कस्तो छ मिस्टर झोले ?

२०७४ पुस २८ शुक्रवार
Newsdesk Shikharnews

काठमाडौँ, २८ पुस । रामबाबु गुरुङ निर्देशित ‘मिस्टर झोले’ शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । फिल्ममा दयाहाङ राई, दीया पुन, बर्षा राउत, बुद्धि तामाङ, अरुणा कार्की, विजय बराल, कमलमणि खतिवडा लगायतको अभिनय रहेको छ । प्रदर्शनको पहिलो दिन विहानी शोमा काठमाडौँको कुमारी हलमा प्रेस शोको आयोजना समेत गरिएको थियो ।

कस्तो छ फिल्म ?
निर्देशक रामबाबुका अघिल्ला फिल्म जस्तै यो मिस्टर झोले पनि ग्रामिण परिवेशकै वरिपरि घुमेको छ । गाउँकै सामान्य घटनाकै वरिपरि यो फिल्म सकिन्छ । दुई युवतीका लागि युवाबीच हुने संघर्ष यो फिल्मको मुख्य विषय हो । तर युवती बीच हुने द्वन्दकै सेरोफेरोमा फिल्मले अन्य सामाजिक गतिविधिलाई पनि उठाएको छ । कानुनीरुपमा अवैधानिक मानिए पनि जातीय भेदभावको अन्त्य सामाजिकरुपमा अझै हुन सकेको छैन । यो विषयलाई पनि फिल्मले आत्मसात गरेको छ । तर जातीय मुद्दाकै सन्दर्भमा समाजमा रहेको पछिल्लो दुई स्वरुप फिल्ममा देख्न सकिन्छ । कानुनीरुपमा अवैध मानिए पनि समाजको एउटा पाटोले जातीय विभेदलाई सहर्ष स्वीकार गर्न सकेको छैन । त्यस्तै समाजकै अर्को तप्काको प्रतिनिधित्व गर्ने मास्टरको रुपमा एकपात्रा पात्र छन् जसले जसका निम्ति जातीय विभेद केही पनि होइन । यस्तै यस्तै परिवेश र कथानक स्वरुप ‘मिस्टर झोले’मा देख्न सकिन्छ ।

प्रेस शोको प्रतिक्रिया
प्रेस शोमा यो फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । कथानाक निरन्तरता राम्रो भए पनि यो फिल्म रामबाबुको अघिल्लो फिल्म कबड्डीको ह्याङओभरबाट बाहिर जान नसकेको प्रतिक्रिया अधिकांस सञ्चारकर्मीले गरेका छन् । यद्यपी अहिलेको पछिल्लो परिस्थितिको ग्रामीण जनजीवनलाई भने फिल्मले दुरुस्तै उतार्न सकेको प्रतिक्रिया पनि यो फिल्मले पाएको छ । फिल्म भित्र रहेको कमेडी सम्बादले पनि दर्शक बाँध्न सक्ने सञ्चारकर्मीको प्रतिक्रिया थियो ।