‘…ओली उपप्रधानमन्त्री बन्न सक्नुहुने थिएन’ : माधवकुमार नेपाल

२०७४ पुस २३ आइतवार
NewsDesk ShikharNews

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका ६ जना नेतामध्ये सबैभन्दा भाग्यशाली हुन्, जसले सर्वाधिक लामो अवधि मुलुकको कार्यकारीको कार्यभार सम्हाल्न पाए । १५ वर्षसम्म महासचिव भएर पार्टी हाँकेका नेपालले यतिबेला भने पार्टीमा खासै महफ्वपूर्ण जिम्मेवारी पाएका छैनन् । कतिसम्म भने कुनै बेला माओवादीप्रति उदार भाव राख्ने उनी एमाले–माओवादी गठबन्धन हुँदासमेत पृष्ठभूमिमा देखिएनन् । उनै नेपालसँग माधव बस्नेतले गरेको कुराकानीको सम्पादित अंश:

खासमा यो वाम गठबन्धनको अन्तर्यचाहिँ के हो ?

देशमा राजनीतिक स्थिरता भएन । त्यसको अभावमा समृद्धि हुन सकेन । वामहरू एकताबद्ध भए, एउटै खाले सिद्धान्त, विचार बोक्ने पार्टीहरूका बीचमा एकता भए ३२/३५ वटा पार्टी चाहिँदैन । त्यसैले हामीले थ्रेस होल्डको पनि व्यवस्था गर्‍यौँ । अर्थात्, हामीले विचार मिल्ने पार्टीहरू एकताबद्ध हुने बाटो खोल्यौँ । यस क्रममा विभिन्न पार्टीहरू चुनावी गठबन्धन गर्न थाले । केही पार्टी एकता प्रक्रियामा गए । यही मेसोमा एमाले–माओवादी केन्द्रबीच पनि एकताको तयारीसहित गठबन्धन भएको हो । त्यसैले वाम गठबन्धनको अन्तर्य स्थिरता र समृद्धि हो ।

स्थिरता, सुशासन, समृद्धिको नारा त राणा शासन ढलेदेखि नै सुरु भएको होइन र ?

हो । तर, राणा शासन, पञ्चायत, राजतन्त्रकालमा प्रजातन्त्र/लोकतन्त्र स्थापना, राजनीतिक परिवर्तन नै मुख्य विषय बनिरह्यो । एकपटक राजा वीरेन्द्रले एसियाली मापदण्डको कुरा उठाएर विकास र समृद्धिको पहल गरेको पाइन्छ । राजा वीरेन्द्रको त्यो कदमलाई हामीले अनुचित ठान्नु हुँदैन । त्यसपछि विकास र समृद्धिका कुरा शब्दमा मात्र भए, व्यवहारमा उतारिएन । अब वाम गठबन्धनले भने स्थिरता र समृद्धिलाई जीवन, व्यवहारमै उतार्नेछ ।

गठबन्धनको घोषणापत्र पढ्दा समृद्धिको कुरा हवाई कल्पनाजस्तो लाग्छ त ?

हामीले घोषणापत्र अन्तिम समयमा तयार गर्‍यौँ । त्यसैले सबै मुद्दालाई उठाउन सकेनौँ । तर, यसलाई सकारात्मक के लिनुपर्‍यो भने ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेजस्तो हाम्रो उद्देश्य त्यसमा छ । त्यसलाई हामीले धरातलमा उभिएको परियोजनामा ढाल्न बाँकी छ । अर्थात्, हाम्रो वस्तुस्थितिले धान्न सक्ने र समय सीमाभित्र हुन सक्ने कामका बारेमा नीति, कार्यक्रम र बजेटमा समेट्नु छ ।

के वाम गठबन्धन हुँदैछ भन्ने तपार्इंलाई जानकारी थियो ?

वाम गठबन्धन हुनुपर्छ भन्ने आवश्यकताबोध भइरहेको थियो । यो त्यतिबेलाको कुरा हो, जतिबेला एमाले–माओवादीको सरकार ढल्यो र कांग्रेस–माओवादीको सरकार बन्यो । त्यसबेलामा पनि दुवै पार्टीलाई एक ठाउँमा उभ्याउनुपर्छ भनेर म लागिपरेको थिएँ ।

माओवादीप्रति ‘सफ्ट कर्नर’ राख्ने तपाईं आफैँ शक्तिशाली महासचिव भएका बेला गठबन्धन/एकता भएन तर कडा दृष्टिकोण राख्ने केपी ओलीले गर्नुभयो, यो कसरी भयो ?

