वाम एकता नहुने संकेत, यी हुन् मुख्य कारण

२०७४ माघ २२ सोमवार
Newsdesk Shikharnews

पछिल्लो केही दृश्यहरुलाई हेर्ने हो भने एमाले र माओवादी बीचको पार्टी एकता ट्रयाकभन्दा बाहिर गइरहेको छ । हालै भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपाल भ्रमण सम्पन्न गरी फर्किए लगत्तै बाम एकतामा संकटको भूमरी मडारिन थालेको हो । स्वराजले फरक फरक स्थानमा नेपालका नेताहरुलाई एक्लाएक्लै भेटेकी थिइन् । उनले नेपाली नेतासँगको भेटमा के कस्ता मन्त्र दिइन् अहिले नै उजागर त भएको छैन तर यति निश्चित हो उनको भ्रमण पछि वाम एकतामा आशंकाका बादल मडारिन थालेका छन् ।

पूर्व राजाले सोमबार भारत भ्रमणमा जानुपूर्व त्रिभूवन विमानस्थालमा गरेको हुंकारले पनि यस्तै केही संकेत गरेको छ । अन्य समयमा सामान्य अवस्थामा रहेका पूर्व राजा ज्ञानेन्द्रले प्रकृतिको उद्धाहरण दिदै रुखका पातहरु झरे पनि, फेरिए पनि जरा कहिल्यै फेरिन्न जरा भनेको जरा नै हो भन्दै सांकेतिक रुपमा धेरै अर्थ लाग्ने भनाई व्यक्त गरेका छन् । त्यस्तै उनले खुलेरै भारतमा हिन्दुत्वको बारेमा छलफल गर्ने भन्नुले पनि पूर्व राजालाई यो साहस कहाँबाट आयो भन्ने पनि छलफलको विषय बन्न सक्छ ।

माओवादी सचिवालय सदस्य नारायण दाहालको भनाइले पनि सांकेतिकरुपमा वाम एकता नहुने संकेत गरेको छ । उनले चितवनमा एकिकृत पार्टीको अध्यक्ष वा प्रधानमन्त्री नपाए एमालेसँगको एकता असम्भव रहेको प्रतिक्रिया दिए । माओवादी नेताको यो भनाईलाई माओवादी संस्थापन पक्षको आधिकारिक भनाई पनि मान्न सकिन्छ ।

यता एमाले र संघीय समाजवादी फोरमको गठबन्धनबाट पनि सरकार बन्न सक्ने अनुमान गर्न थालिएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले खासै ठूलो राजनितिक हैसियत नभएका उपेन्द्र यादवलाई करिब ४५ मिनेट समय दिनु र भेटवार्ता लगत्तै यादव हसिलो मुद्रामा प्रस्तुत हुनुले यी दुई बीचको वार्ताले केही अर्कै निर्णय गरिएको अनुमान गर्न सकिन्छ ।