माघ १७ मा ‘सुपर मुन’: चन्द्रमा ठूलो आकारको हुने

२०७४ पुस ३० आइतवार
Newsdesk Shikharnews
माघ १७ मा ‘सुपर मुन’: चन्द्रमा ठूलो आकारको हुने

काठमाडाैँ, ३० पुस। जनवरी ३१ अर्थात् माघ १७ गते नेपाली परम्पराअनुसार एक महिनासम्म चल्ने स्वस्थानी व्रतको समापन हुने माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास चन्द्र ग्रहण पनि लाग्ने छ । जीवनमा पटकपटक पूर्णिमाको रातमा पूरै चन्द्रमा कालो भएको खग्रास ग्रहण हामीले देखेका छौं । तर त्यस दिन चन्द्रमा अघिपछिको पूर्णिमाको रातभन्दा ठूलो आकारको हुनेछ । यस्तो चन्द्रमालाई पश्चिमा खगोलशास्त्रीले ‘सुपर मुन’ भन्ने गरेका छन् ।

अंग्रेजी पात्रोअनुसार महिनामा दुईपटक पूर्णिमा परे त्यसलाई पश्चिमा खगोलशास्त्रीले ‘ब्लु ब्लड मुन’ भन्दै आएका छन् ।
चन्द्र ग्रहण खगोल क्षेत्रमा नौलो नभए पनि ब्लु ब्लड मुनमा खग्रास चन्द्र ग्रहण भने डेढ शताब्दीपछि देखिन लागेको हो । यसअघि ‘ब्लु ब्लड मुन’ मा सन् १८६६ मार्च ३१ मा खग्रास चन्द्र ग्रहण लागेको थियो।

पूर्णिमाको दिन पृथ्वीको सबैभन्दा नजिक चन्द्रमा आयो भने त्यसलाई सुपर मुन भनिन्छ ।  चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँदा पर्ने पूर्णिमाको रात ‘माइक्रो मुन’ भन्दा चौध प्रतिशतसम्म ठूलो र तीस प्रतिशतसम्म उज्यालो हुन्छ । जनवरी १ अर्थात् पुस १७ गते स्वस्थानी सुरु हुने पूर्णिमाको दिन पनि ‘सुपर मुन’ थियो । अंग्रेजी पात्रोअनुसार दोस्रोपटक जनवरी ३१ अर्थात् माघ १७ गते सुपर मुन हुनेछ । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न २७.३३२ दिन लाग्छ भने साढे २९ दिनमा पूर्णिमा पर्छ । चन्द्रग्रहण पूर्णिमाको रातमा लाग्छ।

माघ १७ गते नेपाली समयअनुसार साँझ ५ बजेर ३३ मिनेटमा चन्द्र ग्रहण सुरु हुनेछ । त्यस दिन नेपालमा ५ बजेर ३७ मिनेटमा चन्द्रमा उदाउनेछ । अर्थात्  दक्षिण एसियाली क्षेत्रबाट देख्दा चन्द्रमा उदाउँदा नै ग्रहण सुरु भइसकेको हुनेछ । साँझ ६ बजेर ३६ मिनेटमा  चन्द्रमा पूरै ढाकिने छ । यो क्रम १ घण्टा १६ मिनेटसम्म कायम रहने छ अर्थात् ७ बजेर ५२ मिनेटमा चन्द्र ग्रहण सकिनेछ । त्यसपछि विस्तारै ग्रहणले छाड्दै जानेछ । ८ बजेर ५६ मिनेटमा पूर्ण रुपमा चन्द्र ग्रहण सकिने छ । खग्रास ग्रहणको समयमा चन्द्रमा रातो देखिन्छ । तर ‘ब्लु ब्लड मुन’ भनेर भने पनि त्यस दिन चन्द्रमा निलो भने देखिने होइन । खग्रास चन्द्र ग्रहण हुँदा रङ रातो हुन्छ।

‘ब्लु ब्लड मुन वा सुपर मुन भनेको वैज्ञानिक नाम होइन बोलिचालीको नाम हो । मानिसलाई बुझाउन र खगोलप्रति उत्सुकता जगाउन यस्तो नाम दिइएको हो,’ नेपाल खगोल समाज (नासो) का अध्यक्ष सुरेश भट्टराईले भने, ‘ग्रहणले खगोलप्रति चासो बढाउने छ भने विद्यार्थीले आफूले पढेको विषय व्यवहारमा हेर्न पाउँछन् । खगोलबारे जान्न खोज्नेका लागि यो सबैभन्दा राम्रो मौका हो ।’

(नागरिक दैनिकबाट)