महराको पहलमा गाउँ नै झिलिमिली, स्थानीयले चलाउने उद्योगधन्दा




२०७४ माघ २६ शुक्रवार
Udaya GM

केशरमान बुढाथोकी

रोल्पा, २६ माघ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको पहलमा रोल्पाको एक गाउँ नै झिलिमिली भएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता महराले रोल्पाबाट दोस्रो संविधानसभाको चुनाव जितेपछि निर्वाचन क्षेत्र बिकास कोषबाट १० लाख रुपैयाँ निकासा गरी सुरुवात गरेको लघु जलविद्युत आयोजनामा बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र खुमलटारको ४५ लाख ९० हजार, स्थानीय समुदायको ९ लाख ७७ हजार, लक्षित समूहको ४ लाख ५० हजार र करिब १५ लाख बराबरको श्रमदानबाट निर्माण गरिएको १८ किलोवाट बिद्युतबाट रोल्पा नगरपालिकाको वडा न १० धवाङका २ सय १८ घर लाभान्वित भएका छन् । ती घरहरु बिजुलीले झिलीमिली बनेका छन् ।

जलविद्युतको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अथिति तथा प्रतिनिधि सभाका सदस्य कृष्णबहादुर महराले देश अब बिकास र समृद्धितर्फ अगाडि बढेको बताए । उनले अब गाउँघरले मुहार फेर्ने बताए । नेता महराले युगौंदेखि अन्धकारमा बसेको यो गाउँले झिलिमिली भएपछि स्थानीयस्तरमा साना तथा घरेलु उद्योग सञ्चालन गरी जनजीवन सहज बनाउनतिर लाग्नुपर्ने आवश्यकता औंल्याए ।

गाउँ नै झिलिमिली भएपछि अब कुटानी पिसानी तथा फर्निचर उद्योग खोलेर गाउँलेलाई सुबिधा दिने आफूहरुको योजना रहेको स्थानीय मानबहादुर बुढाले बताए ।

यस्तै बत्ती गाउँमै आएपछि आफ्नो गाउँलाई अन्धकारबाट मुक्त गराउन पहल गर्ने सबै लाई धबाङखोला लघु जलबिद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष मोतीलाल डाँगीले धन्यवाद दिएका छन् ।

Loading…