महिला नेतृले खसी काट्दा…

२०७४ माघ २१ आइतवार
NewsDesk ShikharNews

जनयुद्धको मैदानमा अनेकौँ नयाँ–नयाँ कुराहरू देख्न सुन्न पाइनु स्वाभाविक नै थियो । एक जिल्लाका मानिसहरू अर्को जिल्लामा र एक गाउँका मानिसहरू अर्को दूरदराजका गाउँघरमा जानेक्रम तीव्र भएको थियो त्यो बेला । यसले गर्दा एक ठाउँकाले अर्को ठाउँका जनसमुदायको संस्कृति, रहनसहन, भेषभूसा आदि देख्न र सिक्न पाउने वातावरण बनेको थियो ।

जनयुद्धको एक महत्वपूर्ण केन्द्रबिन्दु रोल्पा जिल्लाको थवाङ थियो । जनयुद्धकै दौरान पार्टी तथा जनवर्गीय संगठनका कयौँ बैठकहरू यहाँ सम्पन भए । यस्ता अवसरहरूमा वाहिरबाट त्यहाँ पुग्ने नेता कार्यकर्ताहरूले त्यहाँको मातृसत्ता अझै बाँकी रहेको मगर संस्कृतिलाई पनि नजिकबाट देख्न–बुझ्न पाए । वाहिरबाट त्यहाँ पुग्ने ठुला महिला नेतृहरूले महिलाहरूलाई समान अधिकारको कुरा उठाउँदै प्रशिक्षण तथा भाषण गर्दा त्यहाँका पुरुषहरूले उल्टै हामी पुरुषहरूलाई पो समान अधिकार चाहिएको छ भनेर व्यङ्ग्य गरेको देखेर ती बाहिरिया महिला नेतृहरू छक्क पर्ने गर्दथे । त्यहाँ महिलालाई समान अधिकार मात्र नभई पुरुषहरू भन्दा अझ बढी स्वतन्त्रता र अधिकार रहेको त्यहाँका पुरुषहरूले तर्क र तथ्य पेश गर्दा वाहिरिया महिला नेतृहरू दङ्ग पर्दथे । त्यहाँका पुरुषहरू भन्ने गर्दथे कि हामी पुरुषहरू माथि लेकमा भेँडा बाख्रा वस्तु हेर्न बस्नु पर्दछ । महिलाहरू भने तल वेशीमा घर बजारमा सुखसँग बस्ने गर्दछन्, आदि ।

एकपटक पार्टीको एक भेला प्रशिक्षण थवाङमा भैरहेको थियो । विहानपख महिलाहरू बसेको ठाउँमा हल्लिखल्ली भयो । वाहिर चौरमा स्थानीय एक बहिनीले राँगो काट्न लागेकी छिन् भन्ने समाचार कुनै एकजनाले महिलाहरू बसिरहेको ठाउँमा पुऱ्याएपछि लौ हेर्न जाऔँ भन्दै सबै हतारमा उठे । पुरुषले मात्र राँगो खसी काटेको देखिरहेका महिला नेतृहरूलाई एक महिला बहिनीले विशाल राँगो काट्न लागेको खबर पाएपछि अचम्मित हुँदै त्यो दृष्य हेर्ने इच्छा जाग्नु स्वाभाविक नै थियो । उनीहरूको लागि यो पितृसत्तावादका विरुद्ध मातृसत्ताको विजय जस्तै लाग्ने उत्सव नै थियो । महिलाहरू पनि पुरुषहरू जतिकै शक्तिशाली हुन्छन् भन्ने प्रमाण आफ्नै आँखाले हेर्ने अवसर कोही पनि गुमाउन चाहँदैनथे ।

खसी राँगो काट्ने बेलामा गाउँघरतिर सानो सानो भीड त्यत्तिकै पनि जम्मा हुने गर्दछ । त्यसमाथि एक महिलाले राँगो ढालेको हेर्न भनेर पार्टीको प्रशिक्षण कार्यक्रममा आएका महिलाहरू सबै हेर्न जम्मा भएपछि भीड ठुलो भैहाल्यो । ती वहिनीले अलि लजाउँदै ‘ल… दिदीहरू पनि सबै हेर्न आउनुभएछ’ भनिन् । पुरुष कामरेडहरूले पनि महिला कामरेडहरूलाई ‘ल तपाईंहरू पनि यो सिकेर हिम्मत गर्नुस्’ भन्न थाले ।

