बाम एकतामा देखिएको ‘ईश्र्या रोग’

२०७४ माघ २८ आइतवार
Newsdesk Shikharnews

विश्व विख्यात अंग्रेजी नाटककार सेक्सपियरले १६०३ तिर एउटा नाटक ‘ओथेलो’ लेखेका छन् । उक्त नाटक अहिलेको इटालीको भेनिस सहरको सेरोफेरोमा लेखिएको नाटक हो । उक्त नाटकमा नाटकको मुख्य पात्र ‘ओथेलो’ भेनिस सहरको सैनिक जनरल प्रमुखको रुपमा कार्यरत हुन्छ । उसका २ जना सैनिक साथीहरु हुन्छन ‘लागो’ र ‘क्यासियो । ‘लागो’ बरियता क्रममा ‘क्यासियो’ भन्दा सिनियर सैनिक अफिसर हुन्छ ।

यी दुई सैनिक अफिसरमा ‘लागो’ बाहिरी रुपमा ओथेलोसँग मिलेजस्तो देखिएपनि ऊ भित्रभित्रै इर्ष्यालु हुन्छ । तर क्यासियो भने ओथेलोप्रति बफादार र ओथेलोको प्रिय सैनिक जनरल हुन्छ । त्यसकारण, ओथेलोले बरियताक्रममा लागो सिनियर भएपनि उसको सट्टा क्यासियोलाई उसको प्रमुख सैनिक अफिसर बनाउँछ । त्यसपछि सुरु हुन्छ लागोको सकुनी रुप । र अन्त्यमा ओथेलो र डेसडेमोनाको प्रेममा लागोले शंकाको ‘पहाड’ तेर्साएर डडेलो लगाउँछ र उनीहरुको बियोगान्त रुपमा अन्त्य हुन्छ ।

नाटकको सुरुवातमा भेनिसको मन्त्रि ‘ब्राबान्टीओ’ को अत्यन्त सुन्दरी छोरी हुन्छिन् डेसडेमोना । डेसडेमोना र ओथेलोको गहिरो प्रेम हुन्छ । अन्त्यमा, डेसडेमोना र ओथेलोको ‘भागी’ विवाह हुन्छ ।
कार्यको सिलसिलामा ओथेलो आफ्नी श्रीमती र सैनिक जनरलहरुको साथमा नयाँ कार्य क्षेत्र टर्की जान्छ । उक्त समय, ऊ आफ्नी श्रीमतीसँग यति शंकालु बन्छ कि उनको हरेक पवित्रताभित्र उसले कलंक शिवाय केहि देख्दैन ।

ओथेलोको भलो नाचिताउने सैनिक जनरल ‘लागो’ ले ओथेलो र डेसडेमोनाको झगडामा आगोमा घिउ थपेझैँ, झनै शंका निम्ताउन, ओथेलोलाई डेसडेमोनाको चरित्र खराब भएको कुरा लागाउँछ । र अन्त्यमा, ईष्या र शंकाले चुर भएको ओथेलो सरासर आफ्नी गङ्गाझैँ निर्दोष र निस्कलनक पत्नीको मध्यरातमा उसलाई खाना खान पर्खिरहेकी समयमा घाँटी थिची विभत्स हत्या गर्छ । यस प्रकारको भयानक ईष्यालु स्वभाव, जसले सामान्यभन्दा सामान्य कुरामा समेत अनेकौ शंका–उपशंका गर्छ, त्यस प्रकारको समस्यालाई मेडिकल साइन्समा ओथेलो सिन्ड्रोम समेत भन्ने गरिन्छ । यो हाम्रो समाजको खराब नियति समेत हो ।

सेक्सपियरको कथा जस्तै लाग्ने नेपालको राजनीतिको नियति पनि विचित्रको छ । यसको साइड इफेक्ट अहिले एमाले र माओवादीबीच गर्ने भनिएको एकतामा प्रस्टसँग देखिएको छ । चाँडै गर्ने भनिएको बाम एकतामा थर्मोमिटरको ‘पारो’माथि उक्लिन सकेको छैन । उक्त समय फिल्मीशैली जस्तो लाग्ने एकता तथा गठबन्धनको समाचारले सबैलाई आश्चर्य चकित बनाएको थियो । त्यसपछि चुनावमा होमिएको उक्त गठबन्धन मुलुकको सबभन्दा ठूलो पार्टी बनेर समेत उदायो । यसपटक नेपाली जनताले मुलुकको विकासको लागि बाधक ‘राजनीतिक अस्थिरता’ हटाउनको लागि एकपटक नेपाली कम्युनिष्टहरुको हातमा सत्ताको चाबी सुम्पिए । चुनावपछि, राजनीतिको कोर्स फिरियो तर चरित्र भने अलिकति पनि परिवर्तन भएन । र, अहिले एकताको हलो, कुर्सीको भागबण्डामा नराम्रोसँग अड्किएको छ । ओली कमरेडलाई कांग्रेस र माओवादीले अल्पायुमै ढालीदिएको रिस फेर्न मुलुकको प्रधानमन्त्री बन्दैछन् साथै, कमरेडलाई एकीकृत पार्टीको अध्यक्ष पनि छोड्ने इच्छा छैन ।

