प्रदेश १ मा समृद्धिको आधार पर्यटन




२०७४ फागुन १५ मंगलवार
NewsDesk Shikharnews

अस्विन खड्का

उदयपुर, १५ फागुन । पर्यटकीय हिसाबले हेर्दा प्रदेश नम्बर १ अत्यन्त धनी र उर्वर प्रदेश हो । यस प्रदेशमा संघीय संरचनामा जानुअघिका मेचीका ४, कोशीका ६ र सगरमाथाका ६ मध्ये ४ गरी १४ जिल्ला समेटिएका छन् ।

नेपाल आउने पर्यटकको प्रमुख रोजाईमा पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथादेखि ल्होत्से, चोयु, ग्याचुङगाङ, नुप्त्से, चोमोलुङमा, पुमोरी, आमाडब्लम, थाम्सेर्कु, नुम्बुर, ल्होत्सेसार, पासाङल्हामु, खुम्बु तथा वरिपरिका उच्च उपत्यकाहरू सोलुखुम्बुको मात्र नभएर संसारकै प्रमुख पर्यटकीय गन्तव्य रहेका छन् । सिंहकाली मन्दिर, ज्वालामाई मन्दिर, जालिम मन्दिर, पञ्चकन्या कालिकादेवी मन्दिर, गुप्तकाली आदि थप धार्मिक तथा पर्यटकीय स्थलको रूपमा प्रसिद्ध गन्तव्यहरु पनि यही प्रदेशका पर्यटकीय गहनाहरु हुन् । सन् २००८ मा विश्व रामसार सूचीअन्तर्गत सूचिकृत इलामको माईपोखरी नेपालकै एक आकर्षक पर्यटकीय गन्तब्य, धार्मिक आस्थाको केन्द्र रहेको छ ।

सोलुखुम्बु जिल्लाको ४ हजार ६ सय मिटरको उचाइमा रहेको दूधकुण्ड, सगरमाथाको प्रवेशद्वारका रुपमा विश्वभर परिचित लुक्लाका साथै किराँत बौद्ध र हिन्दू धर्मावलम्बीले विशेष ठाउँका रुपमा लिने खोटाङ जिल्लाको हलेसी महादेवस्थान हिन्दू धर्मावलम्बीले यो ठाउँलाई पूर्वको पशुपतिनाथसँग तुलना गर्ने गर्छन् । किराँत राई जातिको आदिम सभ्यता हलेसीसँग जोडिएको छ । यो ठाउँलाई बौद्ध धर्मावलम्बीले पवित्र तपोभूमि मान्दै आएका छन् ।

प्रदेश नम्बर १ को ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा देवी मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो १२ हजार फिट उचाइमा रहेको छ । विश्वास, आस्था एवं पवित्रताकी देवी पाथीभरा मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । अन्न भरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखर भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । पाथीभराबाट कञ्चनजंघा, कुम्भकर्ण, लोत्से हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

झापा जिल्लामा रहेको केचनाकवल नेपालको होचो ठाउँ भएकोले यो पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल रहेको छ । यो समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको छ । झापा जिल्लाको सतासीधाम धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो । किम्बदन्तीअनुसार पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई चिन्ने गरिन्छ । सतासीधाममा प्रत्येक वर्ष बाला चतुर्दशीको दिन शतबीज छर्नको निम्ति दर्शनार्र्थीहरुको घुँइचों लाग्ने गर्दछ । पर्यटकीय र धार्मिक दुबै दृष्टिले पूर्ण भएको धार्मिक थलो हो । त्यस्तै, कनकाईधाम कोटीहोम पर्यटकीय र धार्मिक दुबै दृष्टिले पूर्ण भएको धार्मिक थलो हो । झापाकै बिर्तामोडदेखि उत्तरमा रहेको अर्जुनधाराधाम धार्मिक दृष्टिले झापाकै सबैभन्दा प्रसिद्ध स्थलको रूपमा रहेको छ । यहाँ चारकुने एउटा पोखरी छ जसको बीचमा अर्जुनले गाईलाई पानी खुवाएको मूर्ति स्थापना गरिएको छ । यस पोखरीमा बाह्रै महिना पानी बगिरहन्छ ।

