क्यानाडामाथि नेपालको रोमाञ्चक जीत, नेपालले विश्वकप छनौट खेल्न पाउने




२०७४ फागुन २ बुधवार
NewsDesk Shikharnews

काठमाडौं, २ फागुन । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जीत हात पारेको छ । जीतसँगै नेपालले सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकपको छनोट खेल्न पाउने भएको छ ।

विन्डोकस्थित एफिज पार्क मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी व्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

हारको संघारमा पुगिसकेको नेपाललाई करण केसीले अन्तिम बलसम्म खेलेर ४२ रन बनाउँदै जित दिलाएका हुन् । ३१ बल खेलेका उनले ४ छक्का र ३ चौका प्रहार गर्दै निर्णायक जीत दिलाएका हुन् । करणलाई क्रिजमा सन्दिप लामिछानेले अन्तिमसम्म साथ दिएका थिए । यद्यपि सन्दिपले गतिलो व्याटिङ गर्न सकेनन् । १८ बल खेलेका उनले मात्र ५ रन बनाएका थिए ।

शुरुमा उपकप्तान ज्ञानेन्द्र मल्ल ९९० र कप्तान पारस खड्कालाई ९०० मा गुमाएर दबाबमा परेको नेपालको इनिङ ओपनर दिलीप नाथले उकासेका थिए । ६८ बल खेलेका दिलीपले ५ चौकासहित ४१ रन बनाएका थिए । रोहित पौडेलले २७ र आरिफ शेखले २६ रन जोडेका थिए । दीपेन्द्रसिंह ऐरीले १८ रन बनाउँदा नेपालले सोमपाल कामी ७ र शरद भेष्वाकर १ रनमा गुमायो ।

बलिङतर्फ सी पेरेभेजले ३, एन दत्त र साद विन जफरले समान २ तथा एसएस डिन्डसा र डी हेलिगरले १/१ विकेट लिएका थिए ।

यसअघि टस हारेर व्याटिङमा आएको क्यानडाका लागि एस विजेरत्नेले सर्वाधिक १०३ रन बनाएका थिए । १५२ बल खेलेका उनले ८ चौका प्रहार गरे। हम्जा तारिकले २४, एसएस डिन्दसाले नटआउट १८, साद विन जफर १०, आर गुनसेकेराले ९ रन जोडेका थिए । अन्य ब्याट्सम्यान चल्न सकेका थिएनन् ।

बलिङतर्फले नेपालका बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिएका थिए । सन्दिप लामिछानेले २ विकेट लिँदा करण केसी र शरद भेष्वाकरले समान १ विकेट झारेका थिए । आजको खेलमा नेपाललाई हारबाट जोगाउने करण केसी म्यान अफ द म्याच घोषित भएका छन् ।