जनवादी गायक जीवन शर्मा पार्टी एकता र फुटको संस्कृतिबारे यसो लेख्छन्

२०७४ पुस २७ बिहीवार
NewsDesk Shikharnews

 जीवन शर्मा

अहिले नेपालमा ‘कम्युनिस्ट’ एकताको चर्चा शिखरमा छ । नेकपा (माओवादी–केन्द्र) र नेकपा (एमाले) बीचको एकताको प्रसङ्गले देशभित्र र विदेशमा नेपालप्रति चासो राख्ने समुदायका बीचमा तरङ्ग फैलाई रहेको छ । के यी दुई पार्टीबीच दलीय एकता होला या त्यो केवल चुनावी तालमेलमा मात्र सीमित भएर पानीको फोका सरह हुने छ । यो कुरा निकट भविष्यमै सबैका अगाडि प्रष्ट भएर आउने छ । अर्कातर्फ, क्रान्तिकारी कम्युनिस्ट ध्रुवीकरणको प्रसङ्ग पनि चली रहेको छ । तर त्यसले त्यति चर्चा पाएको छैन । पार्टीहरू कसरी बन्छन् ? कसरी विकसित हुन्छन् र कसरी विलय हुन्छन ? यसबारे यहाँ सङ्क्षिप्त चर्चा गरिएको छ ।
कुनै पनि सङ्घ÷संस्था, व्यक्तित्व वा राजनीतिक दलको उदय, उत्थान र पतनका पछाडि त्यसले अपनाउने संस्कृति, विचार, सिद्धान्त र दर्शनको महत्वपूर्ण भूमिका हुन्छ । आजको दुनियाँ एकातिर, प्रजातान्त्रिक मूल्य–मान्यता, दर्शन र सिद्धान्त तथा अर्कातिर, साम्यवादी दर्शन, विचार र सिद्धान्त गरी विश्व जनमत मूलतः दुई मान्यतामा विभक्त छ । यिनै दुईथरि दर्शन, विचार र सिद्धान्तका आधारमा बिसौँ शताब्धीको मध्यतिर नेपालमा राजनीतिक दलहरूको उदय भयो । १९४६ (२००३ माघ १२ र १३ गते) नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेस मिलेर नेपाली काङ्ग्रेस पार्टीको गठन भयो । त्यसको तीन वर्षपछि १९५० मा (२००६ वैशाख १० गते) नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो ।
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा यी दुई परिघटनाहरू अति नै महत्वपूर्ण सावित भए । स्थापना कालदेखि नै यी दुवै पार्टीहरूले कहिले खुला र कहिले भूमिगत हुँदै आफ्नो राजनीतिक यात्रा अगाडि बढाई रहेका छन् । मूलतः यिनै दुई सङ्गठनहरूका अवयवहरू नै यो वा त्यो प्रकारले सत्तरी वर्ष पुगी सक्दा पनि अहिको नेपाललाई डोहोर्याउन क्रियाशील छन । पञ्चायती शासन कालमा बाहेक कहिले फुट्दै र कहिले जुटदै यिनै पार्टीहरूले नेपालमा लामो समय शासन गरी रहेका छन् । यी पार्टीहरूको जति लामो यात्राको इतिहास छ, त्यति नै बढी फुट र जुटका घटना छन् ।
पार्टीहरू किन फुटछन ?
