सरकार गठनअघि पार्टी एकताको सम्भावना कम छ : नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता)




२०७४ माघ २८ आइतवार
Newsdesk Shikharnews

काठमाडौं, माघ २७ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठनअघि पार्टी एकता हुने सम्भावना कम भएको बताएका छन् ।

शिखरन्युजससँगको विशेष अन्तर्वार्तामा उनले त्यसअघि राजनीतिक लाइन र संगठनात्मक संरचनामा केही सहमति गर्न सकिन्छ की भन्नेर प्रयास भैरहेको बताए ।

‘सरकार गठनअघि नै एकीकृत पार्टीको घोषणा गर्न पाए राम्रो हुन्थ्यो । कमसेकम सरकार गठनअघि यो राजनीतिक लाइन र यो संगठनात्मक संरचनाको आधारमा पार्टी एकता गर्ने भयौं भनेर प्रारुप मात्रै घोषणा गर्न पायौं भने हुन्थ्यो भन्नेमा हामी छौं’ श्रेष्ठले भने, ‘त्यसपछि प्राविधिक विषयलाई मिलाउने विषय हो । सरकार गठनअघि पार्टी एकता हुने सम्भावना कम देखिन्छ ।’ एकताका लागि माओवादीबाट नेतृत्वको पूर्वसर्त नभएको बताए ।

‘नेतृत्वको विषयमा हाम्रो पूर्वसर्त केही पनि छैन । जो साथीहरुले गर्नुभएको छ, व्यक्तिगत विचार हो । एकताको विषयमा पद पूर्वसर्त हुनसक्दैन,’ उनले भने ‘एमालेले पनि यस विषयमा पूर्वसर्त प्रस्तुत नगरोस भन्ने चाहान्छौं । विचारको बारेमा र सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित हुनेछ ।’

श्रेष्ठले पार्टी एकताको बारेमा सकारात्मक रुपमा छलफल चलिरहेको बताए । ‘एकता संयोजन समिति र दुवै दलका अध्यक्षको बीचमा पनि कुराकानी चलिरहेको छ । यो ठूलठूला दुई दलबीचको संगठनात्मक एकता हो । यो कार्यगत एकता, तालमेल वा सहकार्यको कुरा होइन’ श्रेष्ठले भने, ‘वैचारिक विषयमा पनि भिन्न प्रस्तावनामा समेत चलिरहेका दुई पार्टीहरु र संगठनात्मक रुपमा पनि ठुला पार्टीबीच एकता त्यति सजिलै हुनेवाला होइन ।’

‘पार्टी एकताको प्रक्रियामा अघि बढिरहेका छौं त्यसलाई निश्कर्षमा पु¥याउँछौं,’ उनले भने । बामपन्थी गठबन्धनले स्थिरता र समृद्धि तथा राष्ट्रियताको अडानका लागि मत पाएको भन्दै श्रेष्ठले भने, ‘यस कुरमा चुके जनताले दण्डित गर्नेछन् ।’

उनले नेपालमा हुने कुनै पनि ठूला परिवर्तनको घटनामा भारतले आफ्नो भूमिका खोज्ने र त्यस्तो भूमिका नभएपनि आफूले नै गराएको हो भनेर जस लिन खोज्ने प्रवृत्ति रहेको बताए ।


फोटो/भिडियो : बिस्नु फडेरा