अाज पुस २८ गते: कहाँ के-के घटना घटे ?

२०७४ पुस २८ शुक्रवार
Newsdesk Shikharnews

एफपियू प्रि–डिप्लोएमेन्ट तालिम उद्घाटन 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा केन्द्रीय प्रहरी विशेष कार्यदल कपनमा एफपियू प्रि–डिप्लोएमेन्ट (MINUJUSTH)  हाइटी २३ औँ समूहको तालिम शुक्रबार सोही कार्यदलमा आयोजित एक कार्यक्रमबीच उद्घाटन भएको छ ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रहरी बरिष्ठ उपरीक्षक निरजबहादुर शाहीले नेपाल प्रहरीको निम्ति यस मिसन अवसर र चुनौतिका रुपमा रहेकाले प्रशिक्षार्थीहरुलाई सामुहिक भावनाका साथ अनुशासित एवं लगनशील भई तालिम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक बेद विष्टले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४८ कार्य दिन रहने उक्त तालिममा प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ८, प्रहरी नायव निरीक्षक १७, प्रहरी सहायक निरीक्षक १०, प्रहरी हवल्दार ३७, प्रहरी जवान ४६ र प्रहरी कार्यालय सहयोगी ५ जना गरी कूल १ सय २८ जना प्रशिक्षार्थीको तालिममा सहभागिता रहेको जानकारी दिनुभयो ।

समारोहमा केन्द्रीय प्रहरी विशेष कार्यदलका प्रमुख तथा सो तालिमका कन्टिजेन्ट कमाण्डर प्रहरी उपरीक्षक शुशीलकुमार यादवले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
 मृत फेला 
कपिलवस्तु
बुद्धभूमी नगरपालिका–१ जय बन शक्ति सामुदायिक जंगलस्थित कुन्द्रे खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करीब ३५ वर्षीय पुरुष शुक्रबार मृत फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अत्याधिक चिसोको कारणले मृत्यु 
रौतहट
बौधीमाई नगरपालिका–१ अजगैबी टोल बस्ने ५६ वर्षीय रामचन्द्र साहको अत्याधिक चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।
यसैगरी रौतहटको गढिमाई नगरपालिका–६ धरमपुर सिङ्गारमन बस्ने ७४ वर्षीय रामबृस साहको अत्याधिक चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।
 आगलागीबाट धनमाल क्षति 

कास्की पोखरा लेखनाथ महानगरपालिका–५ बुधबारे घर भएकी ३६ वर्षीया रमा श्रेष्ठको घरमा शुक्रबार ग्यास लिक भई आगलागी हुँदा करीब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
मकवानपुर  मनहरी गाउँपालिका–८ सिमपानी बस्ने दिलबहादुर थिङको घरमा शुक्रबार बिजुली सर्ट भई आगलागी हुँदा थिङ लगायत ३ जनाको घर जलेर सम्पूर्ण सामान नष्ट भई करीब ८ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
मुस्ताङ  घरपझोङ गाउँपालिका–२ मार्फा चोक बस्ने डमबहादुर तिलाजाको कच्ची घरमा शुक्रबार आगो बाल्ने क्रममा आगलागी हुँदा घर भित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भई करीब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानीयबासीहरुको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।