वाम एकता : गर कि मर

२०७४ माघ २३ मंगलवार
NewsDesk Shikharnews

उदय जीएम

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकअर्कालाई लगाएका आक्षेप र गरेका कटाक्षहरु सुन्दा लाग्थ्यो, यिनीहरु एकअर्काका मुखै हेर्न नसक्ने स्थितिमा छन् । बोली बाराबार र पानी बाराबारको अवस्थामा रहेका यी दुई पार्टीका दुई शीर्ष नेता रातारात प्रेमीप्रेमिका जस्ता देखिए । भ्यालेन्टाइन डेमा आउने मोडलहरुका पोज बिर्साउने तस्वीरहरु भाइरल भए यी दुई शीर्ष नेताका । सर्वसाधारणदेखि ठूलाठूला राजनीतिक विश्लेषकहरु र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुलाई नै चकित बनाउने गरी यी दुई नेताले चुनावी तालमेलमात्रै होइन पार्टी एकता गर्नेसम्मको घोषणा गर्न भ्याए । यी दुई बूढाहरुले हुँदाहुँदा यो पनि घोषणा गर्न भ्याए कि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई सिटमा विजय हासिल गर्छ ।

परिणाम नगदै हातमा छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ वामगठबन्धनले दुईतिहाई सिटमा विजय हासिल गरिसकेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ जोड्दा दुईतिहाई पुग्न झिनो संख्या मात्रै कम हुन्छ । दुईतिहाई नपुगे पनि वाम गठबन्धनले लगाउँदै आएको नारा “स्थायी सरकार”का लागि इन्द्रेका बाउ चन्द्रेले पनि रोक्न सक्ने छैन । झण्डै दुईतिहाईको बलियो र शक्तिशाली सरकार निर्माणको मार्गप्रशस्त भइसकेको छ । “तँ चिता, म पुराउँछु” भनेझैं केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले चिताएको कुरा नेपाली जनताले ठाउँका ठाउँ पुर्याइदिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक दुबैमा जनताले वाम गठबन्धनमै आफ्नो प्रचण्ड अभिमत जाहेर गरेका छन् । सिटहरुमा तालमेलमात्रै होइन चुनावपछि दुबै पार्टीको एकता हुने उद्घोष र साझा घोषणापत्रसहित चुनावी मैदानमा आएको वाम गठबन्धनलाई प्रचण्ड जनादेश प्राप्त भएको हो ।

वाम गठबन्धनलाई यति धेरै प्रचण्ड जनादेश प्राप्त हुनुका एक हैन अनेक कारण छन् । उसै त नेपालमा वामपन्थी मत वा रुझान अत्यधिक छ । यत्रतत्र छरिएको वामपन्थी मत एकत्रित हुँदा परिणाममा वाम गठबन्धनका लागि सकारात्मक हुने नै भयो । नेपालमा नयाँ संविधान घोषणा जारी हुन नदिने भारतीय षडयन्त्र र त्यसलाई चिरेर संविधान जारी गर्नेदेखि नेपालमाथि भारतीय नाकाबन्दीमा तत्कालीन केपी शर्मा ओलीको चट्टानी अडान वाम गठबन्धनको अर्को पूँजी थियो । भारतसँगको निर्भरतालाई तोड्दै चीनसँगको सम्बन्ध विस्तार र नाका तथा व्यापार खोल्ने सम्झौता केपी शर्मा ओली सरकारको आफैमा ऐतिहासिक कदम थियो । त्यसमाथि आफ्नो क्रियाशीलता र कर्मका कारण एमाले र माओवादी केन्द्र आफैमा जनस्तरमा भिजेका र शक्तिशाली पार्टी थिए । दुई ठूला पार्टीमात्रै होइन राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र कथाले मागेका केही ठाउँमा राप्रपालाई समेत सहयोग गर्ने र सहयोग लिने सवालमा वाम गठबन्धनले बनाएको फराकिलो छातिले पनि यसप्रति सकारात्मक वातावरण निर्माण भयो । मुख्य कुरा त दुई ठूला दलहरु चुनावपछि पार्टी एकता नै गर्ने सन्देशसहित चुनावमा होमिएपछि देशव्यापी माहोल सिर्जना गर्नमा यसले ठूलो भूमिका निर्वाह गर्यो । अलग अलग पार्टीमा विभक्त हुँदा निराश वामपन्थी जनमतसमेत सक्रिय भएर वाम गठबन्धनको पक्षमा सक्रिय रह्यो ।

