अाज पुस २९ गते, कहाँ के के घटना घटे ?




२०७४ पुस २९ शनिवार
Newsdesk Shikharnews

लुटपाट गर्नेहरु नगद सहित पक्राउ
मोरङ
बिराटनगर महानगरपालिका–२ सोमबारे हाट नजिकबाट नगद लुटी भागेका सुनसरीको बेलगाछी–८ बस्ने १६ वर्षीय देवा मण्डल र सुनसरीकै गडी गाउँपालिका–४ बस्ने २१ वर्षीय अजय मण्डललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त ठाउँमा साइकलको अगाडि डिक्कीमा राखेको ८० हजार रुपैयाँ लुटी लगेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले खोजी गर्दै जाने क्रममा बिराटनगर महानगरपालिका–५ जामुनगाछीमा मे.३ प ७२६ नम्बरको मोटरसाइकलमा जाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ६८ हजार ८ सय २० रुपैयाँ नगद र १ थान मोबाईल बरामद भएको छ । उक्त मोटरसाइकल गत असोज ८ गते कोशी अंचल अस्पताल अगाडिबाट चोरी गरी लगेको भन्ने बुझिएको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

 विभिन्न धनमाल चोरी
काभ्रेपलाञ्चोक
पनौती नगरपालिका–१० दालडाँडास्थित हिमालय वचत तथा ऋण सहकारी संस्थाको मुलगेटको ताला फोडेर  सेफमा राखेको ७ लाख ८ हजार रुपैयाँ शुक्रबार राति चोरी भएको छ ।
चोरहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

 सवारी दुर्घटनामा मृत्यु तथा घाइते

    धादिङ्  थाक्रे गाउँपालिका–५ बसेरीस्थित त्रिभुवन राजपथमा बा.१६ च ८७७३ नम्बरको स्कारपियो गाडी शनिबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा गाडी चालक चितवनको सौराहा बस्ने ३५ वर्षीय भाजुराम महतोको घटनास्थलमै मृत्यु भएको छ । गाडीमा सवार सोही ठाउँ बस्ने ३८ वर्षीया खिमकुमारी महतो गम्भीर घाइते भएकोले उपचारको लागि धार्के अस्पताल लगिएको छ ।
    झापा  दमक नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा मे.१ ख १७१० नम्बर र को.१ ख ३६५९ नम्बरका यात्रुबाहक बस शनिबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मे.१ त ४७५४ नम्बरको ट्याक्टर समेत मे.१ ख १७१० नम्बरको बसमा ठोकिन गई दुर्घटना हुँदा दुवै बसका चालक समेत १७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि दमक अस्पताल पठाइएको र अवस्था सबैको बोल्न सक्ने रहेको छ । उक्त ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 कैलाली  लम्कीचुवा नगरपालिका–६ गुलरामा ना.७ ख २२६ नम्बरको बस र ना.४ ख ५१३२ नम्बरको बस शनिबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि कोहलपुर पठाइएको छ ।

कञ्चनपुर भिमदत्त नगरपालिका–३ स्थित सडकमा लु.१ ख ८६९४ नम्बरको बसले यूके–०६–एजे–६३२० नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कञ्चनपुरको लेडकोट नगरपालिका–९ बस्ने २८ वर्षीय मनोज बोहोराको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे  धुलिखेल नगरपालिका–४ बाँसघारीस्थित अरनिको राजमार्गमा बा.५९ प ८९५१ नम्बरको स्कुटरलाई ना.६ ख १९४३ नम्बरको बाह्रचक्के गाडीले शुक्रबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक धुलिखेल नगरपालिका–९ बस्ने ५२ वर्षीय राजकुमार ठकुरीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने गाडी प्रहरीको नियन्त्रणमा छ भने हाल फरार रहेका चालकको खोजी कार्य भइरहेको छ ।
    बर्दिया बाँसगढी नगरपालिका–९ माछागढमा लु.१ ख ८१०८ नम्बरको ट्रकले भे.७ प ५४५ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय मनिराम चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी सोही मोटरसाइकलमा सवार मनिरामकै श्रीमती ४० वर्षीया देवकली चौधरीलाई थप उपचारको लागि भारतको लखनउ रिफर गरिएको छ । ट्रकका चालक फरार भएकोले खोजतलास भइरहेको छ ।