माओवादी शान्ति प्रक्रियामा आएपछि ०६३ को अन्त्यतिर बानेश्वरमा दुई पार्टीको बडो महत्त्वपूर्ण बैठक बस्यो । त्यो बैठक इतिहासमा दर्ज गर्नुपर्ने विषय हो । त्यस बैठकमा मैले नै दुई पार्टीलाई एक बनाउने प्रस्ताव राखेको थिएँ । अहिले पनि माओवादीका नेताहरू प्रचण्ड वा मोहन वैद्यले ‘तपार्इंले त्यतिखेर राख्नुभएको प्रस्ताव नै अहिलेको एकताका लागि प्रस्थान विन्दु बन्यो’ भनेर चर्चा गर्नुहुन्छ ।

त्यो प्रयासले त्यतिखेरै मूर्त रूपचाहिँ किन नपाएको ?

सम्भवत: त्यसको आवश्यकताबोध सबै पक्षले गर्न सकेनन् । जबसम्म ‘इन्टरनल रियलाइजेसन’ हुँदैन, तबसम्म गाह्रो हुन्छ ।

वाम गठबन्धनमा एक–अर्काबीचको भित्री सहमति खासमा के हो ?

अहिले सिटको चुनावी तालमेल गरौँ, चुनावको परिणामपछि दुईवटै पार्टीलाई एकताबद्ध बनाउने गरी अघि बढौँला भन्ने सहमति भएको थियो ।

पार्टी एकता कहिलेसम्म होला त ?

अब यो प्रक्रिया अघि बढ्छ । मेरो प्रस्ताव छ, विचारका बारेमा छलफल गर्न पनि एउटा टिम बनाउनुपर्छ । संगठनात्मक व्यवस्थापन गर्न पनि एउटा टिम बनाउनुपर्छ । दुवैले आवश्यक गृहकार्य गर्नुपर्छ । बीचको अवधिमा एकताबद्ध गर्न एउटा कोर टिम गठन गर्ने, त्यसपछि क्रमश: तलतल जाँदै र विधि तय गर्दै अघि बढ्नुपर्छ ।

तर, अहिले नै पहिले एकता कि सत्ता भनेर अन्तरविरोध सुरु भइसक्यो, एकता कति टिकाउ होला ?

प्रतिनिधिसभाको परिणामको घोषणा भएको ३५ दिनभित्र सरकार बनाई सक्नुपर्ने संवैधानिक बाध्यता छ । तर, पार्टी एकताका लागि यस्तो सीमा छैन । त्यसकारण एकताका लागि केही समय लिइहाल्यो भने पनि आत्तिनुपर्ने छैन । जहाँसम्म कति टिक्ने भन्ने सवाल छ, एउटा शक्ति बनिसकेपछि आमजनता, कार्यकर्ताको भावनाभन्दा टाढा कोही जान सक्तैन । जो टाढिन्छ, ऊ एक्लिन्छ, सकिन्छ ।

जनताको बहुदलीय जनवाद र माओवादको मेलचाहिँ कहाँनेर हुन्छ ?

माओवादी साथीहरू जनताको बहुदलीय जनवादको ठाउँमा त घुमिफिरी आइसक्नुभएकै छ, २१औँ शताब्दीको जनवादका नाममा होस् वा जेसुकै भनेर होस् । अहिलेको संविधानलाई मानेर आइसकेपछि बहुदलीय प्रतिस्पर्धामा उहाँहरू आइसक्नुभएको छ ।

तपाईं महासचिव, प्रधानमन्त्री भइसक्नुभएको व्यक्ति अहिले खासै सक्रिय भूमिकामा देखिनुहुन्न नि ?

मैले जे जिम्मेवारी पाउँछु, बडो सक्रियतापूर्वक लाग्छु । अहिले एमालेको विदेश विभाग प्रमुख छु । विदेश विभागका तर्फबाट गर्नुपर्ने काम धमाधम गरिरहेको छु । पार्टी एकता संयोजन समितिको सदस्य छु । एकतामा समस्या केही छ कि भनेर हटाउन/पन्छाउन उत्तिकै सक्रिय छु ।

अब तपाईंको भूमिका के हुन्छ, राष्ट्रपति, पार्टी अध्यक्ष वा अरू ?

म पदका लागि मरिहत्ते गर्ने पात्र होइन, परिवर्तनका लागि खटिने व्यक्ति हुँ ।

तर, तपार्इंमाथि पदका लागि मरिहत्ते गर्ने नेता भन्ने संगीन आरोप छ नि ? जस्तो : प्रधानमन्त्री हुनका लागि राजा ज्ञानेन्द्रका पाउमा दाम चढाएको, दरबारमा दर्खास्त हालेको, १५ वर्ष महासचिव भएर पनि फेरि अध्यक्षको प्रत्याशी भएको आदि इत्यादि ।