एकातिर वाम गठबन्धनको एकत्रित ताकत र त्यसतर्फ उर्लिएको जनमत थियो भने अर्कोतर्फ प्रतिष्पर्धी नेपाली कांग्रेसको फितलो र कमजोर प्रस्तुति । सरकारको प्रमुख भएकाले पनि धेरै काण्ड र अपजसहरुको भारी बोकेर हिडिरहे प्रधानमन्त्री शेरबहादुर देउवा । आइजीपी नियुक्तिदेखि प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग, उम्मेदवार छनौटमा मनोमानीदेखि नातावाद र कृपावादको भुमरीमा फस्दै गए शेरबहादुर देउवा । प्रधानमन्त्री शेरबहादुर देउवाको छवि पार्टीभित्र र बाहिर धुमिल हुँदै गयो र यी अत्यन्त विवादित र अलोकप्रिय पात्रका रुपमा हठी छविमा प्रस्तुत भइरहे । समग्रमा कांग्रेसको भारी यस्तो भयो कि यता सम्हाल्यो उता फुस्कियो, उता सम्हाल्यो यता फुस्कियो । यतिसम्म कि कांग्रेसले आफूभित्रको अन्तर्घातलाई पनि रोक्न असक्षम रह्यो । चुनावी मैदानमा देखिएको कांग्रेसको असफलताको स्वाभाविक लाभ वाम गठबन्धनलाई जाने निश्चित थियो, गयो ।

अब ? अब वाम गठबन्धनको पक्षमा प्रचण्ड जनादेश आउँदै गर्दा यसका शीर्ष नेता र दोस्रो तहका नेताहरुका बोलीमा हल्का दम्भको छनक पाउन थालिएको छ । शीर्ष नेता वा दोस्रो, तेस्रो तहका नेताहरुका दम्भमिश्रित प्रतिक्रियाहरुले अत्यन्त उत्साहित र आशावादी देखिएको ठूलो तप्कामा हल्का चिसोपन घुसेको छ । उत्साहमा निराशापन घुस्न थालेको छ । चुनावको अवधिभर निकै आशावादी देखिएको जनताको मन अलिकति चिसिएको छ । वाम गठबन्धनमा समाहित दलका नेताहरुले एकअर्कालाई निषेधै गर्ने खालका अभिव्यक्तिहरुले झस्काएको छ ।

जनताको पाटोबाट अब कुनै कसर बाँकी छैन । जनताले गर्ने आफ्नो काम गरिसकेका छन् । राष्ट्रियस्तरमा वाम गठबन्धनले आफ्नो साझा घोषणापत्रमार्फत अगाडि सारेका एजेण्डाहरु पूरा गर्नुको अर्को कुनै विकल्प छैन । प्रत्येक जिल्ला, निर्वाचन क्षेत्र र प्रदेशसभाको निर्वाचन क्षेत्रका आआफ्ना स्थानीय विशेषता र आवश्यकताका आधारमा उम्मेदवारहरुले फरक र स्थानीय एजेण्डाहरुको पनि उठान गरेका छन् । प्रत्येक उम्मेदवारहरुले स्थानीय समस्या तथा एजेण्डाहरु समेटिएको प्रतिवद्धतापत्रहरु पनि सार्वजनिक गरेका छन् । त्यसबाहेक जनस्तरबाट मागपत्रका रुपमा आएका समस्या वा योजनाहरुलाई एकत्रित गरी ती सबै माग वा समस्याहरुको सम्बोधन हुनेगरी गुरुयोजना बनाएर अगाडि बढ्नुको कुनै विकल्प छैन । तलदेखि माथिसम्म र माथिदेखि तलसम्म सेटै मिलाएर विजयको माला पहिराउनुको तात्पर्य पनि यही होला ।

