अनसन भनेको त नन्दप्रसाद र गंगामायाको जस्तो हुनुपर्ने होईन ?

२०७४ पुस २९ शनिवार
Newsdesk Shikharnews
अनसन भनेको त नन्दप्रसाद र गंगामायाको जस्तो हुनुपर्ने होईन ?

आदरणीय गोविन्द काका,
सादर प्रणाम !
आराम छु आरामताको कामना गर्दछु ।
हुन त एक अनसनकारीको शरीरमा के आरम होला र ? तथापि डाक्टरै डाक्टरहरुका घेराबीच सुविधा सम्पन्न स्थलमा अनसन बसेका कारण हजुरको गाथमा आराम नै होला भन्ने पूर्ण आशावान छु ।
विदेशमा छु समयको अत्यन्त महत्व छ । हरेक काम समयमा गर्नुछ तसर्थ सधैँ हतारमा हुन्छु । हाम्रो देशमा जस्तो सरकारी जागिर खायो आफु खुशी मन लागेको काम गर्यो, महिना मार्यो, तलब थाप्यो सकियो हैन विदेश ।

यहाँ त राज्यका हरेक तह र तप्काले मान्नुपर्छ नियम÷कानून । सबैको आ–आफ्नै हैसियत अनुसारको जिम्मेवारी हुन्छ । यस्तैमा सधैँझैं हतारै–हतारमा शुक्रवार बेलुकी पनि दैनिकी सकिवरी थकित शरिरलाई भोलिको दैनिकीका लागि पुनर्ताजकी बनाउन भनि यसो बिछ्यौनामा पल्टिए ।

दिनभरिको थकान अनि एक्लो ज्यान, परिवारबाट टाढा, परिवार बाल–बच्चा सबैको सम्झना यो मानसपटलमा यस्तै–यस्तै सोचाईले पल्टने बित्तिकै निन्द्रा पो कहाँ लाग्छ र ? निन्द्रा फकाउनकै लागि मोबाईल फोनको साहारा लिएसँगै नेपाली समाचारमा आँखा लाग्यो ।

यसै क्रममा समाचार शीर्षक देखें ‘डा. केसी’ले १४ औं अनसन शनिबार तोड्दै सरकारसँग ५ बुादे सहमति’ सोचें काकाले ठिकै गरे एक वारको जिन्दगी कति कष्ट दिन्छन् यिनले आफ्नो शरिरलाई ? बुढी हजुरआमालाई पनि टेन्सन । एक पटक होईन दुई पटक होईन । यो त १४ औं पटक ।

यस्तै–यस्तै सोच्दै काकाले ‘जे गरे ठिक गरे’ भन्दै भुत्भुताउँदै सुत्नका लागि लाईट अफ गरें, सिरकले घुप्लुक्क मुख छोपें पटक्कै निन्द्रा लागेन दिमागमा काकाकै अनुहारको बिम्ब आइरह्यो । आफैंले आफैंलाई प्रश्न गर्न थाले सधैं किन यसो गर्छन् बुढाले ? खाल ीअनसन अनसन भन्या छन् ज्यान सुकाका छन् एकपटक होईन दुई पटक होईन १४–१४ औं पटक भैसक्यो । थाहा छैन अझैँ कति औं पटक पुग्ने हो ? पक्कै यो नै अन्तिम त होईन नै ।

मज्जाको नेपाली डाक्टरी पेशा महिनामा दुई चार लाख कमाउन गाह्रो नै छैन । कमायो रमायो भैहाल्यो नि अरु डाक्टरहरु सरह यस्तो जीन्दगी फेरी–फेरी कहाँ पाईन्छ र ? यस्तै आदि इत्यादी । फेरी सोचें ह्या यस्तो होईन–होईन, यिनले जे गरेका छन् ठिकै गरेका छन् ३ करोड नेपालीको हितका लागि गरेका छन् आफ्ना लागि मात्र त पशु पनि बाँच्छ नि ।

अरुका लागि पनि बाँच्ने भएकोले पो मानवलाई सृष्टिको विशिष्ट प्राणी मानिएको त, विशिष्ट प्राणी मध्येको पनि विशिष्ट प्राणी पो यिनी त । यस्तो सोच्दा–सोच्दै यिनको प्रथम देखि १४ औं अनसनको फेहरिस्ता दिमागमा नाच्न थाल्यो । सबै दुरुस्त त मलाई पो कहाँ थाह छ र ? न म पत्रकार, न म विद्वान, न म कुनै राजनीतिज्ञ ।

म एक सिर्फ काकाको चिन्तक । हुन पनि एकपटक दुईपटक भए पो, सायद काकालाई नै त थाहा छैन होला मेरो कति औं अनसनको माग के थियो ? कति सम्वोधन भयो ? भनेर । मलाई कसरी थाहा हुनु ? तथापि सकेको सम्झदै गए ।