वाहिर रमिता हेर्ने सानो भीड जम्मा भैसकेको थियो । खसी राँगो काट्ने बेलामा गाउँघरतिर सानो सानो भीड त्यत्तिकै पनि जम्मा हुने गर्दछ । त्यसमाथि एक महिलाले राँगो ढालेको हेर्न भनेर पार्टीको प्रशिक्षण कार्यक्रममा आएका महिलाहरू सबै हेर्न जम्मा भएपछि भीड ठुलो भैहाल्यो । ती वहिनीले अलि लजाउँदै ‘ल… दिदीहरू पनि सबै हेर्न आउनुभएछ’ भनिन् । पुरुष कामरेडहरूले पनि महिला कामरेडहरूलाई ‘ल तपाईंहरू पनि यो सिकेर हिम्मत गर्नुस्’ भन्न थाले । स्थानीय पुरुष कामरेडहरूले ब्यङ्ग्य गर्दै भन्न थाले, ‘ल, हाम्रो गाउँमा त महिला–पुरुष बराबरी छन्, तपाईंहरूको गाउँमा कस्तो छ कुन्नी ?’

एकछिनपछि ती बहिनीले ठुलो बन्चरो लिएर आइन् । आँखा चिम्लन नपाउँदै तिनले राँगोको टाउकोमा बन्चरोको पछाडीतर्फबाट प्रहार गरिन् । राँगो पुक्लुक्कै ढल्यो । अर्को एक प्रहारले राँगो शिकार भयो । दर्शक बनेका महिला नेतृहरूले खुशीले ताली पिटे ।

महिला नेतृहरूमा त्यस घटनपछि एक बहस शुरु भएछ । समान अधिकार पाउनका लागि समान काम पनि गर्ने हिम्मत महिलाहरूले गर्न पर्दछ । महिलाहरूले सगरमाथा चढिसके । रोल्पा रुकुमका महिला दिदी–बहिनीहरूले राँगो काटिसके । हामी माओवादी महिला नेतृहरूले जाबो खसी काट्न पनि हिम्मन गरिएन भने केको माओवादी नेतृ भइयो र ?

केही दिनपछि थवाङभन्दा अलि टाढाको एक गाउँमा महिला नेतृहरूको बैठक थियो । बैठकमा आएकाहरूलाई खुवाउन खसी काट्ने योजना रहेको ती महिला नेतृहरूले थाहा पाए । त्यसपछि महिलाहरूको निर्णय भएछ कि महिला नेतृले नै खसी काट्ने । तर विरालोको घाँटीमा घण्टी कसले झुण्ड्याउने भनेझैँ कसले खसी काट्ने भन्ने समस्या बाँकी भयो । महिला अधिकारको कुरा उठाउन त सजिलो छ तर महिलासमान कर्तव्य पूरा गर्न कति गारो छ भन्ने बुझ्न कठिन भएन र कसले खसी काट्ने भन्ने निर्णय गर्न नै समस्या पर्न थाल्यो । महिलाले नै खसी काट्ने भनिसके । अब त महिला नेतृहरूको इज्जतको सवाल उठ्ने भयो । त्यहाँ उपस्थितमध्ये कम उमेरकी महिला नेतृलाई सबैले सम्झाउन थाले, तिमी नै बलिया छौ, तिमिले नै सक्छौ, आदि ।

अन्तमा ती महिला नेतृ तयार भइन् । खुकुरी र खसीलाई तयार बनाइयो । ती महिला नेतृले खुकुरी लिइन् । एकजनाले घाँटीको डोरी समाते, अर्कोले खुट्टा समाते । खसीको घाँटीमाथि खुकुरी प्रहार भयो । तर खसी त भ्या–भ्या कराउँदै उफ्रेर भाग्यो । हामी दर्शक बनेकाहरूलाई न रुनु न हाँस्नु भयो । जनसेनाका भाइहरूले कान्लामुनि भागेको खसीलाई पक्रेर ल्याए । खसीको घाँटीमा एक इन्च घाउ पनि भएको रहेनछ । जनसेनाका एक भाइले त्यही खुकुरी लिएर एकै प्रहारमा खसी काटे ।

एक वरिष्ठ महिला नेतृले खुकुरी त खसीको घाँटीमा थपक्क राखे जस्तो मात्र भयो, बेस्सरी हान्नु पो पर्छ भन्दै थिइन् । खसी काट्ने महिला नेतृले जवाफ दिइन्– ‘अनि… आफैले खसी काट्ने हिम्मत गर्नुभएको भए हुने नि । मैले त आधा इन्च भए पनि काटेँ, तपाईंले त खसीको रौँ पनि काट्न सक्नु हुन्थेन हो !’

त्यसपछि हाँसोको फोहरा छुट्यो ।

(रवीन्द्र श्रेष्ठले लेखेको यो लेखलाई हामीले घटना र विचार साप्ताहिकबाट लिएका हौं ।)