पार्टी अनुशासन : एउटा सैद्धान्तिक प्रश्न




२०७४ माघ १९ शुक्रवार
Udaya GM
मोहनविक्रम सिंह
पार्टीभित्रका मतभेदहरूलाई वा पार्टीका स्वीकृत लाइनका विरुद्ध भिन्न मतहरूलाई सार्वजनिक रूपमा बाहिर लैजाने कि नलैजाने ? सामान्यतः यो एउटा व्यवहारिक प्रश्न हो । त्यसका साथै यो एउटा गम्भीर सैद्धान्तिक प्रश्न पनि हो । त्यो प्रश्नमा कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि नै बहस चल्दै आएको छ । माक्र्स–एङ्गेल्सले स्थापना गरेको प्रथम कम्युनिष्ट अन्तर्राष्ट्रियको कालमा पार्टीका सदस्यहरूलाई आफ्ना मतभेदहरूलाई अनियन्त्रित रूपले बाहिर लैजाने वा बेग्लाबेग्लै गु्रपहरू (फ्रयाक्सन) बनाउने समेत छुट थियो । त्यो प्रचलनलाई सामाजिक प्रजातन्त्रवादीहरूले अहिले पनि कायम राखेका छन् । तर लेनिनले त्यस प्रकारको प्रणालीमा आमूल परिवर्तन गरे र पार्टीभित्र कडा अनुशासन कायम राख्नुपर्ने प्रणाली विकसित गरे । त्यो प्रणालीलाई लेनिनवादी सङ्गठनात्मक पद्धति भनिन्छ ।पछि स्तालिन र माओले त्यो प्रणालीलाई परिमार्जित र विकसित गर्दै गए र संसारभरका माक्र्सवादी–लेनिनवादीहरूले त्यो प्रणालीलाई अभ्यास गर्दै आएका छन् । त्यसका साथै त्यो प्रणालीलाई अतिक्रमण गर्ने तथा पार्टीभित्र अनुशासनविहिनता र अराजकताका प्रवृत्तिहरूलाई प्रोत्साहित गर्ने प्रवृत्तिहरू पनि देखा पर्दै आएका छन् । वास्तवमा भन्ने हो भने विश्वव्यापी रूपमा नै यी दुवै प्रवृत्तिहरूको बीचमा एक प्रकारले दुईलाइनको सङ्घर्ष चल्दै आएको छ । हाम्रो पार्टी पनि अनुशासनसम्बन्धी त्यस प्रकारको दुईलाइनको सङ्घर्षबाट बचेको छैन । हाम्रो पार्टीको इतिहासमा पनि एकातिर अनुशासित पार्टीको निर्माण गर्ने, अर्कोतिर, पार्टी अनुशासनलाई शिथिल र कमजोर पार्ने प्रवृत्तिहरू बारम्बार देखा पर्दै आएका छन् । स्वयं हाम्रो पार्टीमा पनि त्यस प्रकारको दुईलाइनको सङ्घर्षको लामो इतिहास छ ।
लेनिनले यो कुरामा जोड दिएका छन् कि आज साम्राज्यवादीहरूले क्रान्तिकारी शक्तिहरूमाथि जसरी चौतर्फी रूपमा आक्रमण गर्ने काम गरिरहेका छन्, त्यो अवस्थामा एउटा खुकुलो प्रकारको र अनुशासनविहीन पार्टी सङ्गठनले उनीहरूको सामना गर्न सक्दैन । उनले पार्टीको अनुशासन सेनाको जस्तो हुनुपर्ने कुरामा जोड दिएका छन् । त्यसैले पार्टी अनुशासनलाई सामान्य अर्थमा सैनिक अनुशासन भन्ने गरिन्छ । त्यसलाई लौह अनुशासन पनि भन्ने गरिन्छ । त्यस प्रकारको अनुशासन टुट्यो भने कम्युनिष्ट पार्टी वास्तवमा कम्युनिष्ट पार्टी रहँदैन । त्यसैले लेनिनले पार्टीमा अत्यन्त उच्च प्रकारको अनुशासन कायम गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
