यी दुई शीर्ष नेतासँग पूर्वराजाको गोप्य भेटघाट




२०७४ पुस २८ शुक्रवार
NewsDesk ShikharNews

काठमाडौं, पुस २८ । मध्य र सुदूरपश्चिमका जिल्लाहरूको भ्रमणमा निस्कनु अघि पूर्व राजा ज्ञानेन्द्र शाहले काठमाडौंमा केही राजनीतिक दलका नेताहरूसँग गोप्य छलफल गरेर गएको खुलासा भएको छ ।

पूर्वराजा शाहले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग परामर्श गरेको उच्च स्रोतले जनाएको छ । नेपालगञ्जलाई केन्द्र बनाएर भ्रमणमा गएका पूर्वराजा शाह र चन्दबीच डिनरसहितको भेटवार्ता भएको थियो ।

त्यसैगरी पूर्वराजा शाहले राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणासँग पनि अलल परामर्श गरेका छन् । राणा निकट स्रोतका अनुसार पूर्वराजाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जिज्ञासा राखेको बताइएको छ ।

राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापालाई पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगञ्जमा बोलाएर भेटेका हुन् ।

पूर्वराजा शाहले यी तीनजना नेताहरूसँग निर्वाचनको समीक्षा गरेको बताइएको छ । त्यति मात्रै होइन चन्द, राणा र थापालाई घुमाउरो भाषामा संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा छाडेको सजाय जनताले प्रदेश, प्रतिनिधि सभा र स्थानीय तहको निर्वाचनमा दिएको चेतावनी दिएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले मध्य र सुदूरपश्चिमका जिल्लाहरूको भ्रमणका बेला नेत्रविक्रम चन्द ‘विप्लव’का नेता तथा कार्यकर्ता, रेशम चौधरी र आफ्ना शुभेच्छुकहरूलाई नियमित भेट गरेको पनि स्रोतको दाबी छ ।