जनताले वाम गठबन्धनका उम्मेदवारहरुको खाप्चो हेरेर मतदान गरेका पक्कै होइनन् । वाम गठबन्धनले लगाएको देशको विकास र समृद्धिको नारामा लोभिएका हुन् । विकास र समृद्धिको आशा गरेका हुन् । जनचाहना त्योभन्दा अर्को छैन । पछिल्ला २ दशकलाई फर्केर हेर्ने हो भने १० वर्ष माओवादीको जनयुद्ध र १० वर्ष शान्तिप्रक्रिया वा संक्रमणकालमा बितेको छ । बितेको २ दशकमा मुलुकले विकास र समृद्धिका लागि ध्यान केन्द्रित गर्नै पाएको छैन । जे भएका छन्, ती त्यसै भएका छन् भन्दा पनि हुन्छ । त्यसकारण मुलुक वा जनता सबैको एउटै चाहना छ, विकास र समृद्धि । विकास र समृद्धिले नै मुलुकका सबै खाले समस्याको सम्बोधन गर्नेछ भन्ने जनविश्वास छ । यही विश्वास र बुझाइका कारणले नै वाम गठबन्धनलाई जनमत चुलिएको हो ।

पार्टी एकताको शुरुवात सिद्धान्त, राजनीति, रणनीति, कार्यनीति, कार्यदिशा जस्ता विषयहरुमा छलफल र बहसबाट गर्ने परिपाटी वा प्रचलन थियो । यसपटक चाहिँ विषयको उठान माथिबाट भए तापनि त्यसलाई मैझारो मार्ने काम तलबाट भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहाडलाई सम्याउने काम कार्यकर्तालाई दिएर एकता प्रक्रियामा होमिएको छ । कार्यकर्ताहरु नेताका आदेशलाई सहर्ष स्वीकार गरेर मैदानमा होमिए र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहाडलाई सम्याइसके । कार्यकर्ताहरु अहोरात्र खटेर भोकै, प्यासै जुटेर दुबै पार्टीका कार्यकर्ताहरुले लडाइँकै मैदानमा मन माझिसके । एकअर्काका नाडी पनि छामिसके । दिलैदेखि एक भइसके र आफ्ना अगाडि विजयको झण्डा गाडिसके । कोही कसैले पार्टी एकताबाट विमुख हुने कुरा गरेमा त्यो दुर्भाग्य नै हुनेछ ।

जेसुकै कारणले होस्, तलदेखि माथिसम्म वाम गठबन्धनले वर्चश्व कायम गरिसकेको छ । अब वाम गठबन्धनका अगाडि कि गर कि मर बाहेक अर्को कुनै बहाना वा विकल्प बाँकी छैन । यो यथार्थलाई आत्मसात गरेर पार्टी एकतालाई मूर्तरुप दिनुका साथै मुलुकलाई विकास र समृद्धिको दिशामा डोर्याउने हो भने पक्कै पनि वाम गठबन्धनले अझै केही दशक अहिलेको वर्चश्व र दबदवालाई कायम राख्ने निश्चित छ । जनभावनालाई लात हानेर फेरि पनि एकापसमा षडयन्त्र, सत्तासमीकरण, पद र प्रतिष्ठाको लडाइँलाई निरन्तरता दिन थालेमा यो नै वाम गठबन्धनको सबैभन्दा ठूलो दुर्भाग्य र अवसानको कारक बन्ने निश्चित छ ।

पछिल्लो २ दशकसम्म सत्तासमीकरणको खेलले आजित भएका नेपाली जनताले वाम गठबन्धनलाई झण्डै दुई तिहाईको जित दिलाएका छन् । यो जनादेशले नेपाली जनताको विकास र समृद्धिप्रति कति चाहना छ भन्ने कुरालाई पुष्टि गर्छ । वाम गठबन्धनका अगाडि अब कुनै पनि बहाना वा विकल्प बाँकी रहेका छैनन् । देशलाई विकास र समृद्धितर्फ लैजानुको अर्को कुनै बाटो छैन । अहिलेको प्रचण्ड जनादेश भन्छ, कि काम गर्न कम्मर कस कि खरानी घस्न तयार भएर बस । किनकि, कुनै बहाना र कुतर्क अगाडि सारेर अझै पनि पद र प्रतिष्ठाको लडाइँ लडिरहने हो भने झण्डै समान हैसियतको नेपाली कांग्रेस मैदानमा छ । वाम गठबन्धन अलिकति पनि चुक्ने हो भने स्वभावैले कांग्रेस लाभान्वित हुनेछ र कांग्रेसले आज भोगिरहेको नियति पाँच वर्षपछि वाम गठबन्धनले भोग्न वाध्य हुनुपर्ने छ । त्यसैले, कि काम गर्न कम्मर कस कि पाँच वर्षपछि खरानी घस्न तयार भएर बस ।

(समाप्त)