लेनिनले यो पनि स्पष्ट गरेका छन् कि कम्युनिष्ट पार्टी सर्वहारा वर्गको पार्टी हो र त्यसको मुख्य उद्देश्य सबै शोषित, पीडित र मिहेनतकश जनताको सेवा गर्नु हो । तर सामान्य जनता उच्च स्तरको अनुशासनमा बस्न सक्दैनन् । त्यसकारण लेनिनले सामान्य जनता होइन, जनता मध्ये अग्रगामी तत्वहरूलाई लिएर नै पार्टीको निर्माण गर्ने कुरामा जोड दिए । अर्का शब्दमा उनले पार्टीलाई आम जनताको होइन कार्याकर्ताहरूको पार्टी बनाउने कुरामा जोड दिए । त्यसरी पार्टीमा सामेल हुने कार्यकर्ताहरू आम जनताभन्दा बढी सचेत, अनुशासित र जुझारु हुन्छन् । त्यो आवश्यकता पूरा गर्नका लागि उनले पार्टी सदस्यताको नियमलाई पनि अपेक्षाकृत कडा बनाए । यही विवादमा मेन्शेविक र वोल्शेभिकहरू एक–अर्काबाट अलग भए । त्यसले बताउँछ, लेनिनले पार्टी सदस्यता र अनुशासनको प्रश्नलाई कति गम्भीर अर्थमा लिन्थे ।
लेनिनको त्यस प्रकारको सङ्गठनात्मक पद्धतिको उनको आफ्नो समयमा पनि पार्टीभित्र र बाहिर समेत कडा प्रतिवाद गरिएको थियो । रोजा लक्जमवर्गले मुट्ठिभर षडयन्त्रकारी व्यक्तिहरूको पार्टी बनाउन खोजेको भनेर लेनिनको आलोचना गरेकी थिइन् । मेन्सेभिकहरूले पनि लेनिनले पार्टी सदस्यहरूलाई मेशिनको पूर्जा बनाउन खोजेको भनेर विरोध गरेका थिए र त्यसबारे पार्टीमा तीव्र दुईलाइनको सङ्घर्ष चलेको थियो । विरोधीहरूले त्यस प्रकारको अनुशासनको पद्धतिलाई पार्टी कार्यकर्ताहरूको स्वतन्त्रतामाथिको हमला भनेर विरोध गरेका थिए । त्यसबेला लेनिनले विकसित गरेको सङ्गठन पद्दतिको विरोधको सिलसिला अहिले पनि एक वा अर्को प्रकारले चल्दै आएको छ ।
लेनिनले यो कुरामा जोड दिएका छन् कि छलफलमा स्वतन्त्रता हुनुपर्दछ, तर कार्यमा ऐक्यवद्धता हुनुपर्दछ । कुनै कार्यक्रम कसरी सम्पन्न गर्ने ? कुनै विषयमा कुन प्रकारको नीति निर्धारण गर्ने ? त्यसबारे कुनै पनि समितिमा स्वतन्त्रतापूर्वक खुलेर बहस हुन सक्दछ र बहस हुनु पनि पर्दछ । तर कुनै कार्यक्रम वा नीतिबारे बहुमत वा सहमतिद्वारा निर्णय भइसकेपछि कामको दौरानमा कुनै पनि प्रकारको मतभेद प्रकट गर्नु सही हुँदैन । कुनै पनि विषयमा छलफलको बेलामा बेग्लाबेग्लै मतहरू देखा पर्न सक्दछन् । तर आफ्नो मत स्वीकृत नभएको भनेर मतभिन्नता प्रकट गर्ने, काममा बाधा हाल्ने, असहयोग गर्ने वा विपक्षमा प्रचार गर्ने काम गर्न थालियो भने त्यसबाट कामको सफलतामा बाधा पुग्ने कुरा प्रष्ट छ । कुनै बेला कुनै जुलुस वा सभाको आयोजना गर्ने, हडताल गर्ने, सम्मेलन गर्ने, चुनावमा भाग लिने, त्यसलाई बहिष्कार गर्ने आदि विभिन्न प्रश्नहरूमा भिन्न मत राख्ने साथीहरूले निर्धारित काममा विरोध गर्ने काम गरे भने त्यो कार्यमा बाधा पुग्ने कुरा स्वतः सिद्ध छ । त्यस प्रकारको व्यवहारलाई हामीले अनुशासनविहिनता वा अराजकता भन्छौँ । त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिनका लागि लेनिनले छलफलको स्वतन्त्रता र काममा एकताको सिद्धान्त प्रतिपादन गरेका हुन् ।
