भीम रावलले भने: प्रदेश प्रमुख तथा राजधानी नतोक्ने हो भनेे सरकार छाड

२०७४ पुस ३० आइतवार
Newsdesk Shikharnews
भीम रावलले भने: प्रदेश प्रमुख तथा राजधानी नतोक्ने हो भनेे सरकार छाड

काठमाडौं, ३० पुस। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान बमोजिम प्रदेशको राजधानी र प्रमुख तोक्न नसक्ने हो भने राजिनामा दिनुपर्ने बताएका छन्।

रावलले प्रदेश प्रमुख तोक्ने काम सरकारको भएको भन्दै संविधानअनुसार राजनीतिक सहमति नचाहिने बताएका छन्।

देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न नसक्ने भए सरकार छाड्नु पर्ने बताए। रावलले, ‘बाँकी काम वाम गठबन्धनको सरकारले गर्ने’ बताए । ‘सरकारलाई गाह्रो भयो, काम गर्न नसक्ने भए किन बसिरहने ? हामीले बहुमत प्राप्त गरिसकेका छौँ । हामी गछौँ । डराउने मान्छे किन बसिरहने कुर्सीमा ?” रावलको प्रश्न थियो।

सरकारले प्रदेश प्रमुख र राजधानी नतोक्दा प्रदेश सरकार गठन गर्न ढिलाइ हुँदै आएको छ। जसको कारण राष्ट्रियसभा चुनाव समेत असर पार्ने देखिएको छ।

राष्ट्रियसभाको मिति तोकिएको अवस्थामा अब प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिए पनि कुनै फरक नपर्ने रावलको भनाई छ । यद्यपी प्रदेश प्रमुख र अस्थायी राजधानी भने तोक्नै पर्ने रावलले बताए ।