विश्वभरिको दलगत इतिहास केलाउँदा विभिन्न देशका विभिन्न नामका पार्टीहरू कहिले फुट्ने र कहिले जुट्ने गरेको पाइन्छ । यस्तो फुट र जुटका पछाडि विभिन्न कारकहरूको भूमिका हुन्छ । तीमध्ये मुख्य गरेर दुई वटा कारक तत्वहरूले सबैभन्दा बढी काम गरेका हुन्छन् । प्रथम स्वार्थको कारण र दोस्रो सैद्धान्तिक कारण । बिसौँ शताब्दीको सुरुमा रूसको सोसल डेमोक्रेटिक पार्टीमा आएको फुट र एकताका पछाडि मूलतः सैद्धान्तिक कारणहरूले बढी काम गरेको पाइन्छ । त्यो समय भनेको सिद्धान्त निर्माणको युग थियो । तत्कालीन समयमा सबै माक्र्सवाद नजिकका विचारकहरूलाई उछिनेर लेनिनले वोल्सेभिक सिद्धान्त विकसित गर्नु भयो । यसले सोसल डेमोक्रेटिक पार्टी फुटेर अन्य कारणले बनेका दर्जनौँ राजनीतिक पार्टीलाई समेटेरपछि एउटा सशक्त बोल्सेभिक कम्युनिस्ट पार्टी विकसित गर्यो । संसारभरि यही सिद्धान्तको आधारमा समाजवादी क्रान्ति अघि बढे ।
चीनको कम्युनिस्ट पार्टीभित्र माओत्सेतुङको नेतृत्व स्थापित भएपछि विश्व सर्वहारा वर्गले नयाँ विचारधारा प्राप्त गर्यो । पूँजीवादको विकास भई नसकेका औपनिवेशिक र सामन्ती शोषणमूलक अर्थव्यवस्था भएका देशमा क्रान्ति सम्पन्न गर्न माओले माक्र्सवाद–लेनिनवादमा आधारित नयाँ विचारधारा विकसित गर्नु भयो । यसले चीनमा विशाल कम्युनिस्ट पार्टी निर्माणका निम्ति सैद्धान्तिक आधारभूमि प्रशस्त बनाई दियो । चिनियाँ सामन्तवाद र जापानी साम्राज्यवादका विरुद्ध सशस्त्र सङ्घर्ष गरेर नौलो जनवादी व्यवस्था ल्याउन माओ विचारधाराको अद्वितीय भूमिका छ । चीनमा जनवादी क्रान्ति सम्पन्न भएपछि विश्वभरिका अविकसित मुलुकमा यही विचारधाराको आधारमा क्रान्तिकारी पार्टी निर्माण हुँदै गए, क्रान्ति सम्पन्न हुँदै गए ।
विश्व कम्युनिस्ट आन्दोलन तीव्र गतिमा अघि बढ्दै गर्दा समयक्रमसँगै रूसको कम्युनिस्ट पार्टीमा संशोधनवादी धार देखा पर्यो । यो धार विकसित हुँदै गएर पार्टी र सोभियत सत्तामा ठुलो विचलन आयो । यसरी आएको सैद्धान्तिक विचलन रोक्न माओले ठुलो कसरत गर्नु भएको थियो । तर त्यो प्रयास सफल हुन सकेन । यसरी रूसी साम्यवादी धारामा आएको विचलनपछि विशेष गरेर स्तालिनको निधनपछि रूस र चीनका कम्युनिस्ट पार्टीबीच ठुलो सैद्धान्तिक बहस सुरु भयो । त्यसले संसारभरिका कम्युनिस्ट पार्टीहरू दुई शिरामा विभक्त हुँदै गए । रूस समर्थक र चीन समर्थक पार्टीहरू भएर विश्व कम्युनिस्ट आन्दोलन दुई चिरामा विभाजित भयो । एउटै देशका कम्युनिस्ट पार्टीभित्र पनि दुई चिरा देखा पर्यो । माओको नेतृत्वमा क्रान्तिकारी विचारधारा बोकेका पार्टीहरू एउटा पङ्क्तिमा लामबद्ध भए । अर्कातर्फ, ख्रुस्चेभको नेतृत्वमा संशोधनवादी पार्टीहरू उभिए । विश्व कम्युनिस्ट आनदोलनभित्र फुटको सिलसिला यही कारणसम्म मात्र सीमित रहेन ।