समग्र रूपमा लेनिनको सङ्गठन प्रणाली जनवादी केन्द्रीयताको सिद्धान्तमाथि आधारित छ । त्यसको अर्थ हुन्छ, तलबाट जनवाद र माथिबाट केन्द्रियता । सबै कमिटीहरू तलबाट निर्वाचित हुँदै जान्छन् । नीतिको निर्धारणको सिलसिलामा पनि विभिन्न समितिहरूमा छलफल हुने गर्दछ । तल्लो तहका कमिटीहरूबाट माथिल्लो तहका कमिटी वा नेतृत्वको कामको आलोचना हुन सक्दछ । तलबाट गएका प्रतिनिधिहरूका आधारमा नै माथिल्लो तहका कमिटीहरूको निर्वाचन हुन्छ । देशभरिबाट गएका प्रतिनिधिहरूका आधारमा नै केन्द्रीय समितिको निर्वाचन हुन्छ र पार्टीका आधारभूत नीतिहरूको निर्धारण हुन्छ । यो जनवाद हो । अर्कातिर, कुनै कमिटीको बहुमतले गर्ने निर्णयलाई सबै सदस्यले मान्नु पर्दछ । माथिल्लो कमिटीको निर्णय वा निर्देशनलाई सबै तल्ला कमिटीहरूले मान्नु पर्दछ । दुई महाधिवेशनका बीचमा केन्द्रीय कमिटी नै पार्टीको सर्वोच्च अङ्ग हो । त्यसैले त्यसका निर्णय वा निर्देशनहरूलाई पार्टीका सबै समिति वा सदस्यहरूले मान्नुपर्दछ । यही नै जनवादी केन्द्रीयता हो । पार्टीको सम्पूर्ण सङ्गठनात्मक प्रणाली त्यही प्रणालीमाथि आधारित हुन्छ ।
पार्टीमा कतिपय बेलामा जनवादको पक्षलाई कमजोर पार्ने प्रवृत्तिहरू पनि देखा पर्ने गर्दछन् । डा. केशरजङ्ग रायमाझीको समयमा दोस्रो महाधिवेशनले पास गरेको गणतन्त्रको प्रस्तावलाई उपेक्षा गर्ने रपछि संविधानसभाको निर्णयको विरोध गर्ने कार्यहरू भए । पाँचौ महाधिवेशनपछि महाधिवेशनले पास गरेका त्यसका कैयौँ निर्णयहरूलाई तोडमोड वा अतिक्रमण गर्ने काम गरियो । जब पार्टी केन्द्रीय समितिले आधारभूत रूपमा नीतिगत प्रश्नहरूमा नै त्यस प्रकारको व्यवहार गर्दछ, पार्टी सदस्यहरूलाई त्यसका विरुद्ध जाने वा विद्रोह गर्ने अधिकार पनि हुन्छ । त्यस प्रकारको विद्रोह सही हुन्छ वा हुँदैन ? त्यो इतिहासले फैसला गर्ने कुरा हो । दोस्रो महाधिवेशन र पाँचौ महाधिवेशनपछि हामीले विद्रोहको बाटो समातेका थियौँ । अब इतिहासले यो प्रमाणित गरिसकेको छ कि हामीले लिएको विद्रोहको बाटो सही थियो । एकताकेन्द्रसित सम्बन्ध विच्छेद गर्ने हाम्रो निर्णय पनि सही थियो । तर जुन बेलासम्म पार्टी एउटै रहन्छ, त्यो अनुशासित रूपमा नै रहनुपर्दछ वा विद्रोह भएपछि बन्ने नयाँ पार्टीको पनि अनुशासनका आधारमा नै निर्माण हुनुपर्दछ । त्यसभित्र देखापर्ने कुनै प्रकारको अनुशासनविहिनता र अराजकतालाई सही भन्न सकिन्न ।
माथि हामीले द्वितीय वा पाँचौँ महाधिवेशनपछि महाधिवेशनका निर्णयहरूको उलङ्घन भएका कतिपय उदाहरणहरूको उल्लेख गर्यौँ । तर कार्यनीतिक रूपमा कतिपय प्रश्नहरूमा महाधिवेशनका निर्णयहरूलाई बदल्ने अधिकार केन्द्रीय समितिलाई हुन्छ । तर के.स.ले गर्ने त्यस प्रकारका सबै निर्णयहरू स्वतः सही हुन्छन् भन्ने होइन । तिनीहरू एकातिर रणनीतिको सेवा गर्ने र, अर्कातिर, कुनै खास बेलाको ठोस परिस्थितिसँग मेल खाने प्रकारको हुनुपर्दछ । कुनै खास बेलामा त्यस प्रकारका निर्णयहरू पार्टीका क्रान्तिकारी उद्देश्यका विरुद्ध पनि हुन सक्दछन् । संसारका विभिन्न पार्टीहरूमा कार्यनीतिसम्बन्धी प्रश्नहरूमा हुने विवादले नै गम्भिर रूप लिने गरेका वा फुट हुने गरेका पनि कैयौँ उदाहरणहरू पनि पाइन्छन् । हाम्रो पार्टीमा कुनै केन्द्रीय कमिटी गरेका निर्णयहरूलाई अर्को के.स.ले गलत ठहर्याएका वा बदलेका कैयौँ उदाहरणहरू छन् । त्यस प्रकारका प्रश्नहरूबारे बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै निर्णयहरू गरिन्छन् र एउटै नीति एउटा समयमा सही र अर्को समयमा गलत पनि हुन सक्दछ ।
