ओली–प्रचण्ड बैठकमा सांगठानिक, वैचारिक र राजनीतिक विषयमा मतैक्यता




२०७४ फागुन १ मंगलवार
NewsDesk Shikharnews

काठमाडौँ, १ फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतालाई अन्तिम रुप दिन बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच आज भएको एक्लाएक्लै छलफलका क्रममा सो सहमति भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव जोखबहादुर महराका अनुसार दुबै अध्यक्ष रहने संगठनात्मक खाका, सांगठनिक, राजनीतिक र वैचारिक विषयमा समेत मतैक्यता कायम गरिएको छ । तर कसरी मतैक्य भयो भन्ने बारेमा भने सार्वजनिक रुपमा केही बताइएको छैन । “सरकार गठन अगावै पार्टी एकता गर्ने गरी छलफल भएको र छलफल असाध्यै सकारात्मक छ”, अध्यक्ष दाहालका स्वकीय सचिव महराले भने ।

पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याउने र सरकार गठन अगावै एकीकृत पार्टीको खाका तयार पार्ने लक्ष्यका साथ दुई पार्टीका अध्यक्षद्वयले निरन्तर संवाद गर्दै आएका छन् । “पार्टी एकतालाई सरकार गठन अगावै टुङ्गो लगाउने लक्ष्यका साथ आजको बैठक अत्यन्तै सकारात्मक दिशामा सकिएको छ । बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ”, अध्यक्षद्वयबीच भएको छलफललाई उद्धृत गर्दै अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भने ।

गत असोज १७ गते चुनावपछि पार्टी एकता गर्ने उद्घोषसहित वामगठबन्धनको घोषणा गरेका दुई दल एमाले र माओवादीबीच पछिल्लो दिनमा एकताको पक्षमा ठोस प्रगति हुन सकेको थिएन । त्यही कारण पछिल्लो समय विभिन्न कोणबाट पार्टी एकताबारेमा विभिन्न आशंकाहरु व्यक्त भएका थिए । सोमबार र मङ्गलवारको छलफलपछि एकताले मूर्तरुप लिएको बताइएको छ ।

आगामी महाधिवेशनसम्म एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अंगीकार गरेको माओवाद र जनताको बहुदलीय जनवादमा रहेका समान धारणालाई एकीकृत गर्ने विषयमा समेत नेताहरुबीच सहमति भएको जनाइएको छ ।

यस्तै, पार्टीका शीर्षनेताहरुको विषयमा पनि सहमति भएको बताइएको छ । स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा रहने नेताका सम्बन्धमा पार्टी एकता संयोजन समितिले कार्यदल बनाएर हल गर्ने विषयमा नेताहरुबीच सहमति भएको बताइएको छ । तर यी विषयमा शीर्ष नेताले सार्वजनिक रुपमा केही बताएका छैनन् ।

एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।