पछि गएर पदीय स्वार्थ र अन्य स्वार्थवश पनि पार्टीहरू फुट्न थाले । यस्तो फुटलाई कुनै न कुनै सैद्धान्तिक जलप दिएर कार्यकर्तामा भ्रम पार्ने प्रयास गरियो । सिद्धान्तविहीन एकता वा फुट सही सङ्गठनको विकासका लागि घातक हुन्छन । यस्तो एकता या फुटले पार्टी र कार्यकर्तालाई या त गलत ठाउँमा पुराउँछ या समाप्त पार्छ । संसारभरिका धेरैजसो कम्युनिस्ट पार्टीहरू अहिले यही प्रकृतिको एकता वा फुटको प्रकृयाबाट गुज्री रहेका छन् ।
जीवहरूको उत्पत्तिको इतिहास हेर्दा एक कोषीय जीवको फुटबाट जीवनको विस्तार भएको पाइन्छ । प्राकृतिक जगतमा फुटको अर्थ विकास भन्ने हुन्छ । तर सङ्गठनभित्रको व्यक्तिगत स्वार्थवश उत्पन्न हुने असैद्धान्तिक कचिङ्गल र फुटले प्रायः त्यसको विकासमा अवरोध पैदा हुने र शक्ति छिन्नभिन्न हुने स्थिति सिर्जना हुन्छ । नेपालका दलहरूको इतिहास अवलोकन गर्दा जुटकोभन्दा फुटको प्रकृया नै तीव्र छ । समग्र दलगत फुटको शृङ्खला नियाल्यौँ भने सबैभन्दा बढी फुट्ने र जुट्ने गरेका पार्टी ‘कम्युनिस्ट’ पार्टी देखिन्छन । नेपाली काङ्ग्रेस सबैभन्दा कम फुट्ने गरेको पार्टी हो । कम्युनिस्ट पार्टी फुटी रहने र काङ्ग्रेस पार्टी नफुट्ने कुराको वस्तुगत कारण के हुन सक्छ । यसको सांस्कृतिक पाटो के होला ? कम्युनिस्ट पार्टीको आन्तरिक व्यवस्थापनमा के कमजोरी रहे ? यसको नेतृत्व र कार्यकर्ताबीचको अन्तर्सम्बन्धको आधार के कस्तो बन्यो ? आदि–इत्यादि कुराहरूको विश्लेषणबाट पार्टी फुटका कारण ठम्याउन सजिलो हुने छ ।
अन्तरपार्टी अस्वस्थ खेल
कुनै पनि खेलमा खेलाडी र खेलका नियमका बीचमा अन्तरसङ्घर्ष र एकता सन्तुलित ढङ्गले चलेको हुन्छ । त्यो सन्तुलन भत्कियो भने खेल समाप्त हुन्छ । पार्टीको आन्तरिक जीवनमा पनि एकातिर, विधान, नियम र नियामक हन्छन् भने अर्कातिर, नियम पालना गर्दै काममा जुटी रहेका कार्यकर्ता हुन्छन् । यिनीहरूका बीचमा चली रहने अन्तरसङ्घर्ष र एकताबीचको सन्तुलन बिग्रियो भने अनुशासन भङ्ग हुन जान्छ । त्यसले पार्टीमा अराजकता पैदा हुन्छ र अन्ततः पार्टी फुटको दिशामा अघि बढ्न थाल्छ । यो स्थिति आउन नदिन पार्टीको नीति र नेतृत्वप्रतिको आस्था, विश्वास र भरोसा सर्वप्रमुख महत्वपूर्ण सवाल बन्न जान्छ । त्यस आधारमा नै कार्यकर्ता कृयाशील हुन्छन् र अनुशासित भएर काममा समर्पित हुन्छन । त्यसका विपरीत पार्टीको नीति, कार्यक्रम, नेतृत्व र विचारप्रति अनास्था, अविश्वास र वितृष्णा पैदा भयो भने केवल जनवादी केन्द्रियता र अनुशासनको भरमा मात्र पार्टी पङ्क्तिलाई एक ढिक्का पारेर राख्नु सम्भव हुँदैन ।