सायद काकाको पहिलो अनसनको माग होला :–
आम नागरिकमा स्वस्थ्यको पहुँच समान हुनुपर्ने ।
यसका लागि सुगममा मात्र नभई दुर्गममा अस्पताल खोलिनुपर्ने ।
वीर अस्पताल र शिक्षण अस्पताल जस्ता सरकारी अस्पतालको कुशल व्यवस्थापन र यिनलाई मेडिकल माफियाहरुको जालोबाट टाढा राखिनुपर्ने ।
स्वस्थ्य शिक्षामा प्राईभेट लगानि शहर केन्द्रित बनाइनु नहुने ।
यसका लागि एक स्वतन्त्र आयोग बनाईनुपर्ने आदि आदि ।

आहा ! कति राम्रो सोच, कति राम्रो माग, सहयोग र समर्थन अत्याधिक बढ्यो । सरकार गल्यो माथेमा आयोग बनायो । प्रथम अनसन तोडियो सकियो ।

काकाका अनसन श्रृंखला या महत्वकांक्षा भनौं बढ्न थाले, कुन्नि को डिनले राजीनामा गर्नुपर्छ रे भन्दै दोस्रो अनसन । सरकारसँग बुँदे सहमति अनसन तोडियो ।

फेरी तेस्रो अनसन होईन होईन फलानोलाई नै डिन बनाउनुपर्छ – सरकारसँग यति बुँदे सहमति अनसन तोडियो ।

चौथो अनसन होईन होईन फलानो मेडिकल कलेजलाई सम्वधन कुनै हालतमा दिइनु हुँदैन –सरकारसँग यति बुँदे सहमति अनसन तोडियो ।

पाचौं …
छैटौ …
सातौ ….
आठौ….
नवौं ….

अर्को अनसन होईन होईन अख्तियार प्रमुख भ्रष्टचारी हो उसले पद त्याग्नुपर्छ – सरकारसँग यति बुँदे सहमति अनसन तोडियो ।

अर्को अनसन मनमोहन र बिएण्डसि जस्ता अस्पताललाई सम्वन्धन कुनै हालतमा दिइनु हुँदैन – सरकारसँग यति बुँदे सहमति अनसन तोडियो ।

हुँदा–हुँदा काकाको अनसन कुनै दल, संस्था या व्यक्ति विशेष लक्षित हुन थाल्यो । लाग्छ काकाका पछिल्ला कतिपय मागहरु उहाँका बशमा थिएनन् । बीचमा काकाले कुनै एक अमुक व्यक्तिको चुनाव प्रचारमा पनि समय खर्चे । एक स्वतन्त्र सन्तले यसो नगरी दिएको भा’ पनि हुन्थ्यो यसले उनलाई एक सामाजिक अभियान्ताका रुपमा चित्रित गर्न गाह्रो हुन्छ । यो उनको निजी अधिकार ।

अन्तमा प्रधानन्यायाधीशको राजिनामा र भष्ट्राचार छानबिनको माग राखेर १४ औं अनसन बसेका काकाले सरकारसँग ५ बुँदे सहमति पनि गरेछन् । दंग परें काकाको खुबी देखेर ३ दिनमै सरकारलाई घुँडा टेकाएकोमा खुसी हुँदै सहमतिका ५ वटै बुँदा पढ्न थालें । एक/एक पढें आखिर निराश भएँ, कारण कुनै बुँदामा देखिन यिनको १४ औं अनसनको मागमध्येको प्रधानन्यायाधीशको राजीनामा र उनीमाथि छानबिन हुनुपर्ने मागको सरकारका तर्फबाट सम्बोधन ।

यस्तै यस्तै सोच्दा–सोच्दै रात निकै छिप्पीसकेको हुन्छ । यो खाली दिमागले गोविन्द काका र अनसनका बारेमा कुनै ठोस तर्क दिन नसके पनि अनुमान लगायो कतै यि सन्त, सादगी एक फकीर जसलाई न कोही पाल्नु छ, न कसैका लागि केही जोहो गर्नुछ । गर्नु छ त केवल ३ करोड नेपालीका हितका लागि गर्नुछ ।

यस्ता महान व्यक्ति कतै कसैको स्वार्थका गोटी त बनिरहेका छैनन्, नत्र किन यिनका हरेक अनसनमा नयाँ माग समावेश हुन्छन् ? कुनैपनि माग निश्कर्षमा नपुगि अनसन तोडिन्छ ? किन यिनका माग कुनै अमुक व्यक्ति या पार्टीप्रति लक्षित जस्ता देखिन्छन् ? के काकाका यस्ता क्रियाकलापले यहाँ कद घट्छ या बढ्छ ?

काकाले नै रोजेका डिन अग्रवालकै पालामा प्रश्नपत्र सम्बन्धि गड्बडी पनि सुनियो तर काका मरे बोलेनन् किन ? अनि के अनसनको परिभाषा यहाँले गरे जस्तै बस्ने छोड्ने हो ? अनसन भनेको त नन्दप्रसाद र गंगामायाको जस्तो हुनुपर्ने होईन ? लक्ष्य प्राप्त नभसम्म बिना श्रृगंखला एउटै अनवरत बस्नुपर्ने हैन ? या कतै काकाले अनसन शब्दको परिभाषा नै बदल्न खोज्या हो ? कुनै माग पुरा नभई तोडिने अनसन पनि अनसन हुन्छ ? कि काकाको अनसनले शतक पार गर्ने लक्ष्य मात्रै हो ? यस्तै सोच्दै निदाउन पुग्छु ।

नारायण