सप्तरी  सप्तकोशी नगरपालिका–१० स्थित भित्री सडकमा बा.२८ प १०६२ नम्बरको मोटरसाइकलले ३ वटा साईकललाई शुक्रबार ठक्कर दिँदा भएको दुर्घटनामा ७ जना घाइते भएका छन् । मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका–४ बस्ने २० वर्षीय रिकेशकुमार चौधरी लगायत ४ जना र साईकलमा सवार सप्तरीको कन्चरुप नगरपालिका–६ बस्ने १८ वर्षीय शिरिशकुमार सदा लगाएत ३ जना गरी ७ जना घाइते भएकोमा ५ जनालाई स्थानीय मेडिकलमा र २ जनालाई बिराटनगर गोल्डेन रिफर गरी उपचार भइरहेको छ । उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर र ३ जनाको सामान्य रहेको छ ।
दुर्घटनामा सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

 घरको छतबाट लडेर मृत्यु
चितवन
भरतपुर महानगरपालिका–२१ संबिधान चोकस्थित आफ्नै घरको दुईतला माथि छतमा सुकाएको कपडा उठाउन जाँदा शुक्रबार अचानक छतबाट तल खस्न जाँदा गम्भीर घाइते भएकी ५१ वर्षीया मिठुदेबी रसैलीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

पानीमा डुबेर मृत्यु
    बर्दिया  बारबर्दिया नगरपालिका–४ बैरिया बस्ने ६५ वर्षीय पुन्सा थारुको नदीमा डुबेर शुक्रबार मृत्यु भएको छ । सोही ठाउँस्थित बबई नदी किनारामा बाख्रा चराउन गएको अवस्थामा पानी पिउने क्रममा अचानक डुबेर उनको मृत्यु भएको बताइएको छ ।

पर्सा  आफ्नै घर अगाडि जमेको पानीको खाल्डोमा शुक्रबार डुबेर बेहोस भएका बहुदरमाई नगरपालिका–१ बिश्रामपुर बस्ने मनोज यादवको छोरा २ वर्षीय श्याम यादवको उपचारको लागि नारायणी उप–क्षत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
 करेन्ट लागेर मृत्यु
तनहुँ
व्यास नगरपालिका–११ फराकचौर बस्ने ४० वर्षीय शंकर जिसीको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँस्थित जिसी गाईफारम नजिक बिजुलीको ट्रान्समिटर जडान भएको पोलमा चढ्दा अचानक करेण्ट लागेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

 चिसोको कारण मृत्यु

 रौतहट  गढिमाई नगरपालिका–२ समनपुर बस्ने स्थानीय समनपुर बजारमा मागी खाई हिँड्ने गरेका ६० वर्षीय बिश्वनाथ पासवानको चिसोको कारण शनिबार मृत्यु भएको छ ।
यसैगरी रौतहटकै कटहरिया नगरपालिका–६ दुधिहवा भार टोलमा बस्दै आएकी माधवनारायण नगरपालिका–७ लौकाहाकी ६५ वर्षीया धुपलीदेवी साहको घरमै सुतिरहेको अबस्थामा चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।
यसैगरी रौतहटकै कटहरिया नगरपालिका–५ कटहरिया टोल बस्ने ६५ वर्षीय शेख इद्रिसको आफ्नै घरमा सुतिरहेको अबस्थामा चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।

सप्तरी  हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेज क्षेत्रमा मागी खाई हिँडने सुनसरीको ईनरुवा नगरपालिका–१ शान्ती चोकका ४० वर्षीय ढुण्डीराज पोख्रेल चिसोको कारण बाटैमा मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेका छन् ।
यसैगरी सप्तरीकै डाक्नेश्वरी नगरपालिका–८ बिसरिया बस्ने ७० वर्षीया शुभावतीदेबी सरदार सुतिरहेको अवस्थामा चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।
सिराहा  धनगढीमाई नगरपालिका–१३ सिम्ले बस्ने ३५ वर्षीया जिवछी मुखीया र नवराजपुर गाउँपालिका–२ मझौरा बस्ने ६८ वर्षीया बिल्टुनियादेवी शहाको चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

 आगलागीमा परी मृत्यु तथा घाइते

    रुकुम पूर्बपुठा उत्तरगंगा गाउँपालिका–८ चुमास्थित जंगलमा शुक्रबार आगलागी हुँदा सो ठाउँमा बाख्रा चराउन गएका उत्तरगंगा–८ बस्ने शेरबहादुर बोहोराको आगोले जलेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने अन्य २ जना घाइते भएका छन् ।

