एमाले–माओवादी केन्द्र एकता : जनादेशको कदर




२०७४ फागुन ३ बिहीवार
NewsDesk Shikharnews

अन्ततः एमाले–माओवादी केन्द्रबीच पार्टी एकताको टुङ्गो लागेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पार्टी एकता गर्ने उद्घोषका साथ घोषणा गरिएको वाम गठबन्धन र चुनावी तालमेलले ल्याएको महाभूकम्प र तरङ्ग लामो समयसम्मको गृहकार्यपछि थिग्रिएको छ र त्यो पार्टी एकतामा रुपान्तरण भएको छ ।

नेपालको राजनीतिमा महाभूकम्पकै झड्का महसुस गरिएको वाम एकताको घोषणाले मुलुकका दुई ठूला वामपन्थी दल, त्यसका नेता÷कार्यकर्ता र शुभेच्छुक तथा आमजनता उत्साहित बनेका थिए । एमाले र माओवादी केन्द्रलाई प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पोखिएको जनादेश पनि त्यही वाम गठबन्धन र पार्टी एकताको घोषणाको परिणाम थियो । असम्भव जस्तै लाग्ने वाम गठबन्धनको घोषणाले नेपालको वामपन्थी जनमत उत्साहित हुनु स्वाभाविकै थियो र त्यो चुनावमा देखिने गरी प्रकट भयो । दुई तिहाइको लक्ष्य बनाएर चुनावमा होमिएको वाम गठबन्धन झण्डै त्यसको संघारमै पुगेको छ ।

चुनावको परिणामपछि दुई पार्टीका अध्यक्षहरुको अनेकौंंपटकको एक्लाएक्लै बैठकहरु, पार्टी एकता संयोजन समितिको बैठकहरु बसिरहँदा पार्टी एकताको दिशामा उल्लेखनीय प्रगति भने देखिएको थिएन । विशेषतः एमाले पंक्तिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”लाई पार्टी अध्यक्षका रुपमा सजिलै स्वीकार गर्न नसक्नु र दुबै पार्टीका नेता÷कार्यकर्ताहरुको व्यवस्थापनको पाटोले पार्टी एकताको बाटोमा तगारो तेर्सिएकै हो । सरकार गठन पहिले कि पार्टी एकता पहिले भन्ने प्रश्नले पनि लामो समय पार्टी एकतामा विलम्व देखिएको थियो ।

दुई अध्यक्षको एक्लाएक्लै र पार्टी एकता संयोजन समितिको बैठक लगातार बसिरहेको भए तापनि अपेक्षित परिणाम भने आउन सकेको थिएन । यद्यपि, अघिल्ला चरणका बैठकहरु प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवारहरुको चयन, समानुपातिकतर्फ सिटको बाँडफाँड, राष्ट्रियसभाका उम्मेदवारहरुको चयन, प्रदेश सरकारका मुख्यमन्त्री, सभामुखहरुको बाँडफाँडमै केन्द्रित रहेका थिए । दुई पार्टीबीचको एकताको विषयमा अनेकौं प्रश्नहरु उठाइए तापनि प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभाका सिट बाँडफाँड र उम्मेदवारहरुको चयन भने यी दुबै पार्टीले सफलतापूर्वक गर्दै आएका थिए । यसले गर्दा जतिसुकै प्रश्नहरु उठाइए तापनि पार्टी एकताका लागि आशा गर्ने ठाउँ भने बचेकै थियो ।

सबै चुनावका उम्मेदवार र विभिन्न पदहरुको कुशलतापूर्ण बाँडफाँडसँगै अध्यक्षद्वय र पार्टी एकता संयोजन समितिका बैठकहरु मूलतः पार्टी एकताको विषयमा केन्द्रित रहेका थिए । पछिल्ला बैठकहरुसँगै उब्जिएका द्विविधा र आशङ्काहरुलाई मेट्दै दुई पार्टीबीचको एकताले मूर्तरुप लिएको छ र पार्टी एकताको खाका तयार भएको छ । यो पक्कै पनि वामपन्थी जनमत तथा जनादेशको कदर हो ।