पार्टीभित्र अनुशासनविहिनता र अराजकता कैयौँ रूपमा देखा पर्ने गर्दछ । प्रथम, कैयौँपल्ट केन्द्रीय समिति, माथिल्लो तहको समिति वा बहुमतको निर्णयप्रति पार्टी सदस्यहरू वा बिभिन्न समितिहरूको विरोध हुन सक्दछ । पार्टीका कैयौँ समिति वा सदस्यहरूको त्यस प्रकारका निर्णयहरूप्रति भिन्न मत वा असहमति हुन सक्दछ । तर त्यस प्रकारका भिन्न मत वा असहमतिका बाबजूद बहुमत, उच्च समिति वा केन्द्रीय समितिका निर्णय वा निर्देशनहरूलाई लागू गर्न सबै पार्टी सदस्य वा समितिहरू तयार हुनुपर्दछ । त्यसबारे देखाइने कुनै पनि प्रकारको मतभेद, असहयोग वा पार्टीका नीति, निर्णय वा निर्देशनका विरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपले विरोध गर्नु पार्टी अनुशासनका विरुद्धको कुरा हो । पार्टीमा त्यस प्रकारको स्थिति उत्पन्न भयो भने कुनै पनि कार्यक्रमलाई सफलतापूर्वक अगाडि बढाउन मुश्किल पर्दछ । त्यसकारण त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिन पार्टीले सधैँ सतर्कता र दृढतापूर्वक प्रयत्न गरिरहनु पर्दछ ।
द्वितीय, पार्टीभित्रका भिन्न मतहरूलाई कहाँसम्म, पार्टीभित्र तलसम्म वा बाहिर लैजान मिल्छ वा मिल्दैन ? त्यसबारे पनि पार्टीका खास सङ्गठनात्मक नियमहरू हुन्छन् र हाम्रो पार्टीमा पनि छन् । केन्द्रीय समितिले स्वीकार गरेको अवस्थामा कतिपय विषयहरूमा सार्वजनिक रूपमा नै बहस चलाउन सकिन्छ र त्यससम्बन्धी भिन्नमतहरूलाई सार्वजनिक रूपमा नै लैजान सकिन्छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनसम्बन्धी प्रस्ताव, पार्टी इतिहाससम्बन्धी प्रस्ताव आदि विषयहरूमा सार्वजनिक रूपले नै बहस चलाइएको थियो । एकताकेन्द्रसित पार्टी एकता गरिसकेपछि पनि मतभेदका विषयहरूलाई खुला रूपले बाहिर लैजाने निर्णय गरिएको थियो । तर कुनै खास बेलामा कुनै खास विषयलाई पार्टीभित्र तलैसम्म वा पार्टी बाहिर पनि लैजाने निर्णय गरिएका विषयहरूमा बाहेक सामान्य अवस्थामा आफ्नो समितिभन्दा तल वा बाहिर पनि लैजान मिल्दैन । पार्टीका नै सदस्यहरू भए पनि आफ्नो समितिभन्दा बाहिरका असम्बन्धित पार्टी सदस्यहरूसित त्यसबारे कुनै कुराकानी गर्न मिल्दैन । कुनै विषयमा कुनै असन्तोष भए पनि असम्बन्धित कमिटी, पार्टी सदस्य वा बाहिर त्यसबारे कुनै अभिव्यक्ति प्रकट गर्न पाइदैन । यहाँसम्मकि कोही केन्द्रीय कमिटीको सदस्य भए पनि सम्बन्धित कमिटीसित असम्बन्धित केन्द्रीय कमिटीको कुनै सदस्यसित पनि त्यसबारे विचार आदान प्रदान गर्न मिल्दैन । तर सम्बन्धित समितिले माथिल्लो तहको सम्बन्धित समितिलाई आफ्ना मतभेदहरूबारे लेखेर पठाउने वा रिपोर्ट गर्न सक्दछ । यी नियमहरूको उल्लङ्घन पनि अनुशासनविहिनता हुन्छ र कतै त्यस प्रकारको कार्य गरिएमा छानवीन गर्ने, स्पष्टिकरण माग्ने वा कारवाही गर्न सकिन्छ ।
