डिस्चार्ज हुँदै गगन थापाले भने– चुनावी कार्यक्रम नरोक्नुहोस (घाइतेको नामसहित)

२०७४ मंसिर १८ सोमवार
Newsdesk Shikharnews
डिस्चार्ज हुँदै गगन थापाले भने– चुनावी कार्यक्रम नरोक्नुहोस (घाइतेको नामसहित)

काठमाडौं— बम आक्रमणमा परेर घाइते भएका नेपाली कांग्रेसका काठमाडौं-४ मा गगन थापाले सयोगले बाचेको बताएका छन्। उनले दस कदम अघि नभएको भए आफूलाई जे पनि हुनसक्ने बताएका छन्।

घरदैलो कार्यक्रम ढिलो भएपछि छिटोछिटो हिडेको कारण गम्भीर घटनाबाट बचेको अस्पतालबाट डिस्चार्ज हुने क्रममा थापाले प्रतिक्रिया दिएका छन्।

बमको छर्रा लागेर ढाड र कानमा चोट लागेर घाइते भएका उनको टिचिङ अस्पतालको इमर्जेन्सीमा उपचार गराएर फर्केका थिए।

सो क्रममा थापाले निर्वाचन अभियान जारी राख्न कार्यकर्तालाई आग्रह गरेका छन्। उनले मतदातालाई सुरक्षा स्थिति मजबुद छ भन्ने आश्वस्त बनाइदिन सरकारसँग आग्रह गरे।

‘निर्वाचन गतिविधिलाई असर पुगोस् भनेरै हिंसात्मक गतिविधि गराइएका हुन्’, अस्पतालबाट डिस्चार्ज भएपछि थापाले शुभेच्छुकहरुसँग भने, ‘निर्वाचन गतिविधि रोकेमा हिंसालाई अझ बल पुग्नेछ। त्यसैले कुनै पनि निर्वाचन गतिविधि नगरोक्नुहोस्।’ उनले कार्यकर्तालाई आक्रोसित नहुन र संयमता नगुमाउन आग्रह गरे।

यसअघि गगनलाइ भेट्न अस्पतालमा पुगेका एमालेका प्रत्याशी राजन भट्टराईलाई अस्पताल परिसरमा दुर्ब्यवहार गरेका थिए।

घाइते हुनेहरुमा कांग्रेस नेता थापासहित २७ वर्षीय जयराज लामिछाने, ३५ वर्षीय राजकाजी श्रेष्ठ, ४० वर्षीय ध्रुव खड्का, ४७ वर्षीय पूर्णबहादुर श्रेष्ठ, ३२ वर्षीय रेणु बडुवाल, ४७ वर्षीय श्यामकृष्ण श्रेष्ठ, २३ वर्षीय सुमन खड्का, ४४ वर्षीय रवीन्द्र कार्की, ४७ वर्षीय काशीलाल श्रेष्ठ तथा ५२ वर्षीय परशुराम थापा घाइते भएका छन्।