अन्तर्विरोधको सार्वभौम नियम बमोजिम पार्टी नेतृत्व र कार्यकर्ताबीच अनेकौँ विषयमा अनेकौँ प्रकारका अन्तरसङ्घर्ष चली रहेका हुन्छन् । पार्टीका कार्यकर्ता र नेतृत्वबीचको यस्तो अन्तर्विरोधलाई सही र सन्तुलित ढङ्गले हल गर्न नसक्दा नै प्रायः पार्टीमा फुटको स्थिति उत्पन्न हुने गर्दछ । समान योग्यता र समान हैसियत भएका व्यक्तित्वहरूबीच प्रायः नेतृत्वको प्रतिस्पर्धा चली रहने गर्दछ । त्यसले अस्वस्थ र अराजक रूप लियो भने पार्टीभित्र गुट÷उपगुटको जन्म र विकास हुने गर्दछ । यसले पनि पार्टीलाई फुटको सङ्घारतिर धकेली दिन्छ । कहिलेकाहीँ सैद्धान्तिक सवालमा तीव्र मतभेद विकसित भएर हल हुनै नसक्ने अवस्था आएमा पार्टी फुटेर विभिन्न चिरा अलग अलग हुने गर्दछन । त्यो स्वाभाविक फुट हो । तर धेरैजसो गरेर विविध स्वार्थका कारणले पार्टीभित्र चल्ने अस्वस्थ खेल नै पार्टी फुट्ने प्रमुख कारण हुन जान्छ ।
बाह्य शक्तिको चलखेल
सोभियत समाजवादी व्यवस्था भत्काउन सर्वप्रथम सोभियत सङ्घको कम्युनिस्ट पार्टी भत्काउन अनिवार्य थियो । त्यसका लागि अमेरिका र उसको गुप्तचर संस्था सी.आई.ए. ले वर्षौं लगानी गरेको थियो । कैयौँ कम्युनिस्ट नेताहरूलाई किनेको थियो र पथभ्रष्ट बनाएको थियो । भारतमा पनि त्यहाँको शक्तिशाली कम्युनिस्ट पार्टीलाई सिध्याउन रअ को घुसपैठ र पार्टीभित्र उसको चलखेलको ठुलो भूमिका छ । नेपालमा विभिन्न दलहरूलाई जोड्ने र फोर्ने काममा रअ र सी.आई.ए. का एजेन्ट लामो समयदेखि सकृय रहँदै आएका छन । आफ्नो साम्राज्यवादी स्वार्थ अनुकूल काम गर्ने पार्टीलाई एकताबद्ध पारी रहने र त्यसका विपरीत काम गर्ने क्रान्तिकारी पार्टीलाई टुक्रा पारी रहने काममा उनीहरू लागी परेका छन । यसको कारण पनि काङ्ग्रेस पार्टी प्रायः नफुट्ने र अन्य वामपन्थी प्रकारका पार्टी फुटी रहने गरेका छन ।
दर्शन, विचारधारा र सिद्धान्तका आधारमा हुने पार्टी एकता वा फुटलाई स्वाभाविक मानिन्छ । यसले वास्तविकतालाई जन समक्ष ल्याउन र बुझ्न सहज बनाउँछ । त्यो स्थितिमा सही पार्टी चिनेर त्यसमा समर्पित हुन सजिलो हुन्छ । अवसरवादीहरूलाई पनि आफू अनुकूलको पार्टीमा सामेल हुन समयमै बाटो खुला हुन्छ । तर असैद्धान्तिक र स्वार्थ अभिप्रेरित एकता वा फुटले लामो समयसम्म मानिसलाई भ्रममा पार्ने गर्दछ । अहिले नेपालमा विकसित हुँदै गई रहेको कम्युनिस्ट नाम गरेका दलहरूबीचको एकताका पछाडि सैद्धान्तिक आधारभन्दा पनि सत्ता स्वार्थ र अन्य प्रकारका स्वार्थको आधार प्रमुख देखिन्छ । यसले नेपाली जनमानसमा अनावश्यक भ्रम पैदा गरी रहेको छ ।
यी सबै अवस्थाबाट पार्टीलाई जोगाएर क्रान्तिकारी विचार र नीतिले सुसज्जित शक्तिशाली पार्टी बनाउन देश, जनता, क्रान्ति र पार्टीप्रति समर्पित निस्वार्थ नेतृत्व र अनुशासित कार्यकर्ताको अहम् भूमिका हुन्छ।