तृतीय, पार्टीमा मतभेद भएका वा असन्तोष भएका विषयहरूमा गोप्य प्रकारले भित्रभित्रै प्रचार गर्नु पार्टी केन्द्र, उच्च कमिटि वा वहुमतका निर्णयहरूका विरुद्ध प्रचार गर्नु वा आफ्ना भिन्न विचारहरूको पक्षमा समर्थन जुटाउने प्रयत्न गर्नु गुटवन्दी हो । कतिपय अवस्थामा कुनै कमिटिका विरुद्ध समान्तर वैठक वा परस्परमा सल्लाह गरेर पनि त्यस प्रकारको गुटवन्दी गर्ने गरिन्छ । त्यस प्रकारको कारवाही पनि गुटवन्दीको एउटा गम्भिर रूप हो । त्यस प्रकारको गुटवन्दी गरेर पार्टीलाई फुटाउन प्रयत्न गरेका कैयौँ उदाहरणहरू पनि हाम्रा अगाडि छन् । गतकालमा कैयौँपल्ट हामीले त्यस प्रकारको स्थितिको सामना गर्दै आउनु परेको छ । त्यसकारण पार्टीमा त्यस प्रकारको स्थितिको सृजना नहोस् र त्यसको परिणामस्वरूप पार्टीलाई गम्भिर प्रकारको क्षति पुग्न नपावस् भन्नका लागि पनि हामीमा उच्च प्रकारको सतर्कता हुनुपर्दछ ।
हाम्रो पार्टीमा द्वितीय महाधिवेशन, तृतीय महाधिवेशन, चौथो महाधिवेशन, पाँचौ महाधिवेशन वा छैठौँ महाधिवेशनपछि वा एकताकेन्द्रसित पार्टी एकता गरेपछि बहुमत, उच्च कमिटी वा केन्द्रीय समितिका स्वीकृत नीति वा निर्देशनहरूलाई कार्यान्वयन गर्न अस्वीकार गर्ने, असम्बन्धित पार्टी सदस्यहरूसित खुला रूपले आफ्ना मतभिन्नताहरूबारे कुराकानी गर्ने, सार्वजनिक रूपले नै आफ्ना मतभेदहरूलाई बाहिर लैजाने कार्यहरू प्रसस्त मात्रामा हुने गरेका थिए । त्यसको परिणामस्वरूप कतिपयपल्ट फुट पनि भएका थिए । जस्तै कि द्वितीय, पाँचौ महाधिवेशनहरूपछि । तृतीय महाधिवेशनपछि पार्टी कैयौँ टुक्राहरूमा बाँडिएको थियो ।पछि केन्द्रीय न्यूक्लसद्धारा नै विभाजित पार्टीलाई एकीकृत गरेर चौथो महाधिवेशन गरिएको थियो । मसाल र एकता केन्द्र बीचमा भएको पार्टी एकता पनि टुटेको थियो । त्यसरी पार्टीका सङ्गठनात्मक नियमहरूको उल्लङ्घन भएर अनुशासन विहिनता र अराजकताको स्थिति उत्पन्न भएपछि त्यसका कैयौँ गम्भीर दुष्परिणामहरू हुने गर्दछन् । त्यसकारण त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिनको लागि हामी सधैँ सतर्क र प्रयत्नशील हुनुपर्छ ।
सातौँ महाधिवेशनपछि पार्टीमा अनुशासनको कुनै गम्भीर समस्या देखापरेको छैन । तैपनि बीचबीचमा त्यो दिशातर्फ प्रयत्न नगरिएको भने होइन । भारतमा कार्यरत केही जिम्मेवार साथीहरूले भित्रभित्रै गुटबन्दी गरेर सङ्गठनलाई टुक्राउन वा माओवादी सङ्गठनमा सामेल गराउन सङ्गठित र योजनावद्ध प्रकारले षडयन्त्र गरेका थिए । तर भारतस्थित कार्यकर्ताहरूको शतर्कताका कारणले उनीहरूको त्यो प्रयत्न असफल भएको थियो । त्यो बाहेक पार्टीभित्रका मतभेदहरू वा आफ्ना असन्तोषहरूलाई सार्वजनिक रूपले बाहिर लैजाने केही कार्यहरू अहिले