‘हेरिटेज ट्रेल रेस २०१८’ को उपाधि नरेशलाई

२०७४ माघ १ सोमवार
Newsdesk Shikharnews

जुम्ला, १ माघ ।  पहिलो पटक कर्णालीको जुम्लामा साेमवारआयोजित राष्ट्रियस्तरको शीतकालीन खेल ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस २०१८’ को प्रथम उपाधि नरेश बुढाले हात पार्नुभएको छ ।

उहाँले १२ किमीको ट्रेल रेस एक घण्टा १२ मिनेट ३० सेकेण्डमा पूरा गर्नुभएको थियो । त्यसैगरी एक घण्टा १३ मिनेट ४७ सेकेण्डमा सो दूरी पार गरेर राजन रोकाया दोस्रो तथा एक घण्टा १७ मिनेट ४२ सेकेण्डमा पार गर्दै प्रकाश कठायतले तेस्रो स्थान हात पारेको कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

त्यस्तै महिलातर्फ राममाया बुढा १२ किमी दूरी एक घण्टा ३६ मिनेट १५ सेकेण्डमा पार गरी प्रथम हुनुभयो । द्वितीय हुने वन्दना बुढाले एक घण्टा ३९ मिनेट ३४ र तृतीय हुने मञ्जु बुढाले एक घण्टा ४१ मिनेट १५ सेकेण्डमा दूरी पार गर्नुभएको थियो ।
म्याराथन धावक वैकुण्ठ मानन्धरद्वारा उद्घाटन गरिएको खेलमा दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १५, १२ र रु १० हजार, ट्रफी र पदक प्राप्त गर्नुभयो । ‘संस्कृति संरक्षणका लागि हाम्रो पहिलो पाइला’ भन्ने नाराका साथ सम्पन्न खेलमा काठमाडौँ, जाजरकोट, दैलेख, कालीकोट, मुगु, डोल्पा र सुर्खेतका १२ महिला र ६७ पुरुष सहभागी थिए ।

खेलमा एभरेष्ट म्याराथन धावक हरिबहादुर रोकायाले ट्रेल रेसको पथप्रदर्शन गर्नुभएको थियो । जेआर कर्णाली बोर्डिङ्ग स्कूलबाट शुरु भएको रेस बोहोरा गाउँमा रहेको गणेश मन्दिर, दानसाँघु, आचार्यवाडामाथिको भगवती मन्दिर, भण्डारीवाडा, बाहिनी, खोलिकोट, मालाभिड मन्दिर र सिंगाचौरमाथिको बौद्ध स्तूप विजयनगर हुँदै चन्दननाथ मन्दिरमा पुगेर टुङ्गिएको थियो ।

कार्यक्रममा धावक मानन्धरले कर्णाली खेल क्षेत्रको स्वर्णिमस्थल भएको बताउँदै खेलले अहिले विश्व जगत्को ध्यानाकर्षण गरेको जिकिर गर्नुभयो । प्रजिअ विष्णु पौडेलले रेसले यहाँको खेल पर्यटन र संस्कृतिको प्रवद्र्धन गरेको बताउनुभयो ।