  धनुषा हंशपुर नगरपालिका–८ रामनगरा टोल बस्ने ७० वर्षीया सुजान महराको आगोले जलर मृत्यु भएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा बिहीबार अचानक साडीमा आगो सल्किँदा जलेर घाइते भएकी महराको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल क्षति
   काठमाडौं  स्वयम्भू मन्दिर परिसरमा रहेको भजन मण्डपमा शुक्रबार आगलागी हुँदा भजन मण्डपका सामान, कुर्सी र हस्तकलाका सामान जलेर करीव २८ लाख ८७ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय समेतको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
    सोलुखुम्बु  दुधकोशी गाउँपालिका–६ स्थित दानबहादुर राईको घरमा शनिबार चुल्होबाट आगलागी हुँदा घर, भाडावर्तन, लत्ताकपडा, अन्नपात जलेर करीव ३ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । प्रहरी चौकी वाकुको प्रहरी टोली र स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

तनहुँ घिरिङ गाउँपालिका–४ बस्ने कृष्णबहादुर थापाको कच्ची घरमा शनिबार आगलागी हुँदा करीव २ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    काभ्रे  बनेपा नगरपालिका–३ बस्ने राजाराम बजगाईको घरमा शुक्रबार आगलागी हुँदा लत्ताकपडा, अन्नपात लगायतका सरसामान जलेर करीव ५ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
भोजपुर पौवादुङमा गाउँपालिका–५ सानोदुम्मा बस्ने ७२ वर्षीय दानबहादुर कटवालको कच्ची घरमा शुक्रबार आगलागी हुँदा घर, ३ चौपाय, भाँडावर्तन, अन्नपात जलेर करीव ३ लाख ९३ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
यसैगरी भोजपुरकै ट्याम्के मयुम गाउँपालिका–३ बस्ने ५० वर्षीय हर्कबहादुर अधिकारीको भान्सामा शुक्रबार चुल्होबाट आगलागी हुँदा आगो निभाउने क्रममा निज अधिकारी जलेर घाइते भएकोले उपचारको लागि प्राथमिक स्वास्थ केन्द्र अन्नपुर्ण भोजपुर लगिएको र अबस्था बोल्न सक्ने रहेको छ । साथै आगलागीबाट भान्साघर, ११ वटा चौपाय, ८ कुखुरा जलेर करीव ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

तेह्रथुम  फेदाप गाउँपालिका–३ स्थित ढाडेरानी सामुदायिक बनमा शुक्रबार आगलागी हुँदा उक्त बन नजिकै रहेको लालबहादुर तामाङको घर, लत्ताकपडा, अन्नपात र भाँडाबर्तन जलेर करीव ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । प्रहरी चौकी पोक्लाबुङको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

म्याग्दी धवलागिरी गाउँपालिका–४ मुदी बस्ने अम्मरलाल पुनको कच्ची घरमा उनकै छोरीले चिया पकाउने क्रममा बिहीबार आगलागी हुँदा घर, गोठ र ३ चौपाय जलेर करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
   महोत्तरी  बर्दिबास नगरपालिका–१ औरहीस्थित प्रमोद चौधरीको पन्चधुरा सेल्स एण्ड सप्लायर्स कपडा पसलमा शुक्रबार धुपबाट आगलागी हुँदा करीव १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । ईलाका प्रहरी कार्यालय बर्दिबासको प्रहरी टोली, सशस्त्र प्रहरी बलको टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

धनुषा  औरही गाउँपालिका–३ कपटोल बस्ने गणेश मण्डलको घरमा खाना पकाउने क्रममा शुक्रबार आगलागी हुँदा गणेशको छोरा २८ वर्षीय सहन्सा मण्डल र उनको छोरा ३ वर्षीय सोनु मण्डल जलेर सामान्य घाइते भएकोले स्थानिय मेडिकलमा उपचार भइरहेको छ । आगलागीबाट काठपात, अन्नपात र लत्ताकपडा जलेर करीव ३ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । ईलाका प्रहरी कार्यालय औरहीको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
सप्तरी रुपनि गाउँपालिका–१ रायपुर बस्ने राजु यादवको गाईगोठमा शनिबार घुरबाट आगलागी हुँदा घर,  गोठ, नगद, काठपात, अन्नपात, लत्ताकपडा गरी जम्मा करीव ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । प्रहरी टोली, बारुणयन्त्र र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
यसैगरी सप्तरीकै बेल्हीचपेना गाउँपालिका–३ बस्ने ठकाई साहको गुहालीघरमा शनिबार घुरबाट आगलागी हुँदा गाईगोठ, काठपात, अन्नपात, लत्ताकपडा जलेर करीव २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । ईलाका प्रहरी कार्यालय पातोको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।