समृद्धिको यात्रा सुरु भयो,अब वामपन्थीको सरकार बन्छ-प्रचण्ड

२०७४ मंसिर २१ बिहीवार
NewsDesk ShikharNews

२१ मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान सात बजे नै भोट हालेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले देश समृद्धिको यात्रामा सुरु भएको बताए । देशमा राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने उनको भनाइ छ।

शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा आफूलाई खुसी र गर्वको महसुस भएको उनले बताए ।

उनले देशमा वामपन्थीको नेतृत्वमा सरकार बन्ने पनि बताए । प्रचण्डले सबैलाई ऐतिहासिक चुनावमा सहभागी हुन अपिल पनि गरे ।