अाज पुस ३० गते: कहाँ के -के घटना घटे ?




२०७४ पुस ३० आइतवार
Newsdesk Shikharnews

सवारी दुर्घटनामा मृत्यु 

संखुवासभा  मकालु गाउँपालिका–३ स्थित सम्मटारमा नुमबाट स्याक्सिलागोलातर्फ जादै गरेको बा.५च १३०९ नम्बरको पिकअप भ्यान आइतबार सडकबाट अंदाजी ९ सय मिटर तल बरुण नदीको किनारमा खसी दुर्घटना हुँदा भ्यानमा सवार चालक सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरुमा मकालु गाउँपालिका–५ नुम बस्ने सोही गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल र सोही गाउँपालिका–३ गोलेचौर बस्ने सुरेश राईको सनाखत भएको तथा अन्य मृतकहरुको प्रहरीले सनाखत कार्य गरिरहेको छ ।

दोलखा  गौरीशंकर गाउँपालिका–२ जुगु सतिडाँडा भन्ने स्थानमा तामाकोशीबाट बालुवा लिई जुगुतर्फ जाँदै गरेको को.२त ६१६८ नम्बरको ट्याक्टरको हाईड्रोलिक पाईप फुत्किन गई टेलरले च्यापी सोही गाउँपालिका–२ बस्ने ट्याक्टर चालक ३५ बर्षीय चेतबहादुर खड्काको आइतबार घटनास्थलमै मृत्यु भएको छ ।

डडेलधुरा परशुराम नगरपालिका–५ भट्टराई टोल बस्ने २२ बर्षीय दिपक भट्टराईले चलाएको से.१त ९५८ नम्बरको ट्याक्टर रंगोल खोलामा बालुवा लिन जाने क्रममा आइतबार पल्टिदाँ चालक दिपकको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा सोही ट्याक्टरमा लेबर काम गर्ने नबराज भट्टराई सामान्य घाईते भएकोले उपचारार्थ ईलाका स्वास्थ्य कार्यालय जोगबुढा लगिएको छ ।

कैलाली जोशीपुर गाउँपालिका–२ गढीस्थित सडकमा से.१ त ६८०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा भजनी नगरपालिका–१ बस्ने ३४ वर्षीय राजाराम चौधरी र सोही ठाउँ बस्ने हरिप्रसाद चौधरी घाईते भई उपचारार्थ कोहलपुर मेडिकल कलेज बाँके लगिएकोमा उपचारको क्रममा राजारामको आइतबार मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 मृत फेला 
रौतहट चन्द्रपुर नगरपालिका–७ सार्किटोल बस्ने ६३ बर्षीया सरस्वती अधिकारी आइतबार आफ्नै घरमा मृत फेला परेकी छिन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चिसोको कारणले मृत्यु 
सप्तरी सुरुङगा नगरपालिका–१० बस्ने ५५ बर्षीय बुदीलाल मुखियाको अत्याधिक चिसोको कारण शनिबार मृत्यु भएको छ ।
रौतहट फतुवा बिजयपुर नगरपालिका–८ बस्ने ४८ बर्षीय रामप्रसाद कल्वारको अत्याधिक चिसोको कारण शनिबार मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।