बाम एकता ढिला हुनको पछाडी कतिपय आलोचकले बाम एकता कम्युनिष्टहरुको वैचारिक मिलनभन्दा पनि सत्ता प्राप्तिको भ¥याङ बनाउने कार्य मात्र थियो भन्ने टिप्पणी समेत गरे । वास्तवमा, यो उनीहरुको कार्यले देखाएको स्पष्ट प्रमाण समेत हो । अझ सेक्सपियरको भाषामा भन्ने ईष्या रोग अर्थात् ओथेलो सिन्ड्रोम नै हो । आखिर किन बाम एकतामा सकस देखेरहेको छ ? के यो वास्तविक एकताको लागि गरिएको पहल थियो ? या सत्ताको लागि गरिएको एक नाटकमन्चन थियो ? लेखकले यहाँ सटिक मुल्यांकन गर्न चाहन्छ ।

ईष्या रोग अर्थात् ‘ओथेलो’ सिन्ड्रोमको राजनीति, विगतदेखि वर्तमानसम्म
२०१७ साल पौष १ गतेको राजा महेन्द्रको कदमलाई पनि ओथेलो प्रवृति थियो भनेर कतिपय आलोचकहरुले टिप्पणी गरेका छन् । बिपी कोइरालासँगको टकराव र बहुदलीय पद्दतिसँगको बदलाबमा महेन्द्रको कदम थियो भनेर कतिपय इतिहासकारहरुले बिश्लेषण गर्ने गरेका छन् । ५२ वर्ष मात्र बाँचेका राजा महेन्द्रले २०१७ साल पुस १ गतेदेखि उनको जीवनको अन्त्य (२०२८ माघ १७) सम्म प्रत्यक्ष शासन गरे ।

तर त्यस समय राष्ट्रियताको सवालमा राजा महेन्द्रले दह्रो खुट्टा टेकेका थिए भनेर कतिपयले उनको उक्त कदमलाई लिने गरेका छन् । उनले त्यस समय, राष्ट्रिय एकता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रतालाई नै दाउमा राखेर सत्तारुढ दल नै कर्तव्यच्यूत हुँदै गएपछि राजनैतिक दलहरूमाथि तत्काल प्रतिबन्ध लगाएका तर्क प्रस्तुत गरेका थिए । तर उनमा एक प्रकारको व्यकिगत टकराव भने अवश्य पनि रहेको भनेर बुझ्न सकिन्छ ।

निःसन्देह राजा महेन्द्र राष्ट्रवाद, राष्ट्रियता, प्रगति, धर्म–संस्कति र राष्ट्रिय एकताका कट्टर पक्षधर थिए । साथै, चीनका नेता माओ र चाउ–एनलाई, भारतका नेता जवाहरलाल नेहरू, अमेरिका, ब्रिटेन, फ्रान्स, जापान र जर्मनीजस्ता शक्तिशाली राष्ट्रदेखि अफ्रिका, ल्याटिन अमेरिका आदिका शासकहरूसँग पनि उनले सुमधुर सम्बन्ध बनाएर उनको राजनैतिक चातुर्यता प्रदर्शन भने गरेका थिए ।

त्यसपछि, प्रजातन्त्रको उदय पश्चात राजनैतिक दलहरुमा आपसी खिचातानी, बदलाब झनै बढ्दै गइराखेको छ । यसको पछिल्लो उदाहरणको रुपमा अहिले संविधान संसोधन तथा कार्यान्वयनको सम्बन्धमा देखिएको टकराबलाई लिन सकिन्छ । नेकपा माओवादीले आफ्नै सत्ताघटक नेकपा एमालेलाई पुरा अवधि काम गर्न नदिएर विस्थापित गर्यो भने नेपाली कांग्रेस र माओवादी केन्द्रको सरकार गठन हुनासाथ एमालेलाई ईष्या रोगले यसरी समत्योकी, उसैले मधेसवादी दलहरुसँग गरेको समझदारीलाई समेत अस्विकार गर्यो । यो प्रवृति यस्तो मौलाउँदै जाँदैछ कि, यसले सिंगो मुलुक दिन प्रतिदिन ध्वंशात्मक बन्दै गएको छ ।

