आफ्नै गढमा किन ढल्यो कांग्रेस ?




२०७४ पुस २४ सोमवार
NewsDesk Shikharnews

धर्मेन्द्र झा

प्रदेश नं. २ का आठ जिल्लामा सम्पन्न सबैखाले प्रत्यक्ष निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतपरिणामअनुसार सम्बद्ध दलले व्यक्ति तोक्न बाँकी छ । नेपाली काँग्रेसले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सय सिट जित्ने रणनीति बनाए पनि उसले सोचेजस्तो परिणम भने प्राप्त गर्न सकेन । स्थानीय तहको निर्वाचनमा काँग्रेस प्रदेश २ मा पहिलो दल बने पनि समग्रमा भने पहिलो दल बन्ने रणनीति असफल रहको स्पष्ट नै छ । यस्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम पनि कांग्रेसले अपेक्षा गरेअनुरुप छैन । समग्रमा कांग्रेसको पक्षमा परिणाम निराशाजनक रहेको मान्न सकिन्छ । यस प्रदेशमा प्रदेशसभातर्फ ६४ मध्ये कांग्रेसका कूल आठजना निर्वाचित हुन सके भने प्रतिनिधिसभातर्फ ३२ मध्ये कूल ७ जना कांग्रेसी उम्मेदवारले मात्र आफूलाई सुरक्षित बनाउन सके । कांग्रेसको सबैभन्दा ठूलो पराजय प्रदेशसभाका सन्दर्भमा भएको मान्न सकिन्छ । विगतमा कांग्रेसको गढ मानिदै आएको धनुषामा भोग्नु परेको पराजयलाई उदाहरणका रुपमा ग्रहण गर्न सकिन्छ । यो पराजय यस पार्टीका लागि आफ्नै गढमा धराशायी बनेकोजस्तो प्रमाणित भएको छ ।

धनुषामा प्रदेशसभामा कांग्रेसका जिल्ला सभापति रामसरोज यादवले समग्र पार्टीको इज्जत जोगाएका छन् । यहाँ कांग्रेसले प्रदेशसभाको आठमध्ये सात स्थानमा पराजय बेहोरेको छ । यस्तै अवस्था अन्य जिल्लाका सन्दर्भमा पनि छ । यसैगरी प्रतिनिधिसभातर्फ कांग्रेसका ‘हेभिवेट’हरुले पराजय वेहोर्न बाध्य हुनुपर्दा धनुषा, महोत्तरी, पर्साजस्ता कांग्रेसको ‘विरासत’ मानिने जिल्लामा प्रतिनिधिसभाका लागि कांग्रेसी प्रतिनिधित्व शून्यमा झर्न पुगेको छ । यो अलग कुरा हो कि, प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक मतपरिणामले कांग्रेसको प्रतिष्ठा धानिएको छ । तर दुखद छ, समानुपातिक उम्मेदवारको सूची विश्लेषण गर्दा यसमा कोही पनि काग्रेसका ‘आधार’लाई भावी दिनमा वल पुर्याउन सक्ने क्षमताका देखिँदैनन् । यस्तोमा भावी दिनमा यस प्रदेशमा कांग्रेसको संगठन प्रतिकूलरुपमा प्रभावित हुन सक्ने सम्भावना छ भन्ने निष्कर्ष निकालियो भने त्यो असंगत हुने छैन ।

प्रदेश नम्बर २ को निर्वाचनमा धनुषा र पर्साको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको थियो । पर्सामा बीरगंज महानगरपालिका अवस्थित छ भने धनुषामा यसप्रदेशको सम्भावित राजधानी जनकपुर उपमहानगरपालिका अवस्थित छ । यी दुवै ठाउँलाई यस प्रदेशको निर्वाचनका सन्दर्भमा ‘इपीसेन्टर’ मानिएको थियो । सबैको चासो थियो यहाँको परिणामबारे । नेपाली काँग्रेसले यी दुबै स्थानमा पराजयको सामना गर्नु परेको छ । धनुषा ३ बाट प्रत्याशी कांग्रेसका प्रभावशाली नेता पूर्व उपप्रधानमनत्री विमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग पराजित हुनु पर्यो । धनुषाबाट पराजित हुनेमा दुई वहालवाला मन्त्री रामकृष्ण र महेन्द्र यादव पनि हुन् । यस्तै पर्साबाट कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल र अजय द्विवेदीलगायतका थिए । उता मधेशकेन्द्रित दलका सबैजसो ‘हेभिवेट’हरु चुनावमा विजयी भएका छन् । यसले स्पष्टतः कांग्रेसले स्थानीय जनताको ‘मूड’को आँकलन गर्न नसकेको स्पष्ट हुन्छ ।