पहिलो कुरा राजालाई दाम चढाएको भन्नेबाटै गरौँ, गिरिजाप्रसाद कोइरालालगायत जो–जो त्यहाँ गएका छन्, सबैले त्यसै गरेका थिए । किनभने, त्यो व्यक्तिको कुरा नभएर विधिको कुरा थियो । जापानी सम्राट्सँगको भेटमा उहाँहरूले मलाई झुकेर सम्मान गर्नुभयो । मैले पनि झुकेरै नमस्कार गरेँ । जहाँ जस्तो चलन छ, त्यस्तै हुन्छ । नेपालमा राजासमक्ष जाँदा हात मिलाउने चलन थिएन । त्यसबेला राजालाई बधाई दिने चलन थियो, त्यही गरेको हो मैले । पाउमा दाम चढाएको नभएर राजाको सम्मान गरेको हो ।

गिरिजाप्रसाद कोइरालाले जे गर्नुभयो, मैले पनि त्यही गरेको हुँ । तर, कोइरालाले गरेको चर्चाको विषय भएन । रामचन्द्र पौडेलले पनि त्यही गर्नुभएको थियो । मदन भण्डारीले पनि ‘महाराज–हजुर’कै भाषा प्रयोग गर्नुभएको थियो । तर, मलाई मात्र खेद्ने काम भयो ।

दरबारमा निवेदन हालेको नि ?

प्रधानमन्त्रीका लागि मेरो नाम गिरिजाप्रसाद कोइरालाले प्रस्ताव गर्नुभएको हो । सात दलका नेताहरूले गर्नुभएको हो । किनभने, हाम्रो सर्त सातै पार्टीले सिफारिस गरेको व्यक्ति प्रधानमन्त्री बन्ने भन्ने थियो । राजाले निहुँ खोज्न सक्छन् है भनेर मलाई भन्ने पनि कोइराला नै हो । त्यहाँ ‘नियुक्ति गरिबक्स्योस्’ लेखेको छैन । प्रधानमन्त्रीको दाबी सम्बन्धमा लेखिएको छ । पार्टी अध्यक्षका सन्दर्भमा कार्यकर्ताबाट पटक–पटक आग्रह गरेपछि मात्रै लडेको हो ।

पदप्रति आशक्ति छैन भन्न खोज्नुभएको ?

पहिलो संविधानसभामा दुई ठाउँबाट पराजित भएपछि मैले पटक–पटक संविधानसभामा जान अस्वीकार गरेको थिएँ । तर, तीन–तीनपटक एमाले केन्द्रीय समिति बैठक बसेर र माओवादी अध्यक्ष प्रचण्डले उहाँको पार्टीका तर्फबाट पत्र लेखेर आग्रह गरेपछि बल्ल संविधानसभामा गएको हुँ । प्रधानमन्त्रीबाट पनि मलाई कसैले राजीनामा दिनु भनेका थिएनन् । सुजाता कोइराला, विजय गच्छदारलगायतले नदिनु भन्दाभन्दै पनि मैले राजीनामा दिएको हुँ । त्यसैले मैले पदको लोभ कहीँ देखाएको छैन ।

तपाईंलाई अहिले पार्टी अध्यक्ष केपी ओलीले महत्त्व दिनुभएको देखिन्न । महासचिव भएका बेला उहाँलाई तपार्इंले वास्ता नगर्नुभएकाले उहाँले पनि त्यस्तै गर्नुभएको भन्छन्, हो ?

मैले ओलीजीलाई महत्त्व नदिएको भन्ने त लाग्दैन । म महासचिव हुँदा हाम्रो पार्टीभित्र ओलीजी, झलनाथ खनालजी र मेरो तीन जनाको टिम थियो । त्यो व्यवस्था मैले नै गरेको थिएँ । कमिटीको बैठकभन्दा बाहिर निर्णय गर्नुपर्‍यो भने हामी तीन जनाको सल्लाहमा हुन्थ्यो । ०६२/६३ को जनआन्दोलनपछिको सरकारमा पार्टीभित्र सबैको विरोधका बीच पनि ओलीजीलाई उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको प्रस्ताव राख्ने मै हुँ । मैले प्रस्ताव राखेको थिइनँ भने उहाँ उपप्रधानमन्त्री बन्न सक्नुहुने थिएन । पार्टीको सातौँ महाधिवेशनपछि ओलीजीले नै भनेको हुनाले, उहाँकै प्रस्तावमा मैले करिब एक दर्जनलाई केन्द्रीय समितिको सदस्य मनोनीत गरेको हुँ । त्यसैले मैले ओलीलाई महत्त्व दिएको थिइनँ भन्नेमा सत्यता छैन ।

तर, ओलीले तपाईंलाई खासै महत्त्व दिनुभएको छैन त ?

अब उहाँले महत्त्व दिनुभयो/भएन, उहाँले नै सोच्ने कुरा हो । तर, कसैले कसैलाई महत्त्व नदिएर कसैको फाइदा हुँदैन । पार्टीलाई नोक्सान पुग्छ । सबैले सबैको क्षमता, योग्यता र व्यक्तित्वको राम्रो कदर गर्‍यो भने सबैको कदर सबैले गर्छन् । किनभने, आफूले सम्मान पाउन पनि अरूको सम्मान गर्न जान्नुपर्छ ।

साभार: नेपाल