नेपाली कम्युनिष्ट स्थापनाको त्यो बर्ष !
सन् १९४९ अप्रिल २२ तारिख तदनुसार २००६ साल वैशाख १० गतेका दिन नेपाल कम्युनिष्ट पार्टी समितिको नामबाट क. पुष्पलालले पर्चा नं. १ (क) आफ्नो हस्तलिखित दस्तावेज प्रकाशमा ल्याए । यसै दिनलाई नेपालमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मानिन्छ । र पछि नेपाल कम्युनिष्ट पार्टी प्रतिबन्धित भएकाले कमरेड मनमोहनले राजसंस्थालाई मान्ने र शान्तिपूर्ण बाटोबाट अघि बढ्ने भनी दरबारमा लेखेर पठाए । पार्टीमाथिको प्रतिबन्ध पनि हट्यो । तर पुष्पलाल संघर्षबाटै पार्टीमाथिको प्रतिबन्ध हटाउन बाध्य पार्नुपर्छ भन्ने मान्यता राख्थे ।

२०१४ साल जेठमा काठमाडौँमा पहिलो पटक खुल्ला रूपमा दोस्रो महाधिवेशन सम्पन्न भयो । महासचिव मनमोहन उपचारको क्रममा चीनमा लामो समयसम्म बस्नुपरेकाले कावा महासचिव भई डा. रायमाझीको नेतृत्वमा दोस्रो महाधिवेशन सम्पन्न भएको थियो । उक्त महाधिवेशनमा क. पुष्पलाल अल्पमतमा परे तर कावा महासचिव रायमाझी पक्ष हावी भएपछि पार्टी संशोधनवादको दलदलमा फस्यो । त्यहीबाट, नेपाली कम्युनिष्ट आन्दोलन संसोधनवादको दलदलमा फस्न सुरु गरेको हो ।

वि.सं. २००६ सालदेखि २०१९ सम्म एउटै कम्युनिष्ट शक्तिका रुपमा रहे पनि तेस्रो महाधिवेशनपछि नेपाली कम्युनिष्ट आन्दोलन दर्जनौं समूहमा विभाजित भयो । तेस्रो महाधिवेशनपछि विभाजित कम्युनिष्ट घटकहरु विभिन्न शक्तिमा विभाजित हुँदा उनीहरुको आफ्नै इतिहासको विरासत मात्रै छैन, स्कुलिङ र इतिहासको मूल्याङ्कनका सन्दर्भमा पनि आ–आफ्नै धारा छन् ।

फरक–फरक कोणबाट राजनीतिक संघर्षमा होमिँदा प्राप्त गरेका उपलब्धी र समस्याहरु फरक कोणबाटै संश्लेषित भएका छन् । तिनीहरुको एकीकृत समीक्षा र उचित संश्लेषण बिना एकताले सार्थक रुप लिन सक्दैन । नेपाली कम्युनिष्ट आन्दोलनमा अवसरवाद, दक्षिणपन्थी संशोधनवाद, आधुनिक संशोधनवाद र नवसंशोधनवादको रूपमा प्रकट हुँदै आएको छ । विश्व कम्युनिष्ट आन्दोलन हुँदै नेपालमा एमालेदेखि, माले, मसाल हुँदै एमाओवादीसम्म आउँदा उनीहरूभित्र पुँजीवादी विचार बोकेका पार्टीका मान्छे हुन् भने बाहिर रुपमा कम्युनिष्ट खोल आढेर देखा परेका लिङ्गरहित कम्युनिष्ट हुन् ।

न पुँजीवादी न त कम्युनिष्ट । केहि अगाडी मात्र माओवादीले एमालेलाई यसो भनिरहँदा, माओवादी केन्द्र ऊ सँग विवाह बन्धनमा बाधिँदै आफ्नो पनि लिङ्ग पहिचान नभएको व्यवहारिक र तथ्य संगत पुष्टि गरेको छ । माओवादी केन्द्रभित्र चलिरहेको एकताको बहस कुनै सिद्धान्त, विचार र क्रान्तिका निम्ति होइन, पद, प्रतिष्ठा र पैसाको निम्ति हो भन्ने कुरा उनीहरूका सयौं र हजार तथ्यहरूले पुष्टि गरिसकेका छन् ।

