राजपा नेता प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित




२०७४ फागुन १ मंगलवार
NewsDesk Shikharnews

काठमाडौं, १ फागुन । राष्ट्रिय जनता पार्टीका नेता सरोज यादव प्रदेश नं. २ को सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । प्रदेश–२ को सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमले समर्थन गरेपछि यादव निर्विरोध सभामुख निर्वाचित भएका हुन् ।

दुई नम्बर प्रदेशमा फोरमले मुख्यमन्त्री र राजपाले सभामुख पाउने सहमति यसअघि नै भइसकेको थियो । पूर्वसहमतिकै आधारमा यादव सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश–२ को मुख्यमन्त्रीमा भने फोरमको प्रदेश सभा संसदीय दलका नेता मोहम्मद लालबाबु राउत बन्दैछन् ।

राजपा अध्यक्ष मण्डलको सोमबार भएको बैठकले यादवलाई प्रदेश– २ को सभामुख बनाउने निर्णय गरेको थियो । अध्यक्ष मण्डलले पार्टीका महामन्त्री जीतेन्द्र सोनललाई प्रदेश–२ को प्रदेश सभा दलको नेता बनाउने निर्णय पनि गरिसकेको छ ।