सहमति भए पनि नभए पनि तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी ताेक्छु : प्रधानमन्त्री देउवा




२०७४ पुस ३० आइतवार
Newsdesk Shikharnews

कैलाली , ३० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी छिट्टै तोक्ने बताएका छन्।

कैलालीको गोदावरीमा आईतबार बाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले तीन दिनभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने बताए ।
उनले भने, ‘दलहरुसंग सहमतिको प्रयास गर्दा केही ढिलाई भएको हो । अब सहमति भए पनि नभए पनि तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी सरकारले तोक्छ ।’ उनले संसद गठनको प्रक्रिया बाँकी रहेकाले प्रधानमन्त्रीबाट आफूलाई राजीनामा दिन समस्या भएको बताए ।

राष्ट्रिय सभाको निर्वाचन हुन बाँकी रहेको उल्लेख गर्दै उनले संविधानको मर्म र भावना नबुझेर सत्ता हस्तान्तरणको राग अलाप्नुको अर्थ नभएको बताए । राष्ट्रिय सभाको निर्वाचनपछि मात्र संसदले पूर्णता पाउने भएकाले त्यो अवधिसम्म कायम रहने उनको भनाई थियो ।

मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले धार्मिक तथा पर्यटकिय महत्व बोकेको गोदावरी क्षेत्रको विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा सांसद नारदमुनी राना, गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउँदलगायत स्थानीयले गुरुयोजना बनाएर यस क्षेत्रको प्रमुख धार्मिक पर्यटकिय स्थल गोदावरीको विकास गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।