को–ओर्डिनेसन केन्द्र, माले–माक्र्सवादी हुँदै एमालेमा विकसित भएको नेकपा (एमाले) को ऐतिहासिक विश्लेषण र चौम, मसाल, एकता केन्द्र हुँदै माओवादीका रुपमा विकसित भएको माओवादी केन्द्रको ऐतिहासिक विश्लेषणमा धेरै ठूलो राजनीतिक खाडल देखिन्छ । तात्कालीन को–ओर्डिनेसन केन्द्र चौमभन्दा क्रान्तिकारी थियो, कोकेले चौमलाई सुधारवादी, दक्षिणपन्थी शक्ति ठान्थ्यो ।

चालीसको दशकको आसपास मसालले तात्कालिन मालेलाई क्रान्तिकारी सिद्धान्तबाट च्यूत भएको शक्ति ठान्दथ्यो । २०४६ सालको जनआन्दोलनपछि माले–माक्र्सवादीबीच भएको एकताले बनेको एमाले तत्कालका लागि राजतन्त्रको वैधानिक सीमाभित्र रहेर राजनीतिक प्रतिस्पर्धा गर्ने निश्कर्षमा पुग्यो । यता, मसाल, विद्रोही मसाल, चौम र सर्वहारा श्रमिक संगठनको एकताबाट बनेको एकता केन्द्र संसदीय चुनावलाई उपयोग गर्दै जनयुद्धको आधार तयार पार्न जुट्यो ।

वि.सं. २०४८ को आम निर्वाचनपछि एकता केन्द्र संसदलाई उपयोग गरेर जनयुद्धको उठान गर्ने दिशामा अगाडि बढ्यो भने एमाले संसदीय प्रजातन्त्रको सुदृढीकरणको अभ्यासमा लाग्यो । यसपछि राजनीतिक संघर्ष र दृष्टिकोणमा अझैं ठूलो राजनीतिक दुरी देखा पर्यो । अहिले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सैद्धान्तिक, वैचारिक र राजनीतिक प्रश्नमा ठूलै मतभेद रहँदै आएको छ । तर सन् १९५६ मा तात्कालीन रुसी कम्युनिष्ट पार्टी र चीनियाँ कम्युनिष्ट पार्टीबीच चलेको वैचारिक विवाद जस्तै एमाले र माओवादी केन्द्रबीच चलेको थियो । पार्टीहरु जन्मने र निर्माण हुने विचारले हो नकि व्यक्तिगत लालच र मोहको कारणले ।

तर जनताको बहुदलीय प्रतिस्पर्धात्मक राजनीति स्वीकार गरेको एमाले सर्वहारा वर्गको अधिनायकत्व र राज्यको विलोपीकरणजस्ता माक्र्सवादका आधारभूत मान्यताबाट धेरै नै पर पुगिसकेको पार्टी हो । अझ प्रष्ट शब्दमा भन्ने हो भने अमेरिकी राजदुत पार्टी कार्यालय आउँदा माक्र्स र लेनिनको फोटो समेत लुकाउने पार्टीको रुपमा परिचित पार्टी हो ।

अर्कोतिर माओवादी केन्द्र समाजवादी व्यवस्थामा राजनीतिक प्रतिस्पर्धाका लागि तयार पार्टी हो । साथै, सामन्तवाद एवं साम्राज्यवादका पक्षधर शक्तिहरुलाई अंकुश लगाएर मात्र राजनीतिक प्रतिस्पर्धाले समाजवादको यात्रा हुँदै राज्यको विलोपीकरण सम्भव हुने सैद्धान्तिक मान्यतामा थियो । अहिले एमाले र माओवादी केन्द्र दुवै आफ्ना पुराना मान्यता र दृष्टिकोणलाई तिलान्जली दिँदै उक्त ठाउँमा आइपुगेका छन् ।

२०२८ सालको झापा विद्रोहलाई एमाले बामपन्थी भड्काव ठान्दथ्यो भने जनयुद्धमा होमिएको माओवादी झापा विद्रोहलाई आफ्नो आधारबिन्दु ठान्दथ्यो । यही वैचारिक मतभेद एमाले र माओवादी केन्द्रबीच आजपर्यन्त कायमै छ । यसको नयाँ ढंगले समीक्षा र संश्लेषण नगरेसम्म पार्टी एकताले सार्थकता प्राप्त गर्न सक्दैन ।

(लेखक : युवराज पाण्डे, हाल बेलायतमा छन् । समसामयिक विषयमा लेखहरु लेख्ने गर्छन् ।)