निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभाका लागि स्थापना

२०७४ पुस ३० आइतवार
Newsdesk Shikharnews
निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभाका लागि स्थापना

डोटी, ३०,पुस

राष्ट्रियसभा निर्वाचनका लागि डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी माघ २४ गते हुने निर्वाचन सम्पन्न गर्न ७ नं प्रदेशको निर्वाचन अधिकृतको कार्यालय डोटीमा स्थापना गरिएको हो । कार्यालयको डोटीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उद्घाटन गरे ।

निर्वाचन आयोगले उच्च अदालत रहेको जिल्लाको जिल्ला न्यायाधीश नै प्रदेशको निर्वाचन अधिकृत रहने निर्णय गरेको थियो । ७ नं प्रदेशको उच्च अदालत डोटीको दिपायलमा स्थापना भइसकेको छ ।

सोही अनुसार ७ नं प्रदेशको राष्ट्रियसभा निर्वाचनको निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश जयानन्द पनेरुले जिम्मेवारी पाएका छन् । सोही जिम्मेवारीपछि जिल्ला अदालत डोटीको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते मतदाता नामावली सार्वजनिक हुनेछ । त्यसपछि ८ र ९ गते मतदाता नामावली उपर दाबी विरोधको कार्यक्रम छ ।

१० गते उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् । ११ गते उम्मेदवारी विरुद्ध दाबी विरोध र १३ र १४ गते उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ । यस्तै १५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदानको कार्यक्रम तय गरिएको छ भने २४ गते मतदान हुनेछ ।

प्रदेश नं ७ मा ८८ स्थानीय तहका १७६ जना अध्यक्ष÷उपाध्यक्ष तथा प्रमुख÷उपप्रमुख र प्रदेशसभाका ५३ जना सांसद गरी २२९ जना मतदाता हुनेछन् । उनीहरुले कूल आठ जना राष्ट्रियसभाका सांसद चुन्नेछन् । सबै मतदाता डोटीमा आएर मतदान गर्नेछन् ।

जसका लागि सम्भवतः दुई वटा मतदान केन्द्र तोकिने निर्वाचन अधिकृत पनेरुले बताए । उनले भने, “अहिल्यै मतदान केन्द्रका विषयमा निर्णय भइसकेको छैन । छलफल गरेर मतदानस्थल कुन ठाउँ राख्ने र कति केन्द्र तोक्ने भन्ने विषयमा टुङ्ग्याउनेछौँ ।”