हरेक लोकतान्त्रिक आन्दोलनमा अहम भूमिका निर्वाह गरेको इतिहास जनकपुरले बोकेको छ । तत्कालीन राजा महेन्द्रमाथि बम फ्याल्नेदेखि २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा जनकपुरले प्रमुख भूमिका निर्वाह गरेको इतिहास साक्षी छ । विगतको मधेश आन्दोलनको केन्द्र मानिएको वीरगञ्जको इतिहास पनि यस्तै छ । ०७ सालको आन्दोलनताका मुक्ति सेनाको आधारस्थल वीरगञ्ज प्रायः सँधै कांग्रेसको केन्द्रका रुपमा चर्चित रहेको विदितै छ । धनुषा र पर्सालाई काँग्रेसको गढ भनेर परिभाषित गर्ने गरिन्छ । यद्यपी स्थानीय तह निर्वाचनमा धनुषाका १८ स्थानीय तहमध्ये ८ स्थानमा कब्जा गर्न सफल भएर काँग्रेसले केही हदसम्म आफ्नो गढ हुनुको परिचय त जोगाउने प्रयास गरेको छ तर जनकपुरको स्थानीय तहको र समग्रमा धनुषाको संसदीय तथा प्रादेशिक तहको परिणाम आफ्नो पक्षमा निकाल्न नसक्दा गढमा समस्या उत्पन्न हुनुको पीडा सँगाल्न बाध्य हुनुपरेको छ । यस्तै वीरगञ्जको परिणाम पनि निकाल्न नसक्दा कांग्रेस निश्चय पनि समस्याग्रस्त बनेको बुझ्न सकिन्छ । यसैगरी यस प्रदेशमा कांग्रेसको विरासत भनेर चिनिएका अन्य जिल्ला सप्तरी र सिरहामा कांग्रेसले प्रतिनिधिसभाका लागि एक÷एक स्थानमा चित्त बुझाउन बाध्य हुनु परेको छ । यता तुलनात्मकरुपले मधेशकेन्द्रित दलका नेताको गढ मानिने सर्लाही (यहाँ राजपाका अध्यक्ष मण्डलका तीन जना सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवको वसोवास छ) मा प्रतिनिधिसभाका लागि दुईवटा जित निकालेको छ । यस्तै राजपाका अर्का अध्यक्ष अनिल झाको गृह जिल्ला रौतहटमा पनि कांग्रेसले सन्तोष गर्न सक्ने अवस्था छ । यसबाट के बुझ्न सकिन्छ भने जनताको मतदानको मनोविज्ञानमा परिवर्तन देखिएको छ । सम्भवतः कांग्रेसले यो कुरा सम्झन सकेन । सर्लाही आधार भएका राजपाका दुईजना नेता महन्थ ठाकुरले महोत्तरी गएर र राजेन्द्र महतोले धनुषा गएर आफ्नो प्रतिष्ठा जोगाए । यसै गरी राजपाका अर्का नेता शरत्सिंह भण्डारीले पनि पुरानो क्षेत्र परिवर्तन गरे भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि क्षेत्र परिवर्तन गरे । सम्भवतः यी नेताहरुले आफ्नो परम्परागत क्षेत्रमा आफू असुरक्षित भएकै अनुभव गरेर क्षेत्र परिवर्तन गरेका हुन् भन्नेमा शंका छैन । तर अर्कोतर्फ कांग्रेसका नेताले यस्तो आँकलन र पूर्वानुमान नै गर्न सकेनन् । सिरहामा प्रदीप गिरीले सम्भवतः यस्तो मनोवृत्तिको आँकलन गर्न सफल भए र क्षेत्र परिवर्तनको रणनीति उनको विजयका लागि सहयोगी बन्न सक्यो । यसले के बुझ्न सकिन्छ भने, जनता आफ्ना उम्मेदवारको अनुहारमा परिवर्तन चाहन्छन् । सँधै एकै खालका उही अनुहारका नेताबाट मतदाता विरक्तिएका हुन सक्छन् र यसको प्रभाव निर्वाचन परिणाममा पर्न सक्छ भन्ने कुराको उदाहरण प्रदेश दुईको निर्वाचन हो । सम्भव थियो, कांग्रेसले जनताको यो चुनावी मनोवृत्तिको विश्लेषण गर्न सकेको भए परिणाममा फरक पर्न सक्थ्यो ।
निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै यस प्रदेशमा राजनीतिक वृत्तदेखि सर्वसाधारणबीच काँग्रेसको पराजय गम्भीर चर्चाको विषय बनेको छ । मधेशलाई आफ्नो कर्मभूमि भन्दै आएको नेपाली काँग्रेसले आखिर यी ठाउँमा किन पराजय भोग्नु प–यो ? अझ जनकपुर र धनुषाको पराजय त कांग्रेसका लागि विशेष चासोको विषय बनेको छ । यस प्रदेशमा यी पराजयहरु अहिले व्यापक छलफलका विषय बनेका छन् । चिया पसलदेखि पान पसलसम्म सर्वसाधारणहरुले काँग्रेस पराजय हुनुको कारण खतोल्दै छन् ।

