ए घाम ! तिमी र म जाम




२०७४ पुस ३० आइतवार
NewsDesk ShikharNews

– नवराज ‘निर्वाह’

ए घाम !

तिमी र म
आऊ जाम
सुन फलाई विश्रामका
सुस्केरा हालेका गरामा
लालीगुराँस
फक्रिन लागेका धरामा
आऊ
रुई, दुई र फुई बनेर जाम
ए घाम !

यहाँ कुनै कर्ण जन्माउने
कुन्ती छैनन्
कुहिरो चाहिँदैन
युधिष्ठिर जन्माउनुछ
त्यसैले
आऊ भाष्कर
तराई जाम
तराईका हन्डर र गोताहरु
तिमी र म मिलेर खाम
सरकार रावणझैँ
सत्ताको रुपमा लम्पट छ
आऊ
हामी नै जाम
बनेर राम, बलराम ।

सिरहामा पीरैपीर
रौतहट रोइलियो
हत्तेरी !
महोत्तरी मलिन छे
पर्सामा शीतको वर्षा
आलाप–विलाप मध्य तराई
छैन कतै हर्ष
सर्लाहीमा सलाई नहीँ परा
बारामा मन कुँडिएका साह्रा
सप्तरीको सास्ती
शीत, कुहिरो
तुषारोको मस्ती
पर छ सरकार
खाल्डोबाटै गर्दछ गस्ती
आऊ
रवि र कवि दुवै मिली जाम
किन गर्ने अन्धोलाई ज्यू–ज्यू
न प्रणाम ।

तिमी किरणपुञ्जको बिस्कुन हाल
म कुञ्ज–कुञ्जमा कम्बल ओछ्याउँछु
गुइँठा चिर्पट
अनि आफन्त सिद्धिए
काख रित्तिए
भरोसा भत्किए
आऊ अरूण
करूणा लिएर जाम
न्यानो स्नेह दिएर आम ।

कुनाबाट कठै ! भनेर हुन्न
कुप्रथाले स्याहार्दैन
मर्नै लाग्दा नि छुन्न
अछामको अलच्छिन
बाजुरामा बज्र
मध्य, सुदूर
छाउगोठमा मर्छ
डिँगो बरू सिमसार चर्छ
जँघार तर्छ ।

अन्धविश्वास सधैँ छुई होस्
छाउगोठमै कठ्याड्ग्रिओस्
छाउगोठमै ब्याओस्
अनि पाओस्
कुसंस्कारविरूद्ध लड्ने
पारिजात, पासाङ ल्यामु
खालिदा जिया, बेनजिर भुट्टो
आऊ प्रकाश
तिमी र म जाम
उल्फ र प्ल्याथ नकुराऊ
छाउगोठ सेकाऊँ
तिमी पहार लिएर
म पाठ लिएर
नत्र स्वाहा…..
षोडसी र सुत्केरी
कुरीतिको निस्सासिँदो सिरेटोले, तुषारोले ।

 

तिलिचोमाथि
प्यास रन्थनिँदै छ
रारा कुल्ची
तिर्खा भुन्भुनिँदै छ
हिउँ पिउन साध्य छ
वीरहरुलाई
बरफ ओछ्याउन बाध्य छन्
बहादुर
आऊ आदित्य
यार्सागुम्बाको गाम
तिमी र म जाम
स्याउ फल्ने ठाम
सरकारले खुट्टा कमाए नि
तिमी र म फदालम
म संघर्षसँग जुध्न सिकाउँला
तिमी भिजेका मन सुकाउला
आऊ जाम ।

आऊ आलोक
किन ढिलो ?
हे, सूर्यनारायण
किन सुस्त ?
हाम्रा नेतागण झैँ
मेरो सरकार झैँ
बहिरो नबन
वैरी नबन
कि तिमी नि अल्झियौ
यम बरूण
बुध, शुक्रलाई मिलाउन
दोषीलाई न्याय दिलाउन
शनि सन्कियो र ?
त्यहाँको सिँहदरबारमा
बृहस्पति बौलायो र ?
त्यहाँको बालुवाटारमा
नत्र किन ओर्लिन्नौ ?
किन रोकियौ ?
किन छेकियौ ?

आऊ भानु
अन्तिमपटक भन्दै छु
राहतको मलम
तिमी र म मिली दलम
आहतमा
तिमी किरण बोक
म बोकौँला कलम
आऊ घाम
तिमी र म
छिट्टै जाम