महासंघलाइ दुई लाख ५० हजार सहयोग

२०७४ पुस २५ मंगलवार
Newsdesk Shikharnews

बागलुङ, २५ पुस । नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणमा उद्योग वाणिज्य संघ बागलुङले रु दुई लाख ५० हजार सहयोग गरेको छ ।

संघद्वारा हालै आयोजित बागलुङ महोत्सवको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरिएको संघका अध्यक्ष जयराम भारीले बताउनुभयो । पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले सरकारी, निजी क्षेत्रलगायत सबैतिरबाट प्राप्त सहयोगले आफूहरु उत्साहित भएको यबताउनुभयो । स्थापना भएको १९ वर्षपछि पत्रकार महासंघ बागलुङको आफ्नै भवन बन्दैछ । रु एक करोडको लागतमा बन्ने भवनको ५० प्रतिशत काम पूरा भएको छ ।

चालु आवभित्रै तीन तले भवनको सबै काम पूरा गर्ने योजना रहेको शाखा अध्यक्ष शिरीषले बताउनुभयो । बागलुङ नगरपालिका–२ मा निर्माणाधीन भवनमा आधुनिक सूचना केन्द्र, सभाकक्षलगायत संरचना बन्नेछन् । भवन निर्माणका लागि शाखाले गत वैशाखदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ नामको आर्थिक अभियान चलाएको छ । उक्त अभियानबाट रु ३० लाख संकलन भएको शाखाले जनाएको छ । महासंघका पदाधिकारी, सल्लाहकार, पूर्वअध्यक्ष, केन्द्रीय पार्षद्, प्रादेशिक पार्षद् र साधारण सदस्यबाट मात्र रु सात लाख संकलन भएको छ ।

जिल्लाका १० वटै स्थानीय तहबाट पनि भवन निर्माणमा रु ३० लाख आर्थिक सहयोग जुटेको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकाले रु १० लाख विनियोजन गरेको छ ।सूचना तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालयलगायत निकायमा पनि सहयोगका लागि समन्वय भइरहेको छ । विदेशमा रहेका नेपालीले पनि स्वेच्छिक रुपमा सहयोग गरिरहेका छन् । आफ्नै भवन नहुँदा भाडाको कोठाबाट महासंघ चलाउनुपर्ने बाध्यता छ ।

शिखर न्युजकाे बिशेष अन्तर्वाता पनि हेर्नुहाेस