पनि ठाउँठाउँमा हुने गरेका छन् । बाहिर वा असम्बन्धित स्थानमा लैजाने केही कार्यहरू कतैकतै हुने गरेका छन् । पार्टीले त्यस्ता विषयहरूमा आवश्यकतानुसार छानवीन गर्ने, स्पष्टिकरण माग्ने वा कारवाही गर्ने गरेको छ । पार्टीभित्रको एकता र अनुशासनलाई कायम राख्नका लागि अपनाइने त्यो सामान्य र आवश्यक कार्य पनि हो । त्यस प्रकारका कारवाहीहरू बढेमा पार्टी सङ्गठन, पार्टीका नीति र कार्यक्रम वा आन्दोलनमा समेत गम्भीर आघात पुग्ने छ । त्यसकारण पार्टीमा त्यस खालका अनुशासनविहिन प्रकारका गतिविधिहरू बढ्न नदिनका लागि सबै पार्टी समिति वा सदस्यहरूमा उच्च प्रकारको सतर्कता आवश्यक हुन्छ ।
पार्टीमा अनुशासनविहिनता वा अराजकताको स्थिति किन पैदा हुन्छ ? यसबारे पनि गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता हुन्छ । सर्वप्रथमता यो एउटा वर्गीय समस्या हो । हाम्रा सबै जसो पार्टी सदस्यहरू निम्न पूँजीपतिवर्गबाट आएका हुन्छन् । पार्टी अनुशासन खास गरेर सर्वहारावर्गको चरित्रगत विशेषता हो । निम्न पूँजीपति वर्गलाई आफ्नो चरित्रगत विशेषताका कारणले नै कडा अनुशासनमा बस्न कठिन हुन्छ । कुनै नियममा बाँधिएर बस्न उनीहरूको स्वभाव नै हुन्न । सैद्धान्तिक प्रशिक्षण, जनताका बीचमा कार्य वा लामो पार्टी जीवनको अभ्यासपछि नै उनीहरू अनुशासनका लागि अभ्यस्त हुँदै जान्छन् । वास्तवमा आफ्ना निम्नपूँजीवादी स्वभावका कारणले कतिपय इमान्दार र कत्र्तव्यनिष्ठ पार्टी सदस्यहरूमा पनि अनुशासनका समस्याहरू देखापर्ने गर्दछन् । यस प्रकारका समस्याहरूलाई हामीले सामान्य सैद्धान्तिक र मैत्रीपूर्ण तरिकाले नै हल गर्ने प्रयत्न गर्नुपर्दछ ।
कतिपय अवस्थामा निम्न पूँजीवादी प्रवृत्तिहरू केही विकृत रूपमा पनि देखापर्ने गरेका छन् । निम्न पूँजीवादी प्रवृत्तिको एउटा स्वभावजन्य प्रवृत्ति के हो भने उनीहरूले पार्टीमा काम गर्दा पनि केही व्यक्तिगत लाभलाई प्राप्त गर्ने प्रयत्न गर्दछन् । त्यो व्यक्तिगत लाभको आकांक्षा कुनै कमिटीको सदस्य बन्ने, पदाधिकारी बन्ने व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्ने आदि रूपमा प्रकट हुन्छ । त्यस प्रकारका आकाक्षांहरू पूरा गर्न गुटबन्दी गर्ने पनि गरिन्छ । खास अवस्थामा त्यस प्रकारका प्रयत्न पूरा नभएमा बदला, इस्र्या वा कुण्ठाका भावनाहरू पनि पैदा हुन्छन् । कतिपय व्यक्तिहरूले आफ्ना त्यस प्रकारका विकृत धारणाहरूका कारणले पार्टीभित्र अराजकताको स्थिति पैदा गर्ने, पार्टीलाई फुटाउने, दलबदल गर्ने पनि गर्दछन् । हाम्रो पार्टीमा गतकालका त्यस प्रकारका कैयौँ उदाहरणहरू छन् । त्यस प्रकारका कैयौँ व्यक्तिहरूलाई हामीले कारवाही गर्ने वा पार्टीबाट निष्कासन गर्ने पनि गर्नुपरेको छ । सामान्य प्रकारले पार्टीभित्र देखा पर्ने अनुशासनसम्बन्धी कमजोरीहरूलाई सैद्धान्तिक र मैत्रीपूर्ण प्रकारले हल गर्न सकिन्छ । तरमाथि उल्लेखित बिभिन्न प्रकारका विकृति र नियतपूर्ण तरिकाले देखा पर्ने अनुशासनविहिन सोचाइहरूका कारणले पार्टीभित्र कैयौँपल्ट ध्वङ्सात्मक वा शत्रुतापूर्ण स्थितिको सृजना हुन्छ । तैपनि त्यस प्रकारका सोचाइहरू पार्टीका साथीहरूमा भएका निम्नपूँजीवादी सोचाइहरूका कारणले नै पैदा हुने गर्दछन् । त्यसैले त्यस प्रकारका सोचाइहरूले ध्वङ्सात्मक र शत्रुतापूर्ण रूप लिन नपाउन् भन्नका लागि हामीले विशेष ध्यान दिनुपर्दछ ।
