देउवा धनगढि गएकै बेला कांग्रेसका नेताकाे गोप्य छलफल , यि विषयमा समझदारी

२०७४ पुस ३० आइतवार
Newsdesk Shikharnews
देउवा धनगढि गएकै बेला कांग्रेसका नेताकाे गोप्य छलफल , यि विषयमा समझदारी

काठमाडौं ३० पुस । प्रधानमन्त्रि शेरबहादुर देउवा गृहजिल्ला गएकाे बेला कांग्रेसका नेताहरूले गाेप्य भेला गरेकाे समाचार बाहिरिएकाे छ ।

चुनावमा पराजय भोगेपछि कांग्रेसभित्र विवाद बढेको भनिएको बेला तीन प्रभावशाली नेताहरु एकै ठाउँमा उभिएका छन् । नेताहरु रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला र अर्जुन नरसिंह केसीबीच आइतबार राजधानीको महाराजगञ्जस्थित एक होटलमा गोप्य बैठक भएको छ ।

करीब दुई घण्टा लामो भएको उक्त ‘गोप्य’ बैठकमा सभापति शेरबहादुर देउवाकै कारण पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको निष्कर्ष निकालिएको छ ।

अब पनि चुप लागेर बसिरहे पार्टी गम्भीर संकटमा पर्ने भन्दै पार्टीलाई बचाउन एक भएर अघि बढ्ने तीन नेताबीच समझदारी भएको जनाइएकाे छ।

‘ बाहिर देखिएका अभियानमा ऐक्वबद्धता जनाउँदै पार्टीलाई एक ढिक्का बनाएर लैजाने विषयमा समझदारी भएको स्राेतले बताएकाे छ , ‘ पार्टीभित्रका युवा तथा विद्यार्थीको विवाद पनि देउवाकै कारणले भएको र यो विवाद कायमै रहिरहे थप संकट निम्तनेतर्फ पनि नेताहरुले निश्कर्ष निकालेका  छन ।’

पार्टीको १३ औं महाधिवेशनमा सिटौला र पौडेलले पनि सभापतिमा उम्मेदवारी दिएका थिए । विगतमा एकै समूहमा भएका भनिएका सिटौलाले समेत सभापतिमा उम्मेदवारी दिएपछि पौडेल–सिटौलाबीच सम्बन्ध विग्रिएको ठानिएको थियो । तर, पछिल्लो समय देउवाकै कारणले पार्टीमा समस्या आएको भन्दै सम्बन्ध सुधार गर्दै पौडेल–सिटौला समेत एकै ठाउँमा उभिएका हुन् । यसो त १३ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्री लडेका केसी पनि सभापतिको कार्यशैलीबाट रुष्ट रहेको बताइन्छ ।

यही कारण देउवाप्रति असन्तुष्ट नेताहरु पार्टीलाई नयाँ शिराबाट अघि बढाउन लागिपरको बताइएको छ । यसमा देउवाकै समूहमा रहेका केसीलगायत नै अग्रसर भएका हुन् ।
असन्तुष्टहरु कांग्रेसलाई पहिलेको जस्तै बलियो अवस्थामा फर्काउन कसरी एकजुट भएर जाने भन्ने विषयमा निरन्तर छलफलमा रहेको नेताहरु बताउँछन् ।
यही क्रममा गत बुधबार पनि गोंगबुमा प्रकाशमान सिंह, शशांक कोइराला र केसीबीच छलफल भएको थियो ।

पटक पटकको छलफलमा प्रभावशाली नेताहरुनै एकठाउँमा देखिएपछि देउवा घेराबन्दीमा परेको बुझिएको छ ।

यसो त कांग्रेसका युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदिप पौडेल लगायतका नेताले काँग्रेसको नेतृत्व अब युवा पुस्ताले लिनुपर्ने साथै सिंगो पार्टीमा पुर्नसंरचना र परिमार्जजसहित आम जनताको चाहानाअनुसार अघि बढ्नुपर्ने बहस चलाउँदै आएका छन् ।

यही क्रममा प्रभावशाली नेताहरु समेत देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै छलफलमा लागेका हुन् ।

गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा काँग्रेसले हार बेहोरेपछि देउवाले विशेष महाधिवेशन बोलाउनुपर्ने तथा राजीनामा दिनुपर्नेसम्मको माग कांग्रेसभित्र जोडतोडका साथ उठिरहेको छ ।