनमा व्यस्त हुनुहुन्छ, यो अति नै गतल परम्परा हो।”

जात्रापर्व र धार्मिक गुरुहरुको नाममा धेरै विदाहरु दिंदा आर्थिक क्षेत्र नै प्रभावित हुन थालेको महतोको गुनासो छ । महतोले संस्कृति, जात्रा र पर्वहरुमा सार्वजनिक विदा दिने वर्तमान सरकारी व्यवस्थाले नेपालको आर्थिक विकासमा नकारात्मक असर पर्न थालेको समेत स्पष्ट पारेका छन् ।

व्यापार घाटाले मुलुक आक्रान्त वनेको बेला सरकारी कामका सेवाग्राही मात्रै पीडित नभई मुलुकको अर्थतन्त्र नै डामाडोलको अवस्था पुगेको उनको चिन्ता छ । सार्वजनिक विदा बढाउनु गलत हो भने सरोकारवाला निकायहरुले बारम्बार ध्यानाकर्षण गराउँंदै गएको भएपनि सरकारले बेवास्ता गरेकोप्रति उनको गुनासो छ ।

त्यस्तै उनले अब नेपालमा विदा भएका दिनहरुभन्दापनि कुन दिन विदा छैन भनेर क्यालेण्डरमा हेर्नुपर्ने दिन आउन सक्ने भन्दै विदाप्रतिको वितृष्णा पोखेका छन्। उनले थपे,“यदि विदा नदिई नहुने हो भने विदाहरु दिंदा आर्थिक एवम् वित्तीय संस्थाहरुमा सुचारु रुपले कार्य सञ्चालन हुनुपर्छ।” महतोले नेपाल संसारमै धेरै सार्वजनिक विदा दिने मुलुक बनेको टिप्पणी समेत गरे । उनले अनावश्यक रुपमा सार्वजनिक विदा दिन सरकारहरुले प्रतिष्पर्धा गर्दै आएको आरोप समेत लगाएका छन् ।

“मलाई त कता कता शंका लाग्न थालिसकेको छ, कुन दिन हाम्रा नेताहरु खासगरी ठूला पार्टीका अध्यक्षहरु जो सरकार प्रमुख बन्न सक्ने व्यक्तित्वहरु हुनुहुन्छ, जस्तो कांग्रेस सभापति(हालका प्रधानमन्त्री) शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले आफ्नो जन्मदिनको दिन समेत सार्वजनिक विदा दिन बेर छैन्, दिए भने आश्चर्य नमानेहुन्छ।” महतोले भने।

गृहमन्त्रालय हिजो मंसिर १४ गते साँझ जारी गरेको सार्वजनिक सुचनामा भनिएको छ,“उक्त विदाका अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवं विदेशस्थित् नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा दिने भनि निर्णय गरेको छ।”

सरकारले हिजो आज दिएको सार्वजनिक विदाको कुनै औचित्य नभएको र नेपालमा त झनै यसको कुनै महत्व नभएको उनको टिप्पणी छ । महतोले भनेका छन्,“जुन देशमा उनी जन्मिए त्यहाँ कुनै विदा छैन, तर नेपालमा एक्कासी विदा दिईयो, यो कसैले सोचेको पनि थिएन, सरकारले चुनावको मुखमा आएर विदा दिनुमा भोट बढाउने रणनीति लुकेको देखिन्छ।, पार्टीको फाईदाको लागि यसरी अर्थतन्त्रलाई धराशयी बनाउनु गलत हो, म विदा बढाउने सरकारको गलत कार्यको जहिल्यैपनि विरोध गर्छु, र सबै सचेत नागरिकहरुले विरोध गर्न जरुरी छ।”