अनुशासनसित जोडिएको एउटा अर्को पक्षतिर पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । कैयौँपल्ट विरोधी पार्टीहरूले योजनावद्ध प्रकारले पार्टी फुटाउन पनि घूसपैठ गर्ने गर्दछन् । त्यस प्रकारका तत्वहरूले पार्टीभित्र पैदा गर्ने अनुशासनविहिनता, अराजकता वा गुटवन्दीको प्रकृति स्पष्ट रूपले पार्टी विरोधी हुन्छ । हाम्रो पार्टीको एकताकेन्द्रसँग पार्टी एकता भएपछि त्यो दिशामा योजनावद्ध प्रकारले प्रयत्न गरियो । हाम्रो भारतस्थित सङ्गठनलाई फुटाएर माओेवादीमा लैजानको लागि पनि योजनावद्ध प्रकारले गुटवन्दी र षडयन्त्र गरिएको थियो । कैयौँपल्ट पार्टीलाई फुटाउनको लागि दुश्मन शक्तिहरूले आफ्ना एजेण्टहरूको घूसपैठ गर्ने गर्दछन् । तर हाम्रो पार्टीमा अहिले त्यस प्रकारको कुनै उदाहरण छैन वा त्यसबारे हामीलार्ई कुनै जानकारी प्राप्त भएको छैन । अन्य पार्टी वा सङ्गठनहरूमा दुश्मन शक्तिहरूले घूसपैठ गरेका कैयौँ उदाहरणहरू छन् । हाम्रो पार्टीमा अहिलेसम्म त्यस्तो नभएको भएपनि त्यस प्रकारका सम्भावनाहरूलाई हामीले पूरै अस्वीकार गर्नु हुँदैन र त्यसबारे ठूलो सतर्कता अपनाउनु पर्ने आवश्यकता छ । विश्वव्यापी रूपमा साम्राज्यवादको, भारतीय विस्तारवादको नेपालभित्र पनि दुश्मन शक्तिहरूको जुन ठूलो सञ्जाल छ, त्यो अवस्थामा त्यस प्रकारको सतर्कताको आवश्यकता कैयौँ गुणा बढेर जान्छ ।
हामीले जुनसुकै प्रकारको भए पनि अनुशासनविहिनता वा अराजकताबाट पार्टीको रक्षाको लागि जुन जोड दिन्छौँ, त्यसको उद्देश्य पार्टीका कुनै कार्यकर्ता वा सदस्यहरूप्रतिको वैमनस्यता वा पूर्वाग्रह होइन तर पार्टीको वृहत्तर हितमाथि ध्यान दिएर नै त्यसो गरिरहेका हुन्छौँ । पार्टीभित्र बलियो एकता नभइकन पार्टीले कुनै पनि नीति वा कार्यक्रमलाई प्रभावशाली प्रकारले अगाडि बढाउन सक्दैन । अनुशासनका अभावमा पार्टीभित्रको एकता कायम रहन सक्दैन । पार्टीभित्र जतिसुकै मतभेद वा अन्तरसङ्घर्ष भए पनि अनुशासनले नै त्यस प्रकारको मतभेद र अन्तर्संघर्षका बिचमा एकता कायम राख्दछ । त्यस प्रकारको अनुशासनको अभावमा पार्टीभित्र देखा पर्ने मतभेद वा अन्तरसङ्घर्षले पार्टीमा गम्भिर अराजकताको स्थिति पैदा गर्दछ र त्यसको परिणामस्वरूप पार्टी कैयौँ टुक्रामा विभाजित हुन्छ (तश्रो महाधिवेशनपछि जस्तै) वा पार्टीमा गम्भिर प्रकारको फूटको स्थिति सृजना हुन्छ (चौथो महाधिवेशन जस्तै) । कुनै एउटा व्यक्तिमा पनि अनुशासनविहिनताको प्रवृत्ति देखा पर्यो भने समयमा त्यसलाई नियन्त्रण गरिएन भने त्यसले विष्फोटक वा विकराल रूप लिन पुग्दछ । त्यस्तो स्थिति पैदा हुन नदिनाका लागि नै हामीले यो प्रश्नमाथि अत्यन्त गम्भिर दृष्टिकोण अपनाउने गरेका छौँ र अपनाउनु पनि पर्दछ ।
