सम्धीलाई प्रदेश प्रमुख सिफारिस, सम्धिनीलाई सांसद

२०७४ पुस २९ शनिवार
Newsdesk Shikharnews
सम्धीलाई प्रदेश प्रमुख सिफारिस, सम्धिनीलाई सांसद

काठमाडौं, २९ पुस । मधेशी राजनीति परिवार मोहले कति गाँजिएको छ भन्ने एउटा उदाहरण राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई हेरे पुग्छ । आफूलाई मधेशी जनताको मसिहा भन्ने मधेशी नेता ठाकुरले दुई नम्बर प्रदेशको प्रमुखमा आफ्नै सम्धीको नाम प्रस्ताव गरेका छन् ।

नेपाल सरकारले नियुक्त गर्ने तयारी गरिरहेको प्रदेश प्रमुखमा ठाकुरले सम्धी उमाकान्त झाको नाम सिफारिस गरेका हुन् । उनी नेपाल सरकारका पूर्वसचिव पनि हुन् । ठाकुरले पुस २४ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी प्रदेश प्रमुख आफ्नो पार्टीबाट पनि राख्नुपर्ने भन्दै सम्धी झाको नाम सिफारिस गरेका थिए । ठाकुरले उमाकान्तका छोरालाई छोरी दिएका थिए ।

ठाकुरले उमाकान्तलाई यसअघि पनि मन्त्री बन्ने सौभाग्य जुराइदिएका थिए । खिलराज रेग्मी नेतृत्वको सरकारमा उनी ठाकुरको सिफारिसमा मन्त्री बनेका थिए । उनले सम्धिनी इन्द्रा झालाई दोस्रो संविधानसभामा समानुपातिकबाट सांसद बनाएका थिए । यसपटक पनि उनको नाम प्रतिनिधिसभा समानुपातिकमा दोस्रो नम्बरमा छ ।

यता, संघीय समाजवादी फोरमले पनि प्रदेश नम्बर दुईको प्रमुख प्रमुखमा आफ्नो दाबी पेश गरेको छ । फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री देउवालाई रत्नेश्वर कायस्थको नाम बुझाएका छन् । उनी पनि नेपाल सरकारका पूर्वसचिव हुन् ।

सरकारले एकसाता भित्रै प्रदेश प्रमुखको नियुक्त गर्ने तयारी गरिरहेको छ ।