झापाकै किचकवध भन्ने ठाउँ मेची र देउनियाँ खोलाको संगममा पर्दछ । यस ठाउँलाई ऐतिहासिक धार्मिकस्थलको रुपमा लिइन्छ । महाभारतको कथाअनुसार पाण्डवहरू मत्स्यदेशका राजा विराटको दरवारमा गुप्तबास बसेको अवस्थामा विराटका साला एवं मत्स्यदेशको सेनापति किच्चकले द्रौपदीमाथि कुदृष्टि लगायो । भीमसेनले यो कुरा चाल पाए र किच्चकको वध गरे । त्यहीं भीमसेनले किच्चकको वध गरेको ठाउँलाई किच्चकवध भनिएको हो भन्ने भनाइ छ ।

इलाम जिल्लामा पनि पर्यटकीय तथा धार्मिक स्थलहरु धेरै रहेका छन् । जसमध्ये अन्तुडाँडाबाट सूर्योदय हेर्न सकिन्छ । यहाँबाट सूर्योदयको दृश्य राम्रोसँग देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तका लागि प्रख्यात अन्तुडाँडा, पाथीभरा, कन्याम, गुफापाताल, नयाँबजार, इलामको चिया बगान, सेतीदेवी, गजुरमुखी, सिंहबाहिनी, माइस्थान, लारूम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, माईपोखरी, टोड्के झरना लगायतका थुप्रै पर्यटकीय स्थलहरु भएको इलाम जिल्लामा पनि प्रदेश सरकारले अझै लगानी गरेर प्रचारप्रसार गरेमा यस जिल्लामा अझै पर्यटक भित्राउन सकिन्छ र आयस्रोत बृद्धि गर्न सकिन्छ ।

प्रदेश नं. १ कै ताप्लेजुङ जिल्लामा अवस्थित पूर्वी नेपालकै प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीमन्दिर, विश्वकै तेस्रो र नेपालकै दोस्रो ८,५८६ मिटर अग्लो कञ्चनजंघा हिमश्रृंखला क्षेत्र, तिम्बुङपोखरी, फुङफुङे झरर्ना मिल्के जलजले क्षेत्र, दिकी छ्योलिङ गुम्बाहरुको पनि प्रचार गरी बाह्य र आन्तरिक पर्यटकको गन्तव्य बन्नसक्ने प्रशस्त आधारहरु छन् । यसले प्रदेश सरकारलाई लाभ हुने र यो प्रदेशको समृद्धिमा टेवा पुग्ने जिल्लावासीको भनाइ छ ।

पूर्वी नेपालको ठूलो शहरका रुपमा परिचित प्रदेशको राजधानीसमेत रहेको मोरङ जिल्लामा पनि पर्यटकीय र धार्मिक दुबै दृष्टिले पूर्ण विविधतायुक्त पाइन्छ । यस जिल्लामा मुख्य पर्यटकीय क्षेत्र बेतौना सिमसार क्षेत्र, विराट राजाको दरवार, धनपालगढी, राजारानी पोखरी, राजा धनपाल थान, सुनबर्षा पोखरी, बागझोडा, सप्तकन्या गुफा, महादेव पार्वती गुफा, मिक्लाजुङ डाँडा, हरिश्चन्द्र गढी, हसेनी सिमसार, मण्ठपोखरी ध्वजे डाँडा, बेतेनी ताल लगायत रहेका छन् ।

सातओटा कोशीको संगमस्थल भएको पूर्वी नेपालको अर्को प्रख्यात जिल्ला हो सुनसरी । यो जिल्ला पनि धार्मिक तथा पर्यटकीय र साँस्कृतिक विविधता एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्ला मानिन्छ । यस जिल्लामा प्रसिद्ध धार्मिक क्षेत्र वराहक्षेत्र, बुढासुब्बा मन्दिर, पिण्डेश्वर मन्दिर, विष्णुपादुका मन्दिर, शिवजट्टा, सूर्यकुण्ड, श्रीरामानु सत्संग आश्रम, कोशी टप्पु वन्यजन्तु आरक्ष, चतराधाम र घुम्नका लागि धरान, भेडेटार, चारकोसे झाडी, सप्तकोशीको पुल, चतरामा सत्संग आश्रम रहेका छन् ।

मुलुक संघीय संरचनामा आउनुअघि पूर्वाञ्चलको राजधानी धनकुटा जिल्लामा पर्यटकीय सम्भावना र धार्मिक मन्दिरहरु धेरै रहेका छन् । विष्णु मन्दिर, जाल्पादेवी मन्दिर, नागेश्वर महादेव मन्दिर, निशान भगवती मन्दिर, पाथीभरा देवी मन्दिर, राजारानी विश्रान्ति मन्दिर, तथा घुम्न जानेको लागि मात्र अजङ्गको रुख, चतुरवाहु ध्वजे डाँडा, भेडेटार, नमस्ते झरना, हिले बजार तथा मार्गाथान, मधुगंगा महादेवस्थान रहेका छन् ।

भोजपुर जिल्लालाई परिचय दिन विभिन्न प्राकृतिक, धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक गौरवका चिनो पर्याप्त छन् । प्रदेश १ को मध्यपहाडी जिल्लाको माझकिराँतमा अवस्थित यस जिल्ला जति प्रसिद्ध छ, त्यति नै विकट पनि छ । यहाँको संस्कृतिमा किराँत बाहुल्यता पाइन्छ । यहाँको भोजपुरे खुकुरी देशविदेशसम्म चर्चित छ । ट्याम्के डाँडा, मैयुङ डाँडा, साल्पा सिलिचुङ, षडानन्दको जन्मभूमि दिङ्ला, सिद्धकाली मन्दिर, नाग छाँगा, बैकुण्ठे, ऐतिहासिक हतुवागढी आदि पनि पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् ।

यस्तै, मकालु प्रथम ९८४६३ मिटर, मकालु दोस्रो ९७६७८ मिटर, वरुनत्से ९७१२९ मिटर, चाम्लाङ्ग ९७३१९ मिटर, हिमचुली ९६४२४ मिटर, कुम्भकर्ण ९७१२९ मिटर हिमाल लिएर बसेको जिल्ला हो संखुवासभा । यस जिल्लामा मनकामना, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ, शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु बरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका, मिल्के डाडाँ आदि पर्यटकीय सम्भावना बोकेका क्षेत्र रहेका छन् ।

कालापत्थर, इम्जा ताल, ठमो, थामे, खोङमाला पास, चोला पास, रेञ्जो पास, गोक्योरी खुम्बिला, क्वाङदे, फाक्दिङ अत्यधिक पर्यटक पुग्ने स्थलमार्गहरू हुन् । बूढा सिद्ध मन्दिर, लौरेश्वर शिव मन्दिर, गौरीटाप, टिम्बुरबोटे सहिदपार्क, सिंहकाली मन्दिर, ज्वालामाई मन्दिर, जालिम मन्दिर, पञ्चकन्या कालिकादेवीको मन्दिर, गुप्तकाली आदि थप धार्मिक तथा पर्यटकीय स्थलको रूपमा प्रसिद्ध छन् ।

खोटाङ जिल्लाका मुख्य पर्यटकीय स्थलहरू बराहापोखरी, हलेसी महादेवस्थान, ट्याम्केडाँडा, मेरुङ डाँडा र सेल्मेडाँडा आदि पर्दछन् । यसका साथै हलेसी मलाथुम्की, तुवाचुङ जायजुम, मुढे डाँडा, रूपाकोट डाँडा, मझुवा गढी, ताराखसे डाँडा र सहदेउ गढी आदि स्थल पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थलका रुपमा रहेका छन् ।

उदयपुर जिल्लामा संरक्षण तथा प्रचारप्रसारको अभावले दर्जनौं पर्यटकीय स्थल उपेक्षित छन् । जिल्लाका मुख्य पर्यटकीय क्षेत्रहरू रौतापोखरी, जाल्पादेवी, लिम्पाटार, चित्रेथाम, चौदण्डीगढी, उदयपुरगढी, ताप्ली पोखरी, मैनामैनी, कोशी टप्पु वन्यजन्तु आरक्षलगायत उदयपुरको सदरमुकाम वरिपरि रहेर पनि संरक्षण र कसैको ध्यान नपुगेको कारण खाटराजारानी मन्दिर, शिवालय मन्दिर, रामजानकी मन्दिर तथा गुफाहरुमा कसैको आँखा पुग्न सकेको छैन । कटारीमा लाग्ने त्रिवेणी मेलाको लागि भारत तथा नेपालबाट बर्षको माघ १ गतेदेखि १५ सम्म ठूलो मेला लाग्ने गर्छ । ओखलढुंगा जिल्लामा पर्यटकीय क्षेत्रको रुपमा सतासीधाम, ओखलढुंगा नामकरण गर्न जिल्लामा परापूर्वकालदेखिको ठूलो ढुंगा छ । धार्मिक हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई लिने गरिन्छ ।

निष्कर्ष
प्रदेश नम्बर १ का विभिन्न जिल्लामा रहेका पर्यटकीय, धार्मिक क्षेत्रलाई हेर्दा यो प्रदेश समृद्ध प्रदेशको रुपमा रहेको छ । यस प्रदेशमा सबै जाति र धार्मिक समुदायको बसोबास छ । ऐतिहासिक जातजाति तथा बाइसे चौबीसे राज्यको इतिहास रहेको १ नम्बर प्रदेशका सानातिना ऐतिहासिक गढी तथा दरबारहरु छन् । प्रदेशमा भौगोलिक, हावापानी, सभ्यता, संस्कृति पनि विविधतायुक्त छ । यहाँ प्राकृतिक स्रोतका रुपमा सप्तकोशी जलाधार क्षेत्र र यसबाट २० हजार मेगावाटको विद्युत उत्पादन क्षमता, विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरमाथिका ५ हिमालहरु मकालु, लोत्से, कन्चनजंघा र कुम्भकर्ण हिमाल छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज, कन्चनजंघा संरक्षण क्षेत्र र कोशीटप्पु वन्यजन्तु आरक्ष छ । धनकुटाको त्रिवेणीबाट सुरु भएर चीनको तिब्बतसम्म पुगेको एशियाकै लामो पर्वत र यही पर्वत श्रृङ्खलामा गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्र तथा जैविक विविधताले भरिपूर्ण वन जंगल पर्छ ।

पूर्वमा पर्यटनको राम्रो सम्भावना छ । यहाँ पर्याप्त पर्यटकीय क्षेत्र छन् । राष्ट्रिय निकुञ्ज छन् । सर्वोच्च शिखर सगरमाथादेखि अन्नपूर्ण र मकालु हिमाल पनि यही प्रदेशमा छ । जाँगर चलाएर काम गर्ने हो भने नेपालको १ नम्बर प्रदेशले संसारको ध्यान आकर्षण गर्नसक्छ । पछिल्लो समय धरानमा प्याराग्लाइडिङ सुरु भएको छ भने तमोर तथा कोशीर्मा र्याफ्टिङ पनि सुरु भएको छ । यस्तै इलामको माइपोखरी, भोजपुरको साल्पा पोखरी, उदयपुरको रौता पोखरी अत्यन्तै माथिल्लो भेगमा रहेका रमणीय पोखरी तथा तालले पनि यहाँको सौन्दर्यलाई बढाएका छन् । तराईमा रहेका धेरै सिमसार क्षेत्रले पर्यावरणको सुरक्षामा छन् । यसर्थ सबै हिसाबले १ नम्बर प्रदेश समृद्ध रहेको निष्कर्षमा पुग्न सकिन्छ ।

नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, जैविक र साँस्कृतिक विविधता एवं प्राकृतिक सौन्दर्यको अध्ययन–अवलोकनका लागि नयाँ गन्तव्यको खोजी र विकास गर्ने, पर्वतारोहण, पदयात्रा तथा हिमाल अवलोकनलाई थप आकर्षक र सुरक्षित गर्न जरुरी छ । यो सबै कुरालाई अब प्रदेश सरकार र स्थानीय तहले सबै सरोकारवालालाई साथमा लिएर प्रदेशस्तरबाटै पर्यटनका लागि गुरुयोजना बनाएर लाग्न जरुरी छ । यी सबै कुरामा गम्भीरतापूर्वक लाग्ने हो भने १ नम्बर प्रदेश आत्मनिर्भर, समुन्नत र समृद्ध बन्ने कुरामा कुनै शंका छैन । यो प्रदेशका मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशको पर्यटनसम्बन्धी गुरुयोजना बनाएर प्रदेशको मुहार फेर्नसक्ने हो भने उनलाई भावी पुस्ताले समेत स्मरण गर्नेछ ।