जब राष्ट्रकवि घिमिरेले सेनाको पोशाकमा स्यालुट गरे …

२०७४ फागुन ३ बिहीवार
Newsdesk Shikharnews

काठमाडौं, ३ फागुन – राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली सेनाको मानार्थ सहायक रथीको दर्ज्यानी चिह्न प्राप्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमका बीच राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् ।

साहित्यका माध्यमबाट राष्ट्रिय एकतालाई बलियो बनाएका, राष्ट्रिय प्रेमले ओतप्रोत, राष्ट्रियता र स्वाभिमानलाई प्रवर्द्धन उजिल्याउने काम गरेबापत उनलाई सरकारले माघ २६ गते सहायक रथीको मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेको थियो। राष्ट्रकवि घिमिरेलाई उनको जन्मशताब्दी वर्षको उपलक्ष्यमा सरकारले सो उपाधि दिएको हो। सरकारले गैरसैनिक व्यक्तिलाई प्रदान गरेको यो सबैभन्दा माथिल्लो सैनिक उपाधि हो।

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन।

समारोहमा राष्ट्रकवि घिमिरेले सैनिक ‘स्यालुट’ गरेका थिए । विसं १९७६ असोज ७ गते लमजुङको बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरेलाई नेपाली साहित्यमा शिखरपुरुषका रुपमा लिइन्छ।
घिमिरेका ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे…’ लगायत राष्ट्रभक्तिले ओतप्रोत भएका सयौँका संख्यामा गीत र कविताहरु प्रकाशन-प्रशारण भएका छन्।