अनुशासनको प्रश्न खालि कम्युनिष्ट पार्टीभित्रको मात्र समस्या होइन । वुर्जुवाहरूले पार्टीभित्रको अनुशासनको प्रश्नलाई सिद्धान्ततः नै गलत मान्दछन् र त्यसलाई पार्टीभित्रको अधिनायकवादी प्रणाली बताउँछन् । दक्षिणपन्थी संशोधनवादीहरूले पनि अहिलेको विश्वको परिस्थितिमा लेनिनले प्रतिपादन गरेको सङ्गठनात्मक प्रणालीलाई परिमार्जन गर्नुपर्ने कुरामा जोड दिन्छन् । उनीहरूले केन्द्रीय कमिटिका नीति, निर्णय वा निर्देशनहरूलाई सबै पार्टी समिति वा सदस्यहरूले मान्नुपर्ने, तिनीहरूलाई पूरै पालना गर्नु पर्ने, आफ्ना मतभेदहरूलाई सार्वजनिक रूपमा व्यक्त गर्न नपाइने जस्ता नियमहरू आजको युगमा उपयुक्त नभएको बताउँछन् । उनीहरूको जोड अनुशासनमाभन्दा अभिव्यक्ति स्वतन्त्रतामा बढी हुन्छ । त्यस प्रकारका वुर्जुवा वा दक्षीणपन्थी संशोधनवादी विचारहरूको असर हाम्रा साथीहरूमा पनि अंशतः पर्ने गर्दछ । खास गरेर निम्न सैद्धान्तिक स्तर भएका र अपरिपक्व साथीहरूमा त्यस प्रकारको असर बढी पर्ने गर्दछ । कतिपय साथीहरू शिक्षाको दृष्टिकोणले माथिल्लो स्तरका भएपनि माक्र्सवादी–लेनिनवादी दृष्टिकोणको कम विकास भएका कारणले उनीहरूलाई पार्टी अनुशासन पालन गर्न मुश्किल पर्दछ । उनीहरूमा माक्र्सवादी लेनिनवादी दृष्टिकोणको विकासका लागि हामीले प्रयत्न गर्नुपर्दछ । आम निम्नपूजीपति वर्ग र किसानहरूको बिचबाट आएका कार्यकर्ताहरूलाई पनि उच्च प्रकारको सैद्धान्तिक प्रशिक्षण दिएर नै क्रान्तिकारी कार्यकर्ताको रूपमा बदल्ने प्रयत्न गर्नुपर्दछ ।
त्यसरी अनुशासनलाई स्थायी र ठोस रूप दिनाको लागि माक्र्सवादी–लेनिनवादी शिक्षा, कार्यकर्ताको सर्वहाराकरण र सर्वहारा दृष्टिकोणको विकासमा नै मुख्य जोड दिनुपर्दछ । त्यसले नै अनुशासनको समस्यालाई पनि मूलभूत रूपमा समाधान गर्दछ । तर त्यस प्रकारको दृष्टिकोण र अनुशासनको निर्माणको समस्या सँधै नै एउटा जटिल प्रक्रिया हो र पार्टीमा देखा पर्ने नयाँ नयाँ अवस्था अनुसार त्यसमा नयाँनयाँ समस्याहरू देखा पर्ने गर्दछन् । त्यसैले बेग्ला–बेग्लै समयमा देखा पर्ने नयाँ प्रकारको स्थिति, जटिलता र आवश्यकता अनुसार त्यसलाई ठोस रूपमा विकसित गर्ने प्रयत्न गरिरहनुपर्दछ । त्यस प्रकारको प्रक्रियाको बिचबाट हामी लामो समयदेखि अगाडि बढ्दै आएका छौँ तर त्यो दिशामा हाम्रा प्रयत्नहरू पर्याप्त नभएको कुरा अहिले पनि नयाँ नयाँरूपमा त्यस प्रकारका समस्याहरू पैदा हुने गरेको कुराबाट प्रष्ट छ । त्यसैले हामीले गतकालका सकारात्मक र नकारात्मक दुवै प्रकारका अनुभवहरूबाट शिक्षा लिंदै पार्टी अनुशासनलाई ठोस रूप दिन र पार्टीको सङ्गठनात्मक प्रणालीलाई सही माक्र्सवादी लेनिनवादी पद्धतिमा विकसित गर्न प्रयत्न गरिरहनुपर्दछ ।

Loading…