मधेश आन्दोलनको राप र तापबीच भएको निर्वाचनमा काँग्रेस पराजय हुनुको एक कारण काँग्रेस आफै रहेको कुरा पनि सुनिने गरिएको छ । युद्ध जित्न जसरी रणनीति बनाइन्छ चुनावको लागि पनि रणनीति आवश्यक हुन्छ । नेताहरुको रणनैतिक कुटिलता निर्वाचनको क्रममा देखिएन । टिकट वितरणमा आर्थिक चलखेलदेखि नातागोता तथा आफूनजिककाले मात्र टिकट पाएको काँग्रेस कार्यकर्ताबीच व्यापक चर्चा छ । समानुपातिकको सूचीमा पनि चलखेल भएको मानिएको छ । यति हुँदाहुँदै पनि कांग्रेसको सागठनिक मतमा भने खासै फरक परेको छैन । लोकप्रीय मत अझै पनि कांग्रेसकै पक्षमा बढी छ । एउटा कुरा त के हो भने, दुई ठूला बामपन्थीले गठवन्धन बनाएर चुनाव लडनु पनि कांग्रेसको पराजयको कारण बन्न पुग्यो । संगै नेकपा एमाले चुनावी रणनीतिमा अव्वल सावित भएको निष्कर्ष निकाल्न सकिन्छ । प्रदेशमा तुलनात्मकरुपमा सन्तोषजनक अवस्थामा रहेको एमालेले गठवन्धनका उम्मेदवार कमजोर देखिएको स्थानमा मधेशकेन्द्रित दलका उम्मेदवारलाई सहयोग गरेको कुरा मतगणनाको प्रकृति विश्लेषणका आधारमा अनुमान गर्न सकिन्छ । विगतमा सँधै निकटतम प्रतिस्पर्धी बन्दै आएको क्षेत्रमा यसपटकका गठवन्धनका उम्मेदवारले अत्यन्त न्यून मत प्राप्त गर्नुले यस अनुमानलाई वल प्रदान गर्दछ । अर्कोतर्फ कांग्रेसले सीट बाँटफाँडका कारण लोकतान्त्रिक गठवन्धनलाई सफल बनाउन सकेन । यस कारण दुई मुख्य मधेशी दल राजपा र संघीय समाजवादी फोरम (ससफो) संगठित भएर चुनावमा होमिए । यसको परिणाम पनि कांग्रेसका लागि प्रत्युत्पादक सिद्ध हुन पुग्यो । यस सन्दर्भमा पनि कांग्रेसले उचित रणनीति बनाउन नसक्नु उसको पराजयको अर्को कारण बन्न पुग्यो । कांग्रेसले सप्तरी २ मा ससफोका नेता उपेन्द्र यादवलाई र महोत्तरी ३ मा राजपाका नेता महन्थ ठाकुरलाई, आफ्ना उम्मेदवारलाई ‘शहीद’ बनाएर समर्थन गर्यो । यी दुवै नेताले जिते तर कांग्रेसले यी दुवै दलबाट कुनै पनि निर्वाचन क्षेत्रमा सहयोेग र समर्थन प्राप्त गर्न सकेन । यसलाई कांग्रेसको रणनीतिक चूक किन नभन्ने ? यस्तै कांग्रेसले विकासका मुद्दालाई संस्थागत गर्न नसक्नु, मधेश आन्दोलनमा आफ्नो भूमिकाबारे मतदातालाई स्पष्ट गर्न नसक्नु र केही हदसम्म मतदानमा जातीय रुझानको आँकलन गर्न नसक्नु पनि उसको पराजयको कारण बन्न पुगेको हो भन्दा अतिशयोक्ति हुँदैन ।

निर्वाचनको टिकट वितरणमा सन्तुलन मिलाउनु पनि चुनौती थियो काँग्रेससामु । र, सम्भवतः यस चुनौतीमा ऊ खरो उत्रन सकेन । वडादेखि प्रदेश र केन्द्रसम्मको टिकट वितरणको किचलो काँग्रेसको हारको प्रमुख कारणमध्ये एक हो भन्दा असत्य हुँदैन । टिकट वितरणमा जे जस्ता असन्तुष्टिहरु भएपनि ती पार्टीका आन्तरिक कुरा हुन । यसबारे भविष्यलाई दृष्टिगत गरी पार्टीभित्र छलफल गरेर निक्र्यौल निकाल्न सकिन्छ । दुखका साथ भन्नुपर्छ, आफ्नो पार्टी जित्नुपर्ने भावना काँग्रेसजनमा प्रवल रहको पाइएन । यस्तै चुनाव प्रचार—प्रसार, कार्यकर्ता परिचालन, रणनीति निर्माण, विरोधीको काटलगायतका कुराहरु निर्माण गर्न जिल्ला तहका नेतृत्वले खासै चासो नदेखाएको गुनासाहरु पनि छन् । काँग्रेसले अन्तर्घातको जरोलाई अझै पनि उखेल्न सकेको छैन् । समानुपातिकतर्फका केही उम्मेदवार पनि आफ्नै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध भित्रिरुपमा सक्रिय रहेको चर्चा यतिखेर प्रदेशभरि छ । मधेशलाई आधार भूमि बनाएर सदैव राजनीति गर्दै आएको नेपाली काँग्रेसले यस्ता कमी कमजोरी नसच्याए आगामी दिनमा हुने निर्वाचनहरुमा थप समस्या झेल्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।सम्वद्ध सबैलाई हेक्का हुनु जरुरी छ ।