नेविसंघको विवाद उत्कर्षतर्फ: असन्तुष्ट पक्षले अध्यक्षसँग स्पष्टिकरण सोध्यो




२०७४ पुस ३० आइतवार
Newsdesk Shikharnews

काठमाडौं, ३० पुस। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा समानान्तर गतिविधि बढ्दै गएपछि एक पक्षले अर्कोसँग स्पष्टिकरण सोध्न शुरु भएको छ।

राष्ट्रिय मेलमिलाप दिवसकको दिन दुई छुट्टाछुट्टै कार्यक्रमहरुका आयोजना गरेपछि नेविसंघको विवाद सतहमा आएको थियो। विवाद चुलिदै गएपछि स्पष्टिकरणको चरणमा पुगेको हो। विपी कोइराला स्वदेश फर्केको दिन अर्थात पुस १६ गतेलाई कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ।

नेविसंघमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको छुट्टा छुट्टै गुट सक्रिय रहेको छ। पछिल्लो समयमा पौडेल गुटका अनुशासन समितिले सभापति नैनसिंह महरलाई नै स्पष्टिकरण सोधेको छ। नेविसंघ सह महामन्त्री राजेश रौनियारले महरलाई पत्र लेख्दै स्पष्टिकरण सोधेको हो। रौनियारले २९ पुसमा पत्र लेखेर अध्यक्ष महरसँग तीनदिने स्पष्टीकरण मागेका हुन् ।

रौनियारले अध्यक्ष महरलाई सोधेको स्पष्टीकरण पत्रमा लेखिएको छ, ‘….तपाईंमाथि गम्भिर प्रश्नहरु उठेका छन् । लोकतान्त्रिकका मूल्यमान्यतामा विश्वास राख्ने संगठनको अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिलाई यस्ता गम्भिर सवालहरुमाथि सत्य तथ्य स्पष्ट पार्न सजिलो होस् भनि स्पष्टीकरणको मौका प्रदान गरिएको छ ।’

बिधानविपरित समितिहरु गठन गरेको, आमन्त्रित केन्द्रीय सदस्य  तोकेको, आर्थिक लेनदेनमा फसेको र स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पार्टीका उमेदवारहरुलाई हराउन संलग्न रहेकोलगायतका आरोप महरमाथि लगाइएको छ ।

पौडेल पक्षले समानान्तर समिति गठन गर्दै रौनियारलाई प्रमुख तोकेको छ। अर्को गुटले सो समितिमा प्रमुखमा अम्बिका चलाउनेलाई तोकेको छ। रौनियारले संस्थाले लेटरप्याड दुरुपयोग गरेको भन्दै चलाउनेसँग पनि स्पष्टिकरण सोधेको छ। चलाउनेले मेलमिलाप दिवसका दिन किन समानान्तर कार्यक्रम गरेको भन्दै असन्तुष्ट पक्षसँग स्पष्टिरकण सोधेकी  थिइन्।

नेविसंघमा असन्तुष्ट पक्षको नेतृत्व महामन्त्री कुन्दन